तारा पराजुली
त्यस बेला म कक्षा आठमा पढ्थेँ।स्कूलको ड्रेस सेतो सर्ट,निलो फ्रक सेतो जुत्ता सेतै मोजा लगाउनु पर्थ्यो । म कक्षा आठसम्म घर नजिकको स्कूलमा पढेर आठ कक्षादेखि नयाँ स्कूल पढ्न थालेकोले स्कूलले विद्यार्थीका लागि तय गरेको नियमसँग म अपरिचित नै थिएँ । स्कूलले पनि खासै जानकारी गराएको थिएन । पुषको महिना थियो । म सेतो सर्ट, नीलो फ्रक, सेतो जुत्तामा सेतै मोजा र हरियो स्वेटर लगाएर स्कूल गएँ । स्वेटर बाहेकका लुगा मैले आफ्नै लगाए पनि स्वेटरचाँहि हामी दाजुहरू र म पालैपालो लगाउथ्यौं भनौं साझा जस्तो थियो त्यो वस्तु हाम्रा लागि ।दुःखको तराजुले हामीलाई यसरी बरोबर गरिबी बाँड्न सिकाएको थियो।
हाम्रो घरबाट विद्यालय पुग्न लगभग अढाई घण्टा लाग्थ्यो । बिहानभर घरको काम सकेर राम्रोसँग भर्सिन समेत नपाएको तात्तातो भातको गाँस टिपेर स्कूल पुग्दा बिहानको प्रार्थनाको समय पनि दस बारह्र मिनेट अबेर भइसकेको थियो । मलाई सजिलै भयो किताबको झोला राख्न कक्षा कोठामा नपुगी साथीहरू बसेको लाइनमा सबभन्दा पछिल्तिर बसेर गाउँछ गीत नेपाली भन्ने गीतमा स्वर मिलाउँदै थिएँ । हेडसर लाइन चेक गर्दै हाम्रो छेउछाउ घुम्दै हुनुहुन्थ्यो। हामी खुब अनुशासित भएर आफ्नो काम गरिरह्यौँ।
एक्कासि पछाडिबाट कसैले काँचो छ्डीले जोडसँग मेरो ढाडमा हिर्कायो । म सहन नसकेर रुन थालेँ आवाज आउँने गरि रुँदा साथीहरुले गिज्याउलान् ठानेर आवाज रोक्दै घुँक्क घुँक्क रुन थालें । लगातार ३/४ छडी हानि सक्दा पनि मैले पछाडि फर्केर मलाई कुटपिट गर्ने पात्र हेर्न सकिनँ । “हरियो स्वेटर यो स्कूलको ड्रेस हो ? यही हो अनुशासन,?” यस्ता वाक्यहरूले गाली गर्दै अगाडि आए पछिमात्र मैले छडी हान्ने पात्र हेड सर नै भएको थाहा पाएँ।
कक्षा कोठामा पुगेपछि म दिन भर बसेर पढ्न नसक्ने भएँ । पछाडि ढाडभन्दा तल्लो भागमा बेसरी सुम्ला उठेको थियो । त्यसले गर्दा मलाई बेन्चमा बस्न कठिन भयो । एकछिन त छड्के भएर बसेँ तर ज्वरो आए जस्तो भएर मलाई धेरै गाह्रो भएको थियो । मेरो पीडा मैले कुनै साथी भाइलाई सुनाउन सकिन । आफैँ भित्र आँसु लुकाएर ज्यादै कठिनले मैले चार घण्टी बिताएँ । टिफिन समय भएपछि सबै साथीहरू खेल्न गए म घरतिर हिंडे । बाटोभरि बस्दै थकाइ मार्दै अबेर घर पुगेँ ।
केटाकेटीले गरेको बिगार र गाईवस्तुले फुकेर खाएको बाली यी दुबै विषयमा विवाद गर्नुहुन्न भन्ने आमाको मान्यता थियो । आमालाई सबै कुरा नसुनाउने निर्णय मेरो अन्तिम निर्णय थियो । त्यस कारण पनि मैले स्कूलमा भएको घटना घरमा आमा बुबालाई सुनाउन सकिनँ । एउटा कारण त बदमासी गरेर कुटाइ खाएको शङ्का गर्नुहोला भन्ने लाग्यो । अर्को महत्त्वपूर्ण कारणचाँहि मैले नीलो स्वेटर नलगाएको