विमल गुरुङ कृति पुरस्कारको घोषणा

मुख्य समाचार

१२ कार्तिक २०८३, धरान

वि.सं. २०८२मा प्रकाशित कृतिहरूमध्यलाई प्रदान गरिने दुई लाख राशीको ‘विमल गुरुङ कृति पुरस्कार’ भूपिन खड्काको निवन्ध कृति ‘मध्यको उज्यालो’ र जुनु रानाको बिबिध रचनाहरुको सङ्कलन कृति ‘लाहुरेनी सौन्दर्य’लाई संयुक्तरुपमा प्रदान गर्ने घोषणा गरिएको छ ।
कवि विमल गुरुङ स्मृति पुस्तकालय व्यबस्थापन समिति, धरानको बुधबार बसेको बैठकले संयुक्तरुपमा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कार राशी नगद दुइ लाख रुपैयाको साथमा ताम्रपत्र समेत रहेको छ ।
यस वर्ष विमल गुरुङ कृति पुरस्कारका लागि स्वदेश र विदेशका लेखक, कवि साहित्यकारहरुले लेखेका नेपाली भषाका ५२ कृति प्राप्त भएको पुस्तकालयले जनाएको छ । ती पुस्तकहरुमध्ये निर्णयक मण्डलले पहिला श्रेष्ट १० कृति छनौट गरेर अन्तिममा दुई निबन्ध कृतिलाई संयुक्तरुपमा विमल गरुङ कृति पुरस्कार प्रदान गर्ने घोषणा गरिएको पुस्तकालयका उपाध्यक्ष प्रदीप मेन्याङ्बोले जानकारी दिए ।
दुवै कृतिका सर्जकहरुलाई यही कात्तिक १९ गते पुस्तकालयको भवनमा आयोजना हुने विमल गुरुङको ५५ औं जन्मजयन्ती तथा ३५ औं राष्ट्रिय कविता महोत्सवको अवसरमा प्रदान गरिने पुस्तकालयका अध्यक्ष पूर्णवहादुर गुरुङले बताए । सोही कार्यक्रममा पत्रकार तथा कवि प्रदीप मेन्याङ्बोद्धारा सम्पादित संयोजित ‘विमल गुरुङका प्रतिनिधि कविताहरु’ कविता संग्रहको पनि लोकापर्ण गरिने समितिका सचिव चन्द्र गुरुङले बताए ।

०००