ऋचा गौतम, सिड्नी, अष्ट्रेलिया
एकादेशमा एउटा मोटे कथा थियो। साहित्यको शव्द नगरी भन्ने ठाउँमा त्यस मोटे कथा, आफ्ना छिमेकी बन्धु कविता, निबन्ध, उपन्यास, संस्मरण, गजलहरूसँग बसोबास गर्थ्यो। कथाको घर र थर दुबै, अरू छिमेकीकाझैँ सामान्य थियो। कहिलेकाहीँ कविताको घरमा लटरम्म फलेका शब्दरुपि अलङ्कारहरु कविताले मोटे कथासँग बाँढ्थ्यो! कहिलेकाहीँ गजलहरू सन्चो-बिसन्चो सोध्न आउँथे।
सबै मिलेरै बसेकै थिए।
तर मोटे कथालाई छुट्टै दम्ब र घमण्ड थियो। कथा, म अरूभन्दा छुट्टै र राम्रो छु भन्ने सोच्थ्यो। भिडभाडमा जाँदा अगाडि गएर कविता, अन्य उपन्यासलाई दुब्लो, कालो, नेप्टे, चेप्टे भनेर गिज्याउँथ्यो। अर्को अर्थमा मौका पाउने बित्तिकै शब्दहरू मिलाएर सबैका अगाडि पाण्डित्य प्रदर्शन गरी हाल्थ्यो।
कथाले दोस्तयोभ्स्कीसँग फोटो खिचाएको चिनो, घरको भित्ताभरि टाँसेको थियो। थोमस मानलाई इमेल लेखेको, देवकोटालाई च्यालेन्ज गरेको , हर्मन हेसेसँग सहकार्य गर्ने आँट पनि राखेको थियो। तर खै त सिद्धार्थ जन्माउन सकेको? शब्दमा बुद्ध जन्मिन्छन्? सासको विज्ञान सुतेर कसरी बुझिन्छ? मोटे कथाले शब्दको जाल हान्थ्यो, ब्रान्डेड गद्य देखाउँथ्यो। महङ्गा अर्थ चेप्टाउँथ्यो।जुन अरु कथाहरु बुझ्दैनथिए।
एकदिन अर्को छिमेकी दुब्ले कथाले, आफ्नै सानो करेसाबारीमा शब्द रोप्यो। उसले मेहनतले मलजल गर्यो, गोड्यो, गोड्दा थाकेर कति पटक सुस्केरा काढ्यो! कति पसिना बगायो। कथा निरन्तर मेहनत गरिरह्यो, कैयौँ वर्ष लगाएर कथाले बाली फलायो, भित्र्यायो, अनि गाउँलेहरुलाई बाँड्यो, सबैले मिलेर शब्द भोजन गरे।
बाँडेर खाँदा सबै तृप्त भए। खुसीले कति रोए, कति हाँसे।
मात्र घमण्डी मोटे कथा तृप्त भएन। उसले कहिल्यै बुझेन कि मेहनती कथाले कति दुःख गरेको छ, ती शब्दहरू जोगाउन कति पटक रातभरि नसुती पहरेदार भएर कथा उभिएको छ? मेहनतले फलाएर कति जनाको हृदयमा गाँठो परेका दुखहरु फूस्काउने कोसिस गरेको छ? हृदय शीतल बनाउने कुरा सबै गञ्जागोल फुकाउनै नसक्ने हुनुपर्छ र? सामान्य कुरा सुन्दर हुँदैनन्?
जति देखिन्छ, त्यति लेखिन्छ। जति भोगिन्छ, त्यति बुझिन्छ। अरूको हृदय छुन, आफ्नो हृदय कमलो बनाउनुपर्दैन? हातमा काँडा लिएर अरूलाई घोच्न खोज्दा सुरुमा आफ्नै हत्केलामा बिझ्न सक्छ। सतर्क हुन जरुरी छ। यो सामान्य कुरा कथाले कहिले बुझ्ला?
मलाई त्यही साहित्य नगरीकै एउटा ख्याउटे कथाले सुनाएको कहानी याद आयो। जुन म यहाँ सुनाउँछु। नगरीमा केही वर्ष अघि, एक दिन चिया कमानकी ठूलीदिदी रुँदै आएकी थिइन् रे। हातमा मोटो बोरा बोकेर आफ्नो कथा सुनाउन एकदिन त्यही मोटे कथाकोमा आएकी थिइन् रे। दिदिले, कलमसँग मिलेर आफ्नो कुरा लेखिदिन भनिछिन्। घमण्डी कथाले रिसाउँदै कथा लेख्ने हो भने स्वर्गबाट दुई थोपा अमृत ल्याउन आदेश दिएछ।
बिचरी ठूलीदिदी आफ्नो कथा बोकेर सबैलाई सुनाउने आशमा अझै पनि स्वर्ग खोज्दै भड्किराखेकी छिन् रे। त्यो ढाडिएको कथाचाहिं, आफ्नो शब्दको भारी, अलङ्कारको राजगद्दीमा विराजमान हुनुपर्छ भन्दै आन्दोलनमा छ रे।
शब्दको ठाऊँखोज्ने दिदीले मनको कारागारमा कति वर्ष काट्लिन् अब? कसले सुन्ने र लेख्ने उनको कथा, जब जान्नेहरू सरलतासँग दूरी बढाउँछन्?
