६ वैशाख २०८२, काठमाडौं
बसुन्धरा मान प्रज्ञा प्रतिष्ठानले विसं २०८२ को बसुन्धराश्री पुरस्कार तुलसी दिवसलाई तथा मानश्री पुरस्कार तोया गुरुङलाई प्रदान गर्ने निर्णय गरेको छ । प्रतिष्ठानको विशेष बैठकले पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष डा दुबसु क्षेत्रीले जानकारी दिएका छन् ।
प्रतिष्ठानले जनाए अनुसार आधुनिक नेपाली कविताहरुको सृजना एवं नेपाली लोक संस्कृतिको अध्ययन, अनुसन्धान र उन्नयनद्वारा नेपाली साहित्य र संस्कृतिलाई सार्थक, समृद्ध र समुन्नत बनाइ नेपाली बाङमय क्षेत्रलाई वैभवशाली र गरिमामय बनाउन दिवसको योगदानको कदर गर्दै पुरस्कृत गर्ने निर्णय गरिएको हो र यस पुरस्कारको राशी ७५ हजार छ ।
विसं १९९८ असारमा धनकुटामा जन्मिएएका दिवसका “तुलसी दिवसका कविता”, नेपाली लोककथा, धिमाल लोकधर्म संस्कृति नामक कृति प्रकाशित छन् । विश्वका प्रमुख कवि सम्मेलनमा सर्वाधिक रुपमा सहभागी दिवसका वीसौं भाषामा कविता अनुवाद भएका छन् र विभिन्न विश्व कविता सङ्कलनमा उनका कविता समावेश छन् ।
त्यसैगरी आधुनिक नेपाली कविता र कथामार्फत नेपाली साहित्यलाई स्तरीय, शालीन र समृद्ध बनाई नपाली वाङ्मयको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याए बापत तोया गुरुङलाई रु ५० हजार राशीको मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
विसं २००४ चैतमा सिन्धुपालचोकमा जन्मिएकी कवयित्रि गुरुङका सूर्यदह, धुपी, देवल घुमेपछि, तोया गुरुङका कविता, पुनरावती, कुसुम र अस्पृश्य लगायतका कृतिहरू प्रकाशित छन् । नेपालको प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषदको सदस्यमा पुग्ने उनी प्रथम मिला साहित्यकार हुन् ।
आफ्ना माता वसुन्धरा र पिता मानको नाममा उनका सन्ततीद्वारा स्थापित “वसुन्धरा मान प्रज्ञा प्रतिष्ठानले स्थापनाकाल विसं २०५७ सालदेखि नेपाली साहित्यमा तथा नेपालको विविध क्षेत्रमा विशेष योगदान पुर्याउने व्यक्तित्वहरूलाई उक्त पुरस्कारहरू प्रदान गर्दै आएको छ ।
