(दशैं भर्खरै सकिएको छ । तर दशैं सम्बन्धी कविता पुराना हुँदैनन् । दशैंका केही कविताहरू कवि मित्र प्रमोद सारङ्गले सङ्कलन गर्नु भएको रहेछ । यो उहाँकै सौजन्यबाट प्राप्त भएको हो र क्रमसः प्रकाशित गर्दै जानेछौं ।-सम्पादक)
– कृसु क्षेत्री
दिनभरि भेडा चराएँ
ढुङ्गा फोरेँ, माटो सम्याएँ
आफैले चराएको भेडाको बगालको
एउटा भेडा रहेछु म
बल्ल पो थाहा पाएँ
जब साथीले आँखाभरि आँसु पार्दै भन्यो–
“आज त दशैँ हो
मीठो मसिनो खाने दिन
राम्रो सुकिलो लाउने दिन”!
दशैँ आयो कि
म त बयेली खेल्दैहिँड्ने मान्छे
बुर्कुसी मार्दै दगुर्ने मान्छे
सजाउँथें भीरमा फुलेको सपनाको सुनाखरी
रङ्गाउँथें पाखामा फक्रेको कल्पनाको लालीगुराँस
तिहार लाग्यो कि दिदीको खुसी म
हरदिन बूढी आमा र बाबुको लाठी म
उतै छाडेर आउँछु मैले
मुस्कुराउने ओठहरू
इमानदार साथीहरू
आशीर्वचन
र कहिल्यै नओइलाउने जमराहरू
साथीले सम्झाएपछि
मासु किनें, अलिकति नुनभुटुन
पकाएँ मीठो मसिनो
आफ्नै आगोमा जल्दैजल्दै
खान बसें एक्लै अलिनो तरकारी
नुन थपे पनि अलिनो भइरह्यो
एक्कासि खस्यो आँसु र पिएँ
नुनिलो रहेछ प्रवासको दशैँमा
नुनभन्दा नुनिलो हुनेरहेछ आफ्नै आँसु
मासु किन्न जाँदा देख्छु
घाँसमा रमाउँदै
काटिन जगर हल्लाइरहेको बोको
हेर्दाहेर्दै बोकामा परिणत हुन्छु म
कहिले परिवारको सुखका लागि
कहिले सुरक्षित भविष्यका लागि
यो मरुभूमिमा
काटिन लागेको बोकामा अनुदित भइरहन्छु म
थाहै नपाई हरक्षण काटिँदै गएको छु
आफैँ मलामी जाँदै आफ्नै मासु पकाएर खादैहुन्छु
अहँ! हुँदोरहेनछ स्वाद
सम्झन्छु-
छोरा छिमेकीको खसी हेरेर -याल चुहाइरहेको
छोरी साथीले लगाएको नयाँ लुगामा लोभिइरहेको सम्झँदासम्झँदै काटियोँ औँला
र, बग्न थाल्यो रगत
हतारहतार चुसें मीठो लाग्यो, स्वादिलो लाग्यो
प्रवासको दसैँमा मासुभन्दा स्वादिलो हुँदोरहेछ आफ्नै रगत
घर सम्झन्छु-
घरसँगै आउँछन् भित्ताभरि टाँसिएका तमसुक
साहुका अनुहार, छोराछोरीको भविष्य,
वृद्ध बाआमाको बाँच्ने आधार
साँच्चि किन थाप्न सकिन्न प्रवासको दसैँमा
खुसी किन्ने आशीर्वचन !
ㅁㅁ