जान्ने कथा शब्द बटार्छ, त्यसलाई निमोठ्छ, किल्किलेमा फाँसी लगाउँलाझैं गर्छ। च्यातिन्छ, छुट्टिन्छ तर उसलाई थाहा छैन, छुट्टिनु भनेको, छुट्टै हुनु होइन। बटारिनु, बदलिनु होइन। रिसाउनुले हृदय छुँदैन।
नगरीमा, यसरी नै दिनहरू बित्दै गएछन्। मोटे कथाले दिनदिनै अरू कथा र कवितालाई झिनो, सामान्य ठानेर आफ्ना शब्दहरू आधुनिक र कृत्रिम बनाउन लागेछ। फल्दै नफल्ने जड् रूखमा बिरालो फलाउन लागेछ। सङ्लो, बग्ने नदीमा मान्छे पोल्न थालेछ। मान्छे पोलिएर आएको खरानी घस्दै आफैँलाई धर्मात्मा पनि भन्न थालेछ।
रू कथाहरू आफ्नै सुरमा शब्दको खेतीमा ध्यान लगाउँदै, बढ्दै, हातेमालो गरेर शब्दमालाको इन्द्रेणी बनाउन तयार गर्न लागेछन्।ठालु कथा भने इन्द्रेणीको रङमै खोट देखाएर छुट्टै गाउँमा बसाइ सर्ने भएछ।
इन्द्रेणी बनाउन सात ओटै रङ चाहिन्छ भन्ने बिर्सिएपछि कसको के लाग्छ? आफूलाई डायबिटिज भएपछि चिनी खानै बेकार हो भनेपछि कसलाई पो पत्याउनु? हगि?
समय बित्दै जाँदा, ठालु कथाका शब्दहरू, एकआपसमा ठोक्किन लागेछन्, बाझ्न लागेछन्। एक,आपसमै युद्ध हुँदा रूखमा फलेका घिनलाग्दा ति बिरालाहरु कथा, स्वयमलाई लुछ्न तम्तयार भएछन्। कथाले दम्भले गुहार माग्नपनि सकेनछ। कथाको आकाश फराकिलो हुँदा हुँदैपनि कालो बादल मडारिएको जस्तो भएछ।
कथाका शब्दहरू अलङ्कारिक भए पनि जिद्दी र आक्रोशले भरिपूर्ण भएकाले छिमेकीको, हृदयको नजिक नभई टाढा टाढा उड्न थालेछन्। लास जलेको गन्धले अरू कथाहरू पनि बिरामी भएछन्। हावा पनि शङ्कै-शङ्काले भरिएछ। उफ्!!
संसार प्रेमले जितिन्छ, आक्रोश र खोक्रो अलङ्कारले होइन।जित्नु नै छैन भनेपनि संसार फेरि प्रेमले नै हारिन्छ। हार्ने कि जित्ने?
एकदिन म त्यस कथाबाट दिक्क भएर हक्सबरी रिभरतिर टहलिदै थिएँ। नजिकैबाट, मान्छे पोलिएको गन्ध आयो। नजिकै गएर हेरेँ, जताततै, मानव औँलाहरू छरिएका थिए। कुहिएका अण्डकोषहरूमा बिरालाहरू पार्टी गर्दै थिए। मैले मासु नखाएको वर्षौँ भइसकेको भएपनि, त्यो सबै देख्दा मलाई पनि औँलाहरू चाट्न मन लाग्यो। टोक्न मन लाग्यो। टोकें।
टोक्दै, यसै हेर्दै थिएँ, तिनै दुखी ठूलीदिदी, अझै आफ्नो कथा लेख्ने मान्छे नभेटेर नगरीमा बसेर रुँदै थिइन्। नरुनुस् भन्ने मेरो औकात पनि थिएन। उनैको छेउमा, एउटा आधा मानव आधा दानव जस्तो देखिने प्राणी जोडजोडले हाँस्दै थियो। एउटा रूँदा, अर्को किन हाँसेको होला? खै!
एक्कासि ती “स्टुपिड डेड” औँलाहरू उठेर नाच्न पो लागे। बुरुक् बुरुक् बुर्कुसी मार्न लागे। अहिले त मेरो जिउभरिपो सल्बलाउँदै छन्, सलह झैँ।मेरो ढाडमा चढेर मसाज गर्दै थन्।ती सलहहरुको रगत मेरो पिट्ठ्युभरि बगिरहेको छ। घोप्टिएर तल हेरेँ, त्यही ठालु कथालाई साना साना नेप्टे, चेप्टे, नराम्रा, कमजोर कथाहरूले काँधमा बोकेर ठूला डाक्टर कहाँ औषधि उपचार गर्न पो लाँदै थिए। लौ, यो के भयो?
सायद ठालु कथा बिरामी भएको थियो। डाक्टर कहाँ होलान्? सायद पाठकहरूको हृदयमा पो छन् कि? म भन्न सक्दिन! म सोच्नपनि सक्दिन।
त्यसैले, म हक्सबरी रिभरको बगरै बगर आफ्नो कथा गोजीमा राखेर सरासर बाटो लाग्छु।
यो बिराट साहित्य नगरीमा, साना ठूला कथाहरू पनि चुपचाप आफ्नै तालमा हिँडिरहन्छन्!!!!!
०००
कथाकार परिचयः कथाकार ऋचा गौतम विराटनगरमा जन्मिएकी हुन् र हाल सिड्नी अष्ट्रेलियामा बसोवास गर्छिन् । उनी कविता, कथा र विविध रचनाहरू लेख्न तुचाउँछिन् र विभिन्न पत्रिकाहरूमा प्रकाशित भएका छन् ।