कारण पिटाइ खाँदा आमालाई अर्को अभावको सिरेटोले चिल्ला जस्तो लाग्यो । वहाँलाई नराम्रो लाग्ला भन्ने लाग्यो । त्यस बेला हाम्रो परिवारको आर्थिक अवस्था खासै राम्रो थिएन । नीलो स्वेटर किनि मागेर भोलिबाटै पूर्णतः ड्रेस लगाएर स्कूल जाने अवस्था सम्भव नहोला र यो कुराले आमालाई हीनताबोध होला भनेर बरु दुखाइ सहेर चुपचाप बसेँ । बरु एक वर्ष पढाई छोड्ने सोच बनाएँ। बिहीवारको दिन थियो । हाम्रो ठाउँमा एक दिनमात्र बजार लाग्थ्यो बुधवार, त्यो पनि अब एक हप्ता कुर्नु पर्थ्यो । अर्को कुरा आमासँग पैसाको खाँचो होला भन्ने लाग्यो । एकतिर दुखाइको पीडा सहन नसक्ने हुन्थ्यो अर्कोतिर अभावको उच्छ्वासले गर्दा छिनछिनमा सास रोकिए जस्तो हुन्थ्यो । सबै उकुसमुकुस कसरी मभित्र अटाउन सके अहिले पनि सम्झिँदा असजिलो हुन्छ।
साँझ दाजुहरूसँग भकुन्डो खेल्न मेरो छिमेकी साथी आएछ । उ र म एउटै कक्षामा पढ्थ्यौं। साथीले दिउँसोको घटनाको सम्पूर्ण फेहरिस्त दाजुहरूलाई सुनाएछ । घट्नाको आकार चुरोटको धुवाझैं फैलिएर आमासम्म पुगेछ । आमाले घाउको सुम्ला हेर्न भन्नुभयो । मैले घाउ र खास दुखाइ छैन भनेर टारिदिएं । हुनपनि पछाडिपट्टि देखाउन नमिल्ने ठाउँमा थिए सुम्लोहरू । मलाई लाज लाग्यो बरु दुखेको छैन भनेर टारिदिएं ।
अब आमालाई मेरो लागि नीलो स्वेटरको कथाले घुमाइरहेको थियो । भनेको समयमा पैसा नहुनु, पैसा भएपनि किन्ने ठाउँ नपाउँनु, स्वेटर बिना छोरीको स्कूल जाने बाटो बन्द हुनु ।आमाको अभावको असिनाले हिर्काएको अनुहार म प्रस्ट देख्थें । एक मनले त सोच्थें पढाई छोडिदिउँ । फेरि अर्को मनले भन्थ्यो, पढ्ने उमेरमा पढ्नुपर्छ।
बेलुकी खाना खाएर सबै जनाको सुत्ने तर्खर भयो । आमा तलामाथि पसेर खत्र्याङ खुत्रुङ गर्दै केहि खोज्दै हुनुहुन्थ्यो । एकतिर दुखाइ अर्कातिर चिन्ता म भुसुक्क निदाएछु । रातितिर आमाले सँगिनी गाएको आवाज घरीघरी सुन्थें फेरि कोल्टे फेरेर निदाउथें ।
बिहान हामी उठ्दा आमाले नीलो कलरको आधा स्वेटर बुनिसकेको देखेर म छक्क परेँ। बाकसमा एउटा पुरानो लामो न लामो स्विटर थियो । आमाले त्यही स्वेटर उधारेर धागो निकाल्नु भए छ र अर्को बुन्नु भए छ । त्यस दिन खाना ठूलो बुबाले बनाउनुभयो । आमाले बिहानै देखि दिनभरि रातभरि बुनिरहनु भयो । शनिवार बिहानसम्म आमाले चिटिक्क परेको नीलो स्वेटर बुनेर सकेपछि मलाई लगाइ दिनुभयो । “अब भोलिदेखि ढुक्क भयो। नीलो स्वेटरकै कारण कुटाइ खानु पर्दैन ।” त्यस बेला सम्म आमाको अनुहार उदाउँदै गरेको सूर्य जस्तो उज्यालो भएर खुलिसकेको देखिन्थ्यो।
०००
कवयित्री परिचयः तारा पराजुली मूलतः कवयित्री हुन् । उनको “अर्को राजमार्ग” कविता सङ्ग्रह प्रकाशित छ जुन निकै चर्चामा रहेको थियो ।
