गोविन्द पौडेल, काठमाडौं
हिन्दु मिथक अनुसार जरत्कारु अत्यन्त विद्वान् ऋषि हुन् । उनी आफ्नो कठोर तपस्या र शारीरिक प्रताडनाका कारण लोकप्रसिध्द बनेका थिए । उनी मनसाका पति र आस्तिकका पिता हुन् । मनसालाई पनि जरत्कारु नै भनिन्छ । साधु जरत्कारुले मनसासँग आफूबाट जन्मिने शिशुको नाम पनि जरत्कारु नै राखिनुपर्छ भन्ने अडान राखेका थिए । उनी सम्पूर्ण वेदका ज्ञाता , तत्त्वज्ञानी र महापण्डित भए पनि पुरुष हुनुको मिथ्याभिमान बोकेर बाँचेका थिए । उनको यही अहङ्कार नै मनसासँगको कलहको बीउ र पतनशीलताको कारण बन्न पुगेको थियो ।
‘जरत्कारु’ शीर्षकमा लेखिएको उपन्यासकी शीर्ष पात्र जरत्कारुचाहिँ विदुषी नारी पात्र हुन् जो कश्यप ऋषि र माता कद्रुकी छोरी हुन् । हिन्दु मिथकका पात्रहरूमध्ये जरत्कारु तुलनात्मक रूपमा नाम कम सुनिएको क्यारेक्टर भन्न सकिन्छ किन्त्तु उपन्यासकारले जरत्कारुको पात्रलाई औपन्यासिक सबलता दिएर जीवन्त बनाएकी छन् । पुराणहरूको रचनाकालका सम्बन्धमा तोकेर डेटिङ गर्न धेरै असजिलो छ । वेदको रचना गरिसकेपछि वेदव्यासले एउटा सिङ्गो पुराण रचना गरेका थिए र त्यही सिङ्गो पुराण पछि अठार खण्डमा बाँडियो भन्ने अनुमान गरिन्छ । जरत्कारु नामक यस पौराणिक उपन्यासले पुराणकालीन अर्थ राजनीति र तत्कालीन सांस्कृतिक परिवेशमा एउटी राजकुमारीको जीवन सङ्घर्षको कथा भनेको छ । रङ्गभेद , लिङ्गभेद , साम्प्रदायिकता , पुरुष सर्वोच्चता अनि महिलाप्रतिको नकारात्मकता जस्ता दुर्गुणहरू सुरु गरिसकेको तत्कालीन समाजले नारी स्वतन्त्रताका सबैजसो द्वार बन्द गर्न लाग्दैथ्यो । महिलामाथिका बन्देजहरू उतिसारो देव र दानव , राक्षस र नाग गरुड र सर्प आदि भिन्न सम्प्रादाय र सङ्घटक समूहहरू बीच झगडा र तनाव भैरहन्छ । कुल , जाति , धर्म अनि सम्पूर्ण सांस्कृतिक श्रेष्ठताको अहङ्कारका कारण एउटा समूहले अर्को समूहलाई देखिसहँदैन । त्यसो त समूहभित्रै पनि मिलमिलाप भएको त देखिन्न । उपन्यासमा प्रकृतिको भरपूर वर्णन गरिएको छ । अमरावती , नागलोक , शिवलोक , ब्रह्मलोक , कृष्णलोकको अलौकिक महिमामण्डन र दिव्यताको वर्णन पढेर हामी झन्नै तिनै लोकमा पुगेका पात्रझैँ बन्न पुग्दछौँ । प्रकृति चित्रणमा लेखकको विशेष झुकाव देखिन्छ किन्तु धेरैजसो ठाउँमा उपन्यासका संवादहरू अलि बढी नै लामा भएका हुन् जस्तो लाग्छ ।
एकै परिवेशका कश्यप मूलत: पितृसत्तात्मक सोचका प्रतिनिधि पात्र लाग्छन् किन्तु नागराजा वासुकी निकै उदार लाग्छन् । राजकुमारी जरत्कारुका पति ऋषि जरत्कारु विद्वान् भईकन पनि हृदयभरि पुरुष मानसिकता बोकेर हिँड्छन् । ऋषिको ध्यान व्यवहारिकतामा कम र मोक्ष प्राप्तिको लालसामा बढी देखिन्छ । उपन्यासको केन्द्रीय द्वन्द्व यहीँबाट सुरु हुन्छ । राजकुमारी जरत्कारु अहोरात्र पतिसेवा गर्छिन् । पतिको सुख , सन्तोष , संस्कार अनि मर्यादाको ख्याल गरिरहन्छिन् । सबै चिज सुमधुर ढंगले चलिरहँदा एक दिन अन्य ऋषिहरूले ऋषि जरत्कारुलाई जगाइदिएको ऋषि कर्तव्य र मोक्षप्राप्तिको साइरनले ऋषिलाई सांसारिक जीवनको मोहले छोड्न थाल्छ ।
राजकुमारी जरत्कारु र ऋषि जरत्कारुको विवाह सर्तात्मक क्राइटेरियामा आधारित हुन्छ यद्यपि वन जानु राम्रो हो कि सांसारिकता सम्हाल्नु राम्रो हो भन्ने विषयमा राजकुमारीले आफ्ना सुकुन र विद्वतापूर्ण तर्कहरूद्वारा ऋषिलाई पराजित गरेकी थिइन् र सन्यासको सही भावना बुझाउन सकेकी थिइन् । उपन्यासको यो खण्ड धेरै चोटिलो छ र छ अर्थपूर्ण पनि । राजकुमारीको तर्क सुनेर हामी मक्ख मात्र पर्दैनौँ नतमस्तक पनि हुन्छौँ ।
राजकुमारी र ऋषिको एउटा पुत्र जन्मिन्छ । उसको नाउँ आस्तिक राखिन्छ । हिन्दुहरूले गर्नुपर्ने विभिन्न संस्कार र कर्महरूमा पिताको उपस्थिति र भूमिका अनिवार्य मानेको छ । पिताको पहिचान नभइकन कति संस्कारहरू नै इनभ्यालिड वा गैरवैदिक मानिन्छ । आफ्नो नानीको नामाकरण संस्कारमा पिताको उपस्थिति अनिवार्य छ भनेपछि राजकुमारीले गरेको विद्रोह , उठाएको तर्क र औचित्यपूर्ण अडानले उनलाई साँचो अर्थमा नारी शक्ति र सामर्थ्यकी असाधारण अभियन्ता मान्न सकिन्छ र नारी समानता र सहभागिताको यो अभियान त अहिले पनि चलिरहेको छ । राजकुमारीको यो अडान प्रेरणादायी छ । उपन्यासको रोचक पक्षमध्येको यो पनि एउटा हो ।
पुत्र आस्तिकलाई गुरुकुल पठाउँदाको पीडा सहन नसकेर जीवनको निस्सारताबोध गरिरहेकी राजकुमारीलाई परमपिता ब्रह्माले जीवन , जगत् , समय , मानवचोला , सृष्टि चक्र , प्रलय आदि विषयक अति गहन दार्शनिक प्रवचन दिए पछि जरत्कारुका सारा क्लेश र दर्दहरू समाप्त हुन्छन् र उनी कैलाश पर्वत गई जीवनको सही मार्ग पहिल्याउने अठोट गर्छिन् ।
कैलाश यात्राका दौरान राजकुमारीले भोगेका कष्ट र कठिनाइले उनलाई अझ परिपक्व र दृढनिश्चयी बनाउँछ । उनी अनेकौँ भौगोलिक , जलवायुजन्य , सांस्कृतिक कठिनाइका विरुध्द एक्लै सङ्घर्ष गर्दै अन्ततः कैलाश पर्वत पुगी महादेवको दर्शन गर्न सफल हुन्छिन् र कैलाशमा माता पर्वतीको प्रेम , वात्सल्य र मार्गदर्शन लिएर पुनः नागलोक फर्किएर आफ्नो बाँकी जुनी परमार्थ र परोपकारमा लगाउँछन् । उनका पुत्र आस्तिक पनि योग्य , विद्वान् र सक्षम नागरिक बनेर गुरुकुलबाट फर्किन्छन् ।
हस्तिनापुरका राजा जन्मेजयका पिताको मृत्यु सर्पदंशबाट भएको हो भन्ने बुझेपछि राजा जन्मेजयले सम्पूर्ण नागजातिको संहार गर्ने प्रण गरी सर्प यज्ञ गरिरहेका हुँदा नागजातिको रक्षार्थ आस्तिकले खास उपाय लगाएर राजाबाट बाँकी नागहरूको जीवन रक्षा गरिदिने आश्वासन पाउँछन् ।
आफ्ना राज्यबाट दुरदराजमा रहेका कबिलाहरूलाई सभ्य सुसंस्कृत र शिक्षित बनाउने अभियानमा लागेकी राजकुमारी लोककल्याणकारी काम गर्दै टाढाको यात्रामा लाग्छिन् उनको कल्याण र परमार्थ देखेर उनी मनसादेवीका रूपमा पुजिन थाल्छन् । यसरी पौराणिक कालमा एउटी राजकुमारीको विद्रोहात्मक अदा र आँटले नारीहरू देवीका रूपमा आजपर्यन्त आराधनीय छन् ।
उपन्यासको मूल कथा यति नै हो । अरू धेरै उपकथाहरू छन् । इन्द्रको सामर्थ्य , दक्षप्रजापतिको अन्याय , कश्यप ऋषिको पक्षपात , दिदीबहिनी नै भए पनि विवाहपछि उनीहरूको एकअर्काप्रतिको जलन र ईर्ष्या आदि सबै स्वाभाविक लाग्छन् । मानवीय लाग्छन् । राजवंश र अन्य राजघरानाका सम्पूर्ण सदस्यहरू कसरी त्यो हदसम्मको सुख र ऐश्वर्य भोग्न सकिरहेका थिए ? कसरी त्यति भव्य र आलिशान राजभवन बन्न सक्यो ? राजघरानाका त्यत्रा सदस्यलाई त्यो हदसम्मको वैभवशाली जीवन जिउन सम्भव भयो ? फेरि त्याग , मोक्ष र तपस्याका कुरा पनि छन् । यी सारा चिजहरू बीचको सन्तुलन के हो ?
तत्कालीन अवस्थामा सर्वसाधारण जनताको सामाजिक आर्थिक अवस्था कस्तो थियो ? उनीहरूको जीवनाधार के थियो ? पुरुष सत्ता र पुरुष मानसिकता त महादेव , ब्रह्मा , कृष्ण र विष्णुसँग पनि थियो होला ! महादेवबाट त स्वयम् पार्वती पनि प्रताडित पो थिइन् कि ? यी र यस्ता थुप्रै असुविधाजनक प्रश्नहरूको सामना गर्नुपरे पनि वस्तुतः उपन्यास आफ्नो उद्देश्यमा कटिबध्द नै देखिन्छ । किरण आचार्य लिखित उपन्यास जरत्कारु नारी संवेदनाका आलोकमा चम्किरहेको मूल्यवान् पत्थर अझ मूल्यवान् बनेको देख्न पाइयोस् भन्ने कामना गर्दछु ।
000
लेखक परिचयः सुन्दरपुर मोरङमा जन्मेका गोविन्द पौडेल उनी कविता , उपन्यास , समाज/ मानवशास्त्रीय खोज तथा डिस्कोर्समा कलम चलाउन रुचाउँछन् । उनका अशोकका दुइटा रुख ( उपन्यास – २०६८), सपनाको फल ( अनुवाद -२०६९) , अङ्ग्रेजी बोलचाल अभ्यास ( अनुवाद -२०७२) प्रकाशित छन् । हाल उनी काठमाडौं कपनमा बसोवास गर्छन् ।
