मासिक कथावाचनको उनान्तीसौं श्रृङ्खला सम्पन्न

मुख्य समाचार

२७ चैत २०८२, काठमाडौं

नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत २०८० साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार डिल्लीबजार काठमाडौंमा गरिँदै आएको मासिक कथा वाचन कार्यक्रमको उनान्तीसौं श्रृङ्खला भएको छ ।
कुनै दिवंगत स्रष्टाको सम्मानमा एउटा कथा वाचन गरेर आरम्भ गरिने परम्परा अनुसार स्रष्टा गोविन्द बहादुर मल्ल ‘गोठाले’को तस्वीरमा माल्यार्पणसहित उनको ‘औंठी’ शीर्षकको कथा वाचन गरिएको थियो । उक्त कथा उपन्यासकार शुकदेव उपाध्यायले वाचन गरेका थिए ।
त्यसपछि २०४० को दशकमा प्रकाशित कथा अन्तर्गत कथाकार योगेन्द्र तिमिल्सिनाले ‘मूल्याङ्कन’,२०५० को दशकमा प्रकाशित कथा अन्तर्गत कथाकार अमर प्रधानले आफ्नो ‘सौन्दर्य’, २०७० को दशकमा प्रकाशित कथा अन्तर्गत कथाकार बिन्दु अधिकारी ढकालले ‘समयको छुरा’ कथा वाचन गरेकी थिइन् ।
कथावाचनपछि स्रोताहरूमध्ये बैरागी जेठा, प्रकाश कुमार अर्याल, चोकबहादुर दाहाल, सुमन अर्याल लगायतले ती कथाहरूमाथि बिभिन्न जिज्ञासा राखेका थिए । तीनै जना कथाकारले आआफ्ना कथाहरूमाथि गरिएका प्रश्नहरूको जवाफ दिएका थिए । यसरी रचना सुनेर तत्कालै स्रोताको प्रतिक्रिया र प्रश्नोत्तरले कार्यक्रम निकै रोचक भएको थियो ।
कार्यक्रमको शुरुमा पुनर्जागरण अभियानका परिकल्पनाकार पुष्कर लोहनीले नेपाली कथासाहित्यको विकास क्रमबारेमा संक्षिप्त प्रकाश पार्दै नेपाली साहित्यमा बौद्धिक क्रान्ति आयो कि आएन ? आधुनिकता आयो कि आएन ? विश्व साहित्यमा जोडिन सक्ने वातावरण बन्यो कि बनेन त्यसबारे चिन्तन हुनु पर्ने धारणा राखे ।
कार्यक्रमको अन्त्यमा पुनर्जागरण अभियानका अर्का परिकल्पनाकार चन्द्रप्रसाद भट्टराईले नेपाली कथाहरूको कालखण्ड छुट्याई वाचन गरिँदा तिनको विकासक्रमबारे सबैलाई ज्ञात हुने, बिभिन्न पुस्ताका कथाकारहरूबीच प्रत्यक्ष भेटघाट, चिनजान र सम्बन्ध स्थापना हुने धारणा व्यक्त गरे ।
भट्टराईले हरेक महिना कुनै दिवंगत स्रष्टाको एउटा कथा वाचन गरेर आरम्भ गरिने कार्यक्रममा दिवंगत स्रष्टाहरू गुरुप्रसाद मैनाली, पुष्कर शमशेर, रूपनारायण सिंह, विष्णुचरण श्रेष्ठ, विश्वेश्वरप्रसाद कोइराला, भवानी भिक्षु, युद्धप्रसाद मिश्र, मात्रिकाप्रसाद कोइराला, रुद्रराज पाण्डे, बोधविक्रम अधिकारी, शंकर लामिछाने, श्यामराजा, लक्ष्मीनन्दन शर्मा चालिसे, एम लक्ष्मी, केशवराज पिंडाली, तारिणीप्रसाद कोइराला लगायतका कथा वाचन गरिसकिएको बताए ।
सो कार्यक्रम शुकदेव उपाध्यायले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रमको अन्त्यमा स्रष्टा पुष्कर लोहनीको ८८औं जन्मदिवस पनि मनाइएको थियो ।

०००