४ पुस २०८२, काठमाडौं
बाह्रखरी मिडियाले बर्षेनी गर्दै आइरहेको “डिशहोम बाह्रखरी कथा प्रतियोगिता”का उत्कृष्ट २५ कथा र कथाकारको नाम सार्वजनिक गरेको छ ।
यस अघि बाह्रखरी मिडियाको आन्तरिक मूल्याङ्कनबाट हजार बढी कथा मध्येबाट ५९ कथा छनौट गरेको थियो । साहित्यकार अशेष मल्ल संयोजक रहेको कथाकारद्वय मञ्जु काँचुली र अभय श्रेष्ठ सम्मिलित बाह्य मूल्याङ्कन समितिले २५ कथाहरू छनौट गरेको हो । यही २५ कथा भित्र प्रथम, द्वित्तिय र तृतीय तीन कथा छनौट भएका छन् जुन आगामि पुस १० गते एक समारोहका बीच पुरस्कृत गरिनेछन् । सुरुमा १ लाख प्रथम पुरस्कार रहेको यो प्रतियोगिताको पुरस्कार रकम यस बर्षदेखि २ लाख भएको छ भने दोश्रोले एक लाख तथा तेश्रोले ६० हजार नगद राशी प्राप्त गर्नेछन् र बाँकी उत्कृष्ट २२ कथाका कथाकारलाई जनही ७ हजार प्रदान गरिनेछ ।
उत्कृष्ट २५ कथाकारहरूमा चेतनाथ आचार्य, उमेश श्रेष्ठ, शेखर दहित, शिवराज शाही, कृष्णराज सर्वहारी, ऋतेश गुरुङ, प्रज्ञा निरौला, सीता पाण्डे, भोगेन्द्र लिङ्देन, हरिबोल काफ्ले, वसन्तबायुङ राई (नाम्दोचा), लक्ष्मण सिटौला, इन्द्रप्रसाद गोतामे (जगतजङ्ग), जमुना भट्टराई, अनिता पन्थी, अविनाश भट्टराई, मन्दिरा मधुश्री, अमित घिमिरे, टीकाराम पोखरेल, उमा शर्मा, अनिता कोइराला, विष्णु एस राई, दामोदर ढुङ्गेल, प्रकाशकुमार शर्मा र डा. हिमलाल श्रेष्ठ रहेका छन् ।
पुरस्कार वितरण समारोहमै पहिलो, दोश्रो र तेश्रो घोषणा गर्ने परिएको छ ।
छनौटमा परेका यी उत्कृष्ट २५ कथाहरूको सङ्कलन समेत सोही समारोहमा विमोचन हुनेछ । पछिल्ला बर्षहरूदेखि नेपालको नीजि क्षेत्रको अग्रणी प्रकाशक फाइन प्रिण्टले सो सङ्कलन प्रकाशित गर्दै आएको छ ।
000
