‘आमाको आँखा’लोकार्पित

मुख्य समाचार

५ बैशाख २०८३, काठमाडौं

लघुकथा सर्जक शोभा अधिकारीको नवीनतम् लघुकथा कृति ‘आमाको आँखा’ लोकार्पण भएको छ।
मञ्चासिन व्यक्तित्वहरूबाट सामूहिक रूपमा कृति लोकार्पण गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अशेष मल्लले नेपाली साहित्यमा हाल उर्वर रहेको विधा लघुकथा रहेको बताउँदै कथा लेखनको स्तरमा ध्यान पुर्याउनु पर्ने कुरा बताए।लघुकथाकार शोभा अधिकारीका कथाहरू पठनीय र राम्रो भएको बताए।
कार्यक्रममा समालोचक अनुपमा रेग्मी तथा सुमन वर्षाले लोकार्पित कृतिमाथि संक्षिप्त समालोचकीय मन्तव्य राख्दै सङ्ग्रहभित्रका कथाहरू ज्यादै राम्रा र सरल रहेको बताए। साथै,हरेक कथाले गहिरो विचार बोकेको बताउँदै बयालीस वटै कथाहरू उत्कृष्ट भएको बताए।कथामा माया,प्रेम तथा समर्पण रहेको बताउँदै थोरै शब्दहरूबाट समसामयिक कुरा लाई प्रस्तुत गरिएको बताए।कलात्मक शैलीमा लेखिएका कथाहरू मीठो रहेको बताए।
कार्यक्रममा कवि ठाकुर बेल्बासे,सहायक क्याम्पस प्रमुख विमला नेपाल,श्रीओम श्रेष्ठ’रोदन’तथा पुरुषोत्तम दाहालले शुभकामना मन्तव्य राख्दै कथाकार शोभा अधिकारीको कृतिका बारेमा चर्चा गरेका थिए।
कथाकार शोभा अधिकारीले आफ्नो लेखन यात्राका बारेमा बोल्दै ‘आमाको आँखा’ जन्मनुको पछाडि एउटा विशेष भावुक कथा बताइन्।आफ्नो पुत्र सुकृतजङ्ग दाहालको एउटा सानो कुराले गहिरोसँग छोएकोले लघुकथा लेख्न सुरु गरेको बताउँदै त्यही समयमा स्कुटर दुर्घटना भई दाहिने हात भाँचिएको दाहिने हातले लेख्न नसकेपछि देब्रे हातले ३२ वटा कथाहरू लेखेको र बॅाकी १० वटा कथा दाहिने हातले लेखेको खुलासा गरिन् ।
कार्यक्रममा पद्मकन्या क्याम्पसकी स्ववियु सभापति भूपि ऐरले’आमाको आँखा’शीर्षकको कथा वाचन गरेर सुनाएकी थिइन्।
सभाका सभापति लघुकथा समाजका अध्यक्ष तुलसीहरि कोइरालाले कथाकार शोभा अधिकारीको चिनारी सहित उनको व्यक्तित्व तथा कृतित्वमाथि संक्षेपमा प्रकाश पारेका थिए।साथै,उनले समाजको गतिविधि र कार्यक्रमहरूका बारे चर्चा गर्दै पचासको दशकसम्म जम्मा तीनवटा कथासंग्रहहरू शशीकला शर्माको’उसको सुरुवाल’,अनिता तुलाधरको’फुलू’ र भागीरथी श्रेष्ठको’रङ्गीन पोखरी’ मात्र नारी लघुकथाकारका पुस्तक आएकोमा अब लघुकथामा पनि एक तिहाइ पुगेकोमा खुसी लागेको बताए। समाजका सभापति कोइरालाले सङ्ग्रहभित्रबाट एउटा लघुकथा वाचन गरेर सुनाएका थिए भने उपस्थित सबैमा धन्यवाद ज्ञापन पनि गरेका थिए।
कार्यक्रममा समाजकी उपाध्यक्ष सुषमा चित्रकारले स्वागत मन्तव्य राखेकी थिइन्।
कार्यक्रमको सञ्चालन समाजका सचिव तथा निबन्ध लेखक श्रीबाबु कार्कीले गरेका थिए।

०००
(सुभाषचन्द्र पौडेल’भीमफेदीया’काठमाडौंको सहयोगमा)