कृष्णचन्द्रसिंह प्रधान शतबार्षिकी विशेष बाह्र

गद्य विविध

कृष्णचन्द्र दाइसँग भेट नहुने भोलि

श्रीओम श्रेष्ठ ‘रोदन’, काठमाडौं

वि.सं.२०६७ असार १७ गतेको त्यो साँझ धेरै लेखकहरु एउटै जमघटमा थियौं । अमेरिकामा बसिरहनु भएका साहित्यकार राजव दाइकी छोरीको बिहेको निम्तो मानिरेहका थियौं । पचासौं जना साहित्यकारहरु स–साना समूहमा जमिरहेका थिए । रचनाका रोचक घिमिरे, अभिव्यक्तिका नगेन्द्रराज शर्मा, कवि श्यामलसँगै थिएँ म ।
साँझको सात नबजिसकेको समय मोबाइलको घण्टी बज्यो, उठाएँ ।
डा.पुस्तुन प्रधानले भक्कानिएको स्वरमा भन्नुभयो ‘भर्खरै बा खस्नुभो ।’
नेपाली साहित्यका महान् व्यक्तित्व कृष्णचन्द्रसिंह प्रधानको आकस्मिक निधनको खबरले हजारौँ भोल्टको करेन्ट लागेजस्तो भयो मलाई । आत्मपरक निबन्धका एउटा शिखर गर्ल्याम्म ढलेको जस्तो लाग्यो । नेपाली समालोचनाको निष्पक्ष समालोचकको अभाव भएजस्तो लाग्यो मलाई । म बसिरहेको ठाउँबाट जुरुक्क उठेँ । भीड र हल्ला नभएको ठाउँतिर गएँ । पुस्तुनजीसँग फेरि सोधेँ ‘के भन्नुभएको तपाईंले ?’
उहाँ भक्कानिएर बोल्न सक्नुभएन । त्यसपछि ‘म सुप्रदचन्द बोलेको’ अर्को आवाज सुनियो ।
उहाँबाट कृष्णचन्द्र दाइको निधन भएको थाहा पाएँ । सुप्रदजी, साहित्यकार हृदयचन्द्रसिंह प्रधानको छोरा अर्थात् कृष्णचन्द्रसिंह प्रधानको भतिजा । उहाँसँग पनि राम्रै सम्बन्ध छ मेरो । प्रेस चौतारी नेपालले वि.सं. २०५९ मा हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार स्थापना गरेपछि उहाँलाई भेट्न घर पुगेका थियौं हामी । त्यसपछि निरन्तर सम्पर्कमा छौँ ।
नेपाली साहित्यको एउटा बलियो कालखण्ड हुनुहुन्थ्यो कृष्णचन्द्रसिंह प्रधान । उहाँका निबन्ध र समालोचनाले साहित्यको इतिहासमा विशेष अर्थ र औचित्य राखेको थियो । हुनसम्मको घाटा हुन्छ अब यी दुवै विधालाई । यो रिक्तता अब कसरी पूरा होला ? साहित्यको यो क्षति राष्ट्रकै क्षति हो । राष्ट्रले यसरी सोच्ला, नसोच्ला त्यो भिन्दै कुरो हो ।


त्यही दिन बिहान साहित्यकार प्रकाश सायमीसँग फोनमा कुरा भएको थियो ।
‘तपाईँलाई कृष्णचन्द्र दाइले सम्झिरहनुभएको छ ।’ उहाँको सन्देश सुनाउनुभएको थियो मलाई ।
‘म भोलि भेट्न जाँदैछु उहाँसँग ।’ सजिलै भनेको थिएँ मैले ।
तर त्यो भोलि कहिले नआउने भोलि बन्यो । के थाहा ? उहाँले सम्झनु र म तत्काल पुग्न नसक्नुको परिणाम यति भयावह होला भन्ने के थाहा ? नभेटिनु लेखिएको रहेछ अन्तिम क्षणमा । चित्त यसरी त हो बुझाउने ।
उहाँलाई म अभिभावक जस्तै मान्दथें श्रद्धाले । त्यही कारण उहाँको घरमा प्रायः गइरहन्थें । प्रत्येकपटक जाँदा उहाँसँग दुई तीन घण्टा बितेको थाहा हुन्थेन । उहाँ मार्फत् नेपाली साहित्यका पुराना सन्दर्भहरु थाहाँ पाउँथे । उहाँका बारेमा समकालीन लेखन र लेखकको बारेमा थाहा पाउँथे ।
मधुपर्कको निबन्ध अङ्कको लागि निबन्ध लिन, अन्तर्वार्ता लिन, पत्रिका पु-याउन पनि उहाँको घर गइरहन्थे । सारांश पत्रिकाको लागि भीष्म उप्रेती र मदन राई लामाखुलेलाई लिएर अन्तर्वार्ता लिन हामी तीनपटकसम्म पुगेका थियौँ । त्यसबेला मेरो रेकर्डरले दुईपटक धोका दिएको थियो । पन्ध्र पृष्ठको सो अन्तर्वार्ता विनाभूमिका र विनाफोटो छापिएको छ सारांश पत्रिकामा । आफूले निबन्धका विषयमा बोल्नु भएका कुरा हेर्न पाउनुभएन उहाँले ।
यही पत्रिका उहाँलाई दिन जाने भनेको थिएँ भोलि जान्छु भनेर ।
कृष्णचन्द्रसिंह प्रधान आत्मपरक निबन्धमा सगरमाथाजस्तै अग्लो हुनुहुन्थ्यो । उहाँले उठाउने निबन्धको विषय र कलात्मक शैली लोभलाग्दो हुन्थ्यो । जीवनका विविध परिवेशलाई सूक्ष्म ढङ्गले केलाउन सक्नुहुन्थ्यो । बौद्धिक वस्तुपरक, कवितात्मक, द्वन्द्वात्मक जीवनमूलक अभिव्यक्ति र प्रयोग उहाँका निबन्धका मूल विशेषता हुन् ।
वि.सं.२०५८ भदौ अङ्कको लागि मधुपर्कमा उहाँको अन्तर्वार्ता गरेको थिएँ मैले । त्यसमा नेपाली निबन्धका बारेमा निकै गहन उत्तर दिनुभएको थियो । त्यसमा एउटा प्रश्न सोधेको थिएँ ।
“निबन्ध रोचक र पठनीय हुन के कस्ता तत्वहरु आवश्यक हुन्छन् ?”
उत्तर यसरी दिनुभएको थियो, ‘निबन्ध साँच्चै नै अरोचक, अपठनीय साहित्य होइन । त्यसो भन्दैमा कथा, उपन्यासजस्तो आख्यान आनन्द दिने, रम्य, मनोरन्जनात्मक पनि हुँदैन । जसलाई निबन्ध भन्छौँ, यसको सम्बन्ध व्यक्तिगत जीवनसित हुन्छ । आफ्नैसित सम्बन्धित भएकोले यसको सरोकारको विषय पनि व्यक्ति आफैं हो । आफ्नो भोगाइ, अनुभवहरु, विगत, वर्तमान, अनागत वारेका रोचक वृत्तान्त । यसमा अरुलाई पनि सहभागी गराएर एकआपसका सुख, दुःखमा बाँधिन्छौँ । हर्ष विस्मातमा आलोकित हुन्छौँ । त्यसकारण आफूसितको कुराकानी लाग्ने निबन्ध स्वगत शैलीका अनुभवहरुको दर्शन हो ।
यो मबाट शुरु हुन्छ, मैमा हुर्किन्छ र यो म सबैमा बिम्बित भई रुपान्तरित हुन्छ –अरु आफूमा, आफू अरुमा ।
रोचक हुनका लागि आवश्यक छ सहज, सहज बोलचालको भाषा, फुँदा हाल्ने जादू, वार्तालापीय शैली, कवितात्मक लालित्य, भावनात्मक संवेदनशीलता, कोमलकोमल अर्थपूर्ण उक्तिहरु र सम्पूर्णमा नौलो कथ्यको आभाष र सिर्जनात्मक आनन्द । पठनीय हुनु भनेको नवीनताको आस्वादन पनि हो । दैनन्दिनको जीवनमा देख्ने सुन्ने गरेको सामाजिक, भाषागत ग्रामीण सौन्दर्य र तिनको पनि सटिक, विनोदपूर्ण, व्यङ्ग्यार्थक प्रयोगले दिने सुखानुभूतिमा पनि निबन्ध रोचक र पठनीय हुन्छ ।’
