१७ वैशाख २०८२, काठमाडौं
नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वार्षिकोत्सवको अवसरमा एर्लियुद्वारा लिखित My Uncle Zhou Enlai को नेपाली संस्करण आज वैशाख १७ गतेका दिन काठमाडौं स्थित बेल्ट एण्ड रोड पुस्तकालयमा विमोचन गरिएको छ। मञ्चासीन व्यक्तित्वहरूबाट सामूहिक रूपमा पुस्तक विमोचन गरिएको हो। यो पुस्तकको नेपाली अनुवाद अजय शर्माले गरेका हुन्।
कार्यक्रममा प्रधानमन्त्री चाउ एन लाईकी नातिनी चाउ रोंग, नेपालस्थित चिनियाँ दूतावासका उपप्रमुख वाङ सीन,चाइना स्टडी सेन्टरका महासचिव डा. उपेन्द्र गौतम,नेपाली संस्करण अनुवादक अजय शर्मा तथा पुस्तकका सम्पादक / प्रकाशक किरण गौतमले आ-आफ्ना मन्तव्य व्यक्त गरेका थिए।
मुख्य वक्ता वाङ सीनले प्रधानमन्त्री चाउको निःस्वार्थ योगदान र नेपाल–चीन सम्बन्ध निर्माणमा पुर्याएको ऐतिहासिक भूमिकाको प्रशंसा गर्दै सन् १९५७ र १९६० का नेपालका भ्रमणदेखि लिएर सगरमाथा/चोमोङ्मा सीमा समाधानसम्मको प्रसंग स्मरण गरेका थिए। यो पुस्तक केवल जीवनी होइन यो हिमाल वारपारको आत्मिक पुल हो पनि हो भन्ने उनको भनाइ थियो।
चाउ रोंगले नेपालमा प्राप्त आत्मीय स्वागत प्रति आभार व्यक्त गर्दै आफ्नो परिवारको नेपाल प्रतिको सम्बन्धबारे साझा अनुभूति व्यक्त गरिन्।
डा. उपेन्द्र गौतमले चाउ एन लाईको कूटनीतिक योगदानलाई हिमालय क्षेत्रको भू-राजनीतिक सन्दर्भमा जोड्दै विश्लेषण गरे का थिए भने अनुवादक अजय शर्माले पुस्तक अनुवादमा लागेको भावनात्मक र बौद्धिक यात्राको अनुभव सुनाए।
सम्पादक तथा प्रकाशक किरण गौतमले भावुक मन्तव्य प्रस्तुत गर्दै दुई वर्षअघि चाउको पुण्यतिथिमा नेपाल पोस्टको १९७६ जनवरी ११ को अङ्कलाई वि-च्याटमा सेयर गरेपछि, यिलिन प्रेसकी मिस याङसँग सम्पर्क भएको र पुस्तक अनुवादको सहकार्य सुरुवात भएको बताए। त्यसै क्रममा उनले आफ्नो बुबा वरिष्ठ पत्रकार स्व.देवेन्द्र गौतमबाट सुनेको एउटा दुर्लभ संस्मरण पनि सुनाएका थिए।
१९५७ मा प्रधानमन्त्री चाउको नेपाल भ्रमणको बेलाको त्यो संस्मरण पशुपतिनाथ मन्दिरको दर्शनसँग सम्बन्धित थियो।
कार्यक्रम करेन्ट पब्लिकेशन र चीनको यिलिन प्रेसको संयुक्त आयोजनामा सम्पन्न भएको हो।
कार्यक्रमको सञ्चालन,स्वागत मन्तव्य तथा धन्यवाद ज्ञापन किरण गौतमले गरेका थिए।
(सुभाषचन्द्र पौडेल’भीमफेदीया’ काठमाडौंको सहयोगमा)
