निरा सुब्बा नेचालीको ‘निकुञ्जराग’ पढेपछि

गद्य विविध

भाष्कर मैनाली शर्मा, दार्जिलिङ

नेपाली साहित्यमा समय–समयमा यस्ता कृतिहरू प्रकाशित हुन्छन्, जसले केवल साहित्यिक स्वाद मात्र प्रदान गर्दैनन्, बरु समाज, प्रकृति, संस्कृति, इतिहास र मानवीय संवेदनाका अनेकौँ आयामहरूलाई एकैसाथ उजागर गर्ने सामर्थ्य राख्छन्। कवयित्री निरा सुब्बा नेचाली द्वारा लिखित ‘निकुञ्जराग’ त्यस्तै एक सशक्त काव्यकृति हो। सन् २०२६ मा पहिलोपटक प्रकाशित भएको यस कवितासङ्ग्रहमा १४४ पृष्ठभित्र ६८ वटा विविध विषयवस्तुका कविताहरू सङ्ग्रहित छन्। नामले नै प्रकृतिको सुगन्ध बोकेको यो कृति पढ्दै जाँदा पाठक भावनाका अनेक रङ, अनुभूति र चिन्तनका संसारमा प्रवेश गर्न पुग्छ।
‘निकुञ्जराग’ कुनै एउटै विषयमा सीमित सङ्ग्रह होइन। यसभित्र आमा र मातृत्व, नारी चेतना, प्रकृति प्रेम, पर्यावरण संरक्षण, सामाजिक विकृति, देशप्रेम, जातीय अस्तित्व, मातृभाषा, चियाबारीका श्रमिकहरूको पीडा, मानवीय संघर्ष तथा जीवनदर्शनजस्ता विविध पक्षहरू समेटिएका छन्। यही विविधताले यस सङ्ग्रहलाई विशेष बनाएको छ।
सङ्ग्रहको पहिलो कविता ‘आमा’ बाट नै पाठक भावुक बन्न पुग्छ। कविताले आमाको त्याग, ममता र परिवारप्रतिको समर्पणलाई अत्यन्त मार्मिक ढङ्गले प्रस्तुत गरेको छ। आमा केवल एक व्यक्ति होइनन्, एउटा घरको आधारस्तम्भ हुन् भन्ने अनुभूति कविताले गराउँछ।
जुन दिन आमा अर्कै लोकको यात्रामा जान्छिन्
त्यो परिवारको सातो पनि सङ्गै लागेर जान्छिन्
आफू पछि कहिले नपुरिने रिक्तताको गहिरो खाल्डो छोडेर…
यी पङ्क्तिहरूले आमाको अनुपस्थितिले घरलाई कति शून्य बनाउँछ भन्ने यथार्थलाई अत्यन्त हृदयस्पर्शी ढङ्गले अभिव्यक्त गरेका छन्।
सङ्ग्रहमा रहेको ‘शून्य सृजित उर्बर भूमि भारत’ कविता विशेष उल्लेखनीय छ। भारतीय नेपालीभाषी गोर्खा समुदायमाथि समय–समयमा विदेशीको आरोप लाग्ने गरेको सन्दर्भमा यो कविता देशप्रेमको शक्तिशाली अभिव्यक्ति बनेर आएको छ। भारतको विशालता, गौरव र सौन्दर्यको वर्णन गर्दै कविले भारतीय नेपाली समुदायको राष्ट्रप्रेमलाई सशक्त आवाज दिएका छन्। कविता पढ्दा भारतीय हुनुको गर्व अनुभूत हुन्छ।
त्यसैगरी ‘जेलमा जल्लाद छैन हरे’ कविता वर्तमान समाजको कटु यथार्थमाथि केन्द्रित छ। अपराध बढ्दो छ, पीडितहरू न्याय खोज्दै भौतारिइरहेका छन्, तर अपराधीहरू खुलेआम हिँडिरहेका छन् भन्ने यथार्थलाई कविले तीखो व्यङ्ग्यसहित प्रस्तुत गरेका छन्।
बालिका वृद्धा कोही चिन्दैन
खेल्दछ पाशविक खेल
कतिसम्म लाचार नारीको जीवन
छ जल्लादबिनाको जेल।
यी पङ्क्तिहरूले समाजमा बढ्दो हिंसा र नारी असुरक्षाको पीडादायी चित्र कोरेका छन्।
दार्जिलिङ र वरपरका क्षेत्रमा हाल लोकप्रिय बन्दै गएको गोर्खे हाट को विषय पनि कविको दृष्टिबाट छुटेको छैन। ‘गोर्खे हाट’ कवितामा स्थानीय उत्पादन, आत्मनिर्भरता र स्वाभिमानको भाव मुखरित भएको छ। आफ्नो ठाउँमा बसेर आफ्नै श्रमद्वारा जीवन निर्वाह गर्ने मानिसहरूको संघर्ष र सफलताले कविलाई उत्साहित बनाएको स्पष्ट देखिन्छ।
यस सङ्ग्रहका धेरै कविताहरू पढ्दा कवयित्री प्रकृतिप्रति अत्यन्त संवेदनशील रहेको अनुभूति हुन्छ। ‘लालीगुराँस’, ‘सम्बोधन शिरीषलाई’, ‘हरित स्नान’ तथा ‘निकुञ्जराग’ जस्ता कविताहरूमा प्रकृतिको सौन्दर्य जीवन्त बनेर आएको छ। विशेषतः लालीगुराँस केवल फूल नभई पहाडको भावना, पहिचान र सौन्दर्यको प्रतीकका रूपमा चित्रित गरिएको छ।