उहाँले धेरैपटक सार्वजनिक पदमा जिम्मेवारी निर्वाह गर्नुभयो तर कहिले पनि विवादमा पर्नु भएन । दुईपटक प्रज्ञा प्रतिष्ठानको सदस्य हुनुभयो । १४ वर्ष साझा प्रकाशनको महाप्रबन्धक बन्नुभो । शिक्षक बन्नुभो । सन्देशगृह दर्ता गराउनुभो । पुस्तकालयको अभियान गर्नुभो । विद्रोही बन्नुभो । धेरै बन्नुभो र अरुलाई पनि बनाउनुभो । तर कहिले सत्ता र नेतासँग नजिकिनु भएन । सदाबहार प्रतिपक्षी स्वभावको बन्नुभो । पञ्चायत कालमा गो.द.वा.समेत लिन मान्नुभएन । पछि वाध्यतापूर्वक स्वीकार्नुभयो तर राजाको हातबाट लिनुभएन ।
वि.सं १९८२ साउन ११ गते काठमाडौँमा उहाँको जन्म भएको थियो । ८५ वर्षको उमेरमा वि.सं.२०६७ असार १७ गते उहाँले यस धर्तीलाई छोड्नुभयो ।
उहाँको जङ्कु अर्थात् बूढोपास्नीको भव्य रुपमा भएको थियो । नेवारी सम्प्रदायमा ७७ वर्ष ७ महिना ७ दिन ७ घण्टा ७ मिनेट र ७ सेकेण्डको साइत पारेर भीम रथारोहण गर्ने गरिन्छ । त्यो उहाँको निवास ताहाचलमा मञ्च बनाएर भव्य कार्यक्रम गरिएको थियो । कार्यक्रम र रात्रिभोजमा साहित्यकारहरुको ठूलो भीड थियो । कार्यक्रमको सञ्चालन मैले गरेको थिएँ । प्रमुख अतिथि कविवर माधव घिमिरे हुनुहुन्थ्यो । त्यही कार्यक्रममा कविवरले कृष्णचन्द्र दाइलाई अँगालो हालेको फोटो कान्तिपुर दैनिकको पहिलो पृष्ठको पहिलो फोटो बनाएर छापिएको थियो । अखवारले साहित्यकारहरुलाई त्यति महत्व दिएर छापिएको त्यो नै पहिलो पटक भनिएको थियो ।
कृष्णचन्द्र दाइको भीमरथारोहण सांस्कृतिक रुपमा भन्दा साहित्यिक रुपमा भव्य भएको थियो । त्यसबारेमा छलफल गर्नका लागि म धेरै पटक उहाँको घरमा पुगेको थिएँ । अमेरिकामा उहाँलाई सम्मान गरिने कार्यक्रमको लागि भीसा लिने प्रकृयाका लागि धेरै ठाउँमा हामी सँगै गएका थियौँ । मेरो मोटरसाइकलमा बसेर उहाँका केही निजी र धेरै साहित्यिक कार्यक्रममा सहभागी हुने सौभाग्य पाएको थिएँ ।
कृष्णचन्द्र दाइ महाप्रस्थान हुनुभएको खबर पाएको समयमा बिहेभोजको रमझम चलिरहेको थियो । पुस्तुनजीले अरुलाई पनि खबर गरिदिनु भन्नु भएको थियो । रमझमको माहोलमा दुःखद समाचार सुनाउनु सजिलो थिएन तर पनि सबैलाई सुनाइदिएँ । अरु साहित्यकार, पत्रकारहरुलाई पनि खबर गरिदिएँ । आर्यघाटमा भने हरि अधिकारी दाइ र म सँगै गएका थियौँ ।
कृष्णचन्द्र दाइलाई ब्रम्हनालमा राखिएको थियो । ८५ वर्षसम्मको व्यस्तताको थकाइ मारेजस्तै गरेर । उहाँलाई बिहान ज्वरो आएको रहेछ । त्यही बेलामा बान्ता पनि भएको रहेछ । दिउँसो निकै गाह्रो भएपछि अस्पताल जानलाई आफैंले लुगा लगाउनु भएको रहेछ । शर्ट लगाइसकेपछि पाइन्ट लगाइरहँदा उहाँ ढल्नुभएको रहेछ । त्यसपछि नै कहिले नउठ्ने गरी सदाका लागि विदा लिनुभएको रहेछ आफ्नै घरमा ।
रातको ११ बजिसकेको थियो । छोरा पुस्तुनले अन्तिम पटक बाबुको गोडामा ढोगेर मुखमा आगो लगाउनु भयो । केहीबेरमा नै नेपाली साहित्यको एउटा महान् स्तम्भ, एउटा कालखण्ड आगोमा दनदनी जलिरहेको थियो । हामी वरपर बसेर मात्र हेरिरहेका थियौँ टुलुटुलु ।
मलाई भने नेपाली निबन्धको अविभावक हराउँदै गइरहेको जस्तो लागिरहेको थियो । न बोल्न केही सकिरहेको थिएँ । न भारी भएको मनलाई कतै बिसाउन नै सकिरहेको थिएँ । जलिरहेको उहाँको शवको उज्यालो भने टाढाटाढासम्म फैलिइरहेको थियो । त्यहीँबाट निस्किरहेको धूवाँ भने नदेखिने गरी माथिमाथि गइरहेको थियो । नेपाली निबन्धको अग्लो स्तम्भलाई पशुपतिको आर्यघाटमा अन्तिम पटक अभिवादन गरेर घर फर्किएको थिएँ आधा रातमा ।

०००