२९ साउन २०८३, काठमाडौं
नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत २०८० साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौंमा आयोजन गरिँदै आएको मासिक कथावाचन कार्यक्रमको तेत्तीसौं श्रृङ्खला मिति सम्पन्न भएको छ ।
कार्यक्रमको शुरुमा अभियानका परिकल्पनाकार कथाकार÷नियात्राकार चन्द्रप्रसाद भट्टराईले सम्पूर्ण अतिथिहरुको स्वागत गर्दै नेपाली कथाको विकासक्रम र इतिहासबारे गहन अध्ययन–अनुसन्धान गर्ने बृहत उद्देश्य लिई शुरु गरिएको यस अभियानले पुराना नेपाली कथा र कथाकारहरूका रचनाबारे खोज गरिरहेको जानकारी गराए ।
पहिलो श्रृङ्खलादेखि नै सधैँ कुनै एक दिवंगत स्रष्टाको एउटा ऐतिहासिक कथा वाचन गरेर मात्र कार्यक्रम शुरु गर्ने परम्परा अनुसार यस पटक सर्वप्रथम दिवंगत स्रष्टा श्यामदास वैष्णवको कथा ‘बौलाहा’ डा.समिना खनाल पृथाले वाचन गरिन् ।
त्यसपछि कथाकारहरू डा.बेन्जु शर्माले ‘यहाँ किन आएको ?’ शीर्षकको आफ्नो कथा तथा अर्का कथाकार हरि अधिकारीले ‘दुःस्वप्न’ शीर्षकको कथा वाचन गरे ।
वाचनपूर्व परिकल्पनाकार भट्टराईले यस विधामा कथाकार शर्मा र अधिकारीको योगदानको सङ्क्षिप्त चर्चा गर्नुभएपछि उहाँहरुले आआफ्ना कथा वाचन गर्नुभएको थियो ।
कथावाचनपछि श्रोतागणबाट दुवै कथाकारहरुसँग कथाका पृष्ठभूमि, परिवेश, भाषा आदिमा जिज्ञासा राख्ने र जवाफ दिने चरण सम्पन्न भएको थियो । जिज्ञासा राख्नेहरुमा शैलेन्द्र साकार, हरीश कल्पित, दीपक लोहनी, प्रह्लाद पोखरेल, चेतनाथ कणेल ‘हरित’, कोषराज न्यौपाने, सुरेन्द्रकुमार भट्ट, तोया गौतमलगायतका श्रोताहरु थिए । बिगतका केही श्रृङ्खलादेखि शुरु गरिेएको यो अभ्यास कथाकारहरु र श्रोतागणले निकै रुचाएकाले आयोजकहरुबाट यसलाई निरन्तरता दिइएको छ ।
मासिक कथावाचन कार्यक्रमको संचालनमा शुरुदेखि संलग्न कथाकारहरु समिना खनाल पृथा र पबित्रा अधिकारीले हालै क्रमशः ‘भीमनिधि तिवारीका कथामा नीतिचेतना’ र ‘भवानी भिक्षुका कथामा नीतिचेतना’ शीर्षकहरुमा नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि (पिएच डी) गर्नुभएकोमा दुबैलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा समापन मन्तव्य दिंदै अभियानका अर्का परिकल्पनाकार पुष्कर लोहनीले तीन वर्षको अवधिमा नेपाली कथा साहित्यमा पुनर्जागरण अभियानले कथाकारहरु, कथासमीक्षकहरु र कथाका गम्भीर पाठकहरुको ठूलो विश्वास आर्जन गरेकोमा खुशी व्यक्त गरे ।
२०८३ सालको असार र साउनमा दिवंगत हुनुभएका कथाकारहरु डा. राजेन्द्र विमल, नगेन्द्रराज शर्मा र गीता केशरीका आत्माको चिरशान्तिको कामना गर्दै कार्यक्रममा एक मिनेट मौन धारण गरिएको थियो ।
कार्यक्रम उपन्यासकार शुकदेव उपाध्यायले सञ्चालन गरेका थिए ।
०००