कवितासङ्ग्रहको शीर्षक कविता ‘निकुञ्जराग’ ले पर्यावरण संरक्षणको सशक्त सन्देश बोकेको छ। वन, जंगल र हरियाली मानव अस्तित्वका आधार हुन् भन्ने चेतना कविताले जगाउँछ।
निकटवर्ती धरा नै मानव जगतको प्राण हो,
विशुद्ध हरियो परियो अरण्य नै धर्तीको त्राण हो।
जलवायु परिवर्तन र वन विनाशको वर्तमान सन्दर्भमा यी पङ्क्तिहरू अझ बढी सान्दर्भिक लाग्छन्।
सङ्ग्रहमा नारी चेतनाले पनि महत्त्वपूर्ण स्थान पाएको छ। ‘नारीलाई सम्बोधन’, ‘आमा’, ‘आमा अनि आकाश’ लगायतका कविताहरूले नारीको त्याग, समर्पण, संघर्ष र सम्मानको विषयलाई गम्भीर रूपमा उठाएका छन्। विशेषतः ‘आमा अनि आकाश’ कविता अत्यन्त भावुक र मार्मिक छ।
आमा अनि आकाश उस्तै उस्तै
सन्तानको खुसीमा बर्सिदिने,
छोरा–छोरीको दुःखमा तप्किदिने।
आमाको ममता र आकाशको विशालतालाई एउटै प्रतीकमा प्रस्तुत गरिएको यो कविता पाठकको मनमा लामो समयसम्म बसिरहन्छ।
यस सङ्ग्रहका केही कविताहरू नैतिक तथा औपदेशिक प्रकृतिका पनि छन्। ‘मरेपछि’, ‘भोक’, ‘रोलिङ स्टोन’, ‘अपूर्ण मान्छे’, ‘आशा नगर्नु’ जस्ता कविताहरूले जीवनबोध र नैतिक चेतनाको सन्देश दिन्छन्।
‘अमर मृत्यु सहिदको’ कविता विशेष रूपमा उल्लेखनीय छ। गोर्खा समुदायका हजारौँ युवाहरूले राष्ट्रको सुरक्षाका लागि गरेको बलिदान र उनीहरूका परिवारले भोग्नुपरेको पीडालाई कविताले अत्यन्त मार्मिक रूपमा प्रस्तुत गरेको छ।
केवल शरीर मात्रै सयपत्रीले सजिएर घर आयो,
अदृश्य सहिदको आत्माले कतिसम्म आफ्नो घर धायो।
यी पङ्क्तिहरूले सहिद परिवारको मौन वेदनालाई शब्द दिएका छन्।
भाषा, जातीयता र अस्तित्वको प्रश्न पनि कवयित्रीको चिन्ताको केन्द्रमा रहेको देखिन्छ। ‘जात जात अनि जाति’ जस्ता कविताहरूले हाम्रो समुदायभित्र बढ्दो विभाजन र जातीय पहिचानको सङ्कटप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
जात र थरी खोज्दा खोज्दै
जाति नै बिरानो भइसक्यो।
यी शब्दहरू केवल कविता होइनन्, वर्तमान समाजको आत्मालोचन पनि हुन्।
त्यसैगरी ‘साइरन, सुइरो र सुस्केराहरू’, ‘चियाबारी’ र ‘अन्तरे’ जस्ता कविताहरूले दार्जिलिङका चियाबारी श्रमिकहरूको जीवन, संघर्ष र पीडालाई जीवन्त रूपमा चित्रण गरेका छन्।
मेरो जीवन त फिक्का चिया झैँ छ यहाँ,
म जाबो चिया श्रमिक,
मेरो भाग्य नै भिरालो छ चियाबारी जस्तो।
यी पङ्क्तिहरूले चियाबारी श्रमिकको कठोर यथार्थलाई शब्द दिएका छन्।
समग्रमा भन्नुपर्दा, ‘निकुञ्जराग’ विविध विषयवस्तु, गहिरो संवेदना र सामाजिक चेतनाले भरिपूर्ण उत्कृष्ट कवितासङ्ग्रह हो। यसका कविताहरूले केवल भावनात्मक आनन्द मात्र प्रदान गर्दैनन्, पाठकलाई सोच्न, आत्ममूल्याङ्कन गर्न र समाजप्रति जिम्मेवार बन्न प्रेरित पनि गर्छन्। प्रकृति, समाज, संस्कृति, इतिहास र मानवीय जीवनका अनेक आयामलाई समेट्न सफल यो कृति नेपाली साहित्यमा उल्लेखनीय योगदानका रूपमा स्थापित हुने सम्भावना बोकेको छ।
कवयित्री निरा सुब्बा नेचालीले यस कृतिमार्फत आफूलाई केवल संवेदनशील कवि मात्र नभई समाज र समयप्रति सचेत सर्जकका रूपमा पनि स्थापित गरेकी छन्। त्यसैले नेपाली साहित्यप्रेमी प्रत्येक पाठकले एकपटक अवश्य पढ्नुपर्ने कृतिका रूपमा ‘निकुञ्जराग’ लाई लिन सकिन्छ। यो कृति भावनात्मक, बौद्धिक र नैतिक रूपमा पाठकलाई समृद्ध बनाउने सामर्थ्य राख्दछ।