काव्यको टुसो पलाउँदै जावोस झाँगिदै जावोस्

पुस्तक समीक्षा

डा. गोविन्द रावत, टोरन्टो

क्यानाडामा नेपाली भाषासाहित्य र संस्कृतिप्रतिको जागरण १९९१ देखि शुरु भएको देखिन्छ । त्यस्तै सन् १९९३ बाट शुरु भएको पत्रिका प्रकाशन लाली गुराँसको दुई अङ्कपछि दियालोबाट निरन्तरता पाउँदै गयो । दियालोको प्रकाशनसंगै क्यानाडामा साहित्यिक गतिविध शुरु हुन्छ । यसको सम्पूर्ण श्रेय किरण ढुङ्गालालाई जान्छ । उनको प्रयासबाट शुरु भएको नेपाली संस्था र पत्रिकाको प्रकाशनपछि कविताले पनि प्रकाशनको उज्यालो देख्ने मौका पाउन थाल्छ । दियालोका पुराना अङ्क पल्ट्याएर हेर्दा क्यानाडामा नेपालीले लेखेकोको पहिलो कविता दियालोको दोस्रो अङ्क (१९९३) मा मोन्ट्रियलका उही शसु (शरद सुब्बा) को “टुक्रहरु विवशताको” साना कविताहरु प्रकाशित भएको पाइन्छ । यहीबाट क्यानडियाली नेपाली कविता यात्रा शुरु गर्न सकिन्छ । त्यसपछि विभिन्न समयमा विभिन्न संघसंस्थाहरुबाट प्रकाशित पत्र–पत्रिकामा कविहरुका कविता देखिन थाल्यो । विद्युतीय पत्रकारिताको थालनीसँगै क्यानडामा बस्ने कवि मन भएका नेपालीहरुका कविताले पनि स्थान पाउँदै जान थल्यो । यहाँबाट प्रकाशित पहिलो कविता संग्रहका रुपमा सन् २००२ मा कविता र नियात्रालाई संयुक्त रुपमा मानकाजी श्रेष्ठ ‘जेना’ को ‘चीनको डुलाई क्यानडाको बसाई’ लाई लिन सकिन्छ । त्यसपछि आजको मितिसम्म चौंधवटा जति काव्य (कविता,बालगीत, गजल) पद्य संग्रहहरु प्रकाशित भएको देखिन्छ । यसमा केही कृति छुटेका पनि हुन सक्छन् ।

सन् २००४ मा स्थापना भएको ‘नेपाली साहित्य समाज’ टोरन्टोको स्थापनापछि विशाल टोरान्टोका कविहरुले कविता सुनाउने चौतारी पाउन थाले । विभिन्न साहित्यिक कार्यक्रमबाहेक नेपाली साहित्य समाजमा आवध्द भएका सदस्यहरुले महिना–दुई महिनामा सदस्यको घरमा काव्य गोष्ठीको आयोजना गर्ने परम्परा नै शुरु गरेको थियो । मैले राधिकालाई समाजकै वसन्त पञ्चमीको काव्य गोष्ठीमा भेटेपछि वहाँ दिलोज्यानले साहित्य कर्ममा लाग्दै आउनु भएको देखेको छु । वहाँले आफ्नो निवासमा कोठेगोष्ठीको आयोजना पनि गर्नु भएको सम्झना छ । विभिन्न समयमा वहाँबाट रचित काव्य रचनाहरु पढ्ने–सुन्ने मौका पनि पाउँदै आएको छु । अहिले उनै राधिकाको पहिलो काव्य कृति ‘अङ्कुर’ प्रकाशित भएको छ ।  यो क्यानडाबाट प्रकाशित भएको पन्ध्रौं काव्य कृति हो ।

कविताको आफ्नो बेग्लै शक्ति हुन्छ । जसलाई ठुला ठुला शासकले पनि पराजित गर्न सक्दैनन् । क्रान्ति बिना शान्ति छैन भनेर कविता लेख्ने युग कवि सिद्धिचरण श्रेष्ठलाई राणाहरुले जेलमा कोचि दिएका थिए । वि.सं.२०४६ सालको जन आन्दोलन शुरु गर्ने क्रममा हामीले पञ्चायती व्यवस्थाका विरुद्ध ‘वसन्तको खोजी’ कविता संकलन प्रकाशित गरेका थियौं । प्रकाशनको केही समयपछि नै यो संग्रह जफत गरियो र यसमा समावेश भएका कविहरुको नाममा पूर्जी पनि काटियो । तर मेरो हातमा थुनापूर्जी पाएको केही दिनपछि देशले प्रजातन्त्र पाइसकेको थियो ।

कविता के हो ? मैले बुझे अनुसार एकजना कविको सिर्जना हो कविता । कविको अभिव्यक्तिले प्रसव पीडा पाएपछि शाब्दिक रुपमा जन्मने प्रस्तुति हो कविता । छोटो शब्दहरुको प्रयोगबाट विस्तृतताको वर्णन गर्न सक्ने क्षमता रहेकोले साहित्यका अन्य विधाको तुलनामा बढी लोकप्रिय र धेरै लेखिने विधा हो कविता । बुझ्नेहरुका लागि यो अमृत हो भने नबुझ्नेहरुका लागि अक्षरहरुले भरिएको अर्थ खोलाउन नसकेको शब्दको समूहमात्र हो कविता ।  यही कविता विधालाई मनपराएर निरन्तर सिर्जना गर्दै आएकी राधिकाले साहित्यको पहिलो सन्तान  ‘अङ्कुर’ जन्माउनु भएको छ । । उनलाई  पहिलो कविता संग्रह प्रकाशनको हार्दिक बधाई तथा शुभकामना । यस संग्रहमा राखिएका ५७ वटा सानाठूला कविता पढेपछि उनमा रहेको काव्यगुण थाहा पाउन सजिलो भयो । त्यसैका आधारमा उनको काव्य सिर्जना प्रवृति केलाउने प्रयास गरेको छु ।

केही शब्द खर्चेर भन्ने हो भने राधिकाका कवितामा विशेष रूपमा महिला अनुभूति, आप्रवासको मनोवैज्ञानिक द्वन्द्व, प्रेमको उत्तरदायित्व, आमाबुवाप्रतिको आस्था र कर्तव्यनिष्ठा,  सामाजिक संवेदनशीलता आदि विषयवस्तु समेटिएको पाएँ । उनले आफ्ना अभिव्यक्तिहरुमा लैङ्गिक उत्पीडन र सांस्कृतिक रूढीहरू उजागर गरेकी छन् ।  यही काव्यात्मक वैशिष्ट्यता उनको प्रस्तुत संग्रहमा पनि रहेको छ ।  संग्रहमा समेटिएका काव्यहरुले मूख्य रुपमा तीनवटा भावहरु मुखारित गरेको पाइन्छ – महिलाका विभिन्न स्वरुपको बयान,  राष्ट्रिय भावहरु, मुलुकको बाध्यात्मक पलायन विवशता र परिस्थिति तथा बढ्दै गएको वितृष्णता र पारीवारिक  सम्बन्धको प्रेमाभिव्यक्तहरु