ठाकुर शर्मा भण्डारीको’नवनी’को लोकार्पण सम्पन्न

समाचार

०१ कात्तिक २०८२, काठमाडौं

सर्जक ठाकुर शर्मा भण्डारीद्वारा लिखित’नवनी’कविता कृति एक औपचारिक एवम् अनौपचारिक कार्यक्रमका बीच लोकार्पण सम्पन्न भएको छ।
कृतिलाई कार्यक्रममा उपस्थित सबै महानुभावहरूले सामूहिक रूपमा लोकार्पण गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आमन्त्रित व्यक्तित्व साहित्यिक पत्रकार रोचक घिमिरेले कवि ठाकुर शर्मा भण्डारीको व्यक्तित्व तथा कृतित्वमाथि संक्षेपमा प्रकाश पार्दै उनीसँगको साहित्यिक सम्बन्ध बारे चर्चा गरेका थिए।
विशिष्ट आमन्त्रित व्यक्तित्व डा.हरिप्रसाद पोखरेलले कवि ठाकुर शर्मा भण्डारीका कविताहरू सरल र मीठो रहेको बताए।कवि शर्मा संभावनाको हुन् भन्दै उनमा राम्रो संस्कार रहेको बताए।
समालोचक गोपी मैनालीले लोकार्पित कविता कृतिको बारेमा बोल्दै कवि ठाकुर शर्माको बहुआयामिक प्रतिभाको चर्चा गरेका थिए।कवि ठाकुरले प्रकृतिलाई प्रतीक बनाएर कविता लेखेको बताए।
समालोचक प्रा.डा.भागवत ढकाल,कवि महेश प्रसाईं,समालोचक युवराज मैनाली,कवि गोविन्दप्रसाद घिमिरे’वेदमणि’तथा सूबसेन ओलीद्वारा शुभकामना मन्तव्य व्यक्त गरिएको थियो।
कवि एन.बि.जनकपुरीले ठाकुर शर्मा भण्डारी को लोकार्पित कविताकृतिभित्रबाट एउटा कवितालाई गाएर सुनाएका थिए।
कार्यक्रमको सुरुमा आफ्नो स्वागत मन्तव्य राख्दै कवि ठाकुर शर्मा भण्डारीले आमन्त्रित तथा उपस्थित सबै साहित्यकार तथा पारिवारिक सदस्यहरूको परिचय गराएका थिए।
सभापतिको आसनबाट बोल्दै इतिहासविद् प्राज्ञ दिनेशराज पन्तले ठाकुर शर्मा भण्डारीका कृतिहरूमा थपिएको यो नयाँ कृति आफैँमा ठूलो उपलब्धि भएको बताए।शर्माका कविता छन्द र पद्यमा मात्र नभई गद्यमा पनि रहेछ जुन पठनीय र स्तरीय भएको बताए।
इतिहासविद् प्राज्ञ दिनेशराज पन्तको सभापतित्वमा सम्पन्न कार्यक्रममा अन्य विशिष्ट आमन्त्रित व्यक्तित्वहरू मानसाग्नि प्राकृतिक चिकित्सक डा.हरिप्रसाद पोखरेल तथा निबन्धकार तथा समालोचक गोपी मैनाली रहेका थिए।
स्रष्टा शर्माका हालसम्म विभिन्न विधामा गरी तीन दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन्।
कार्यक्रमको सञ्चालन कवि यादव भट्टराईले गरेका थिए।

०००

सुभाषचन्द्र पौडेल’भीमफेदीया’काठमाडौंको सहयोगमा)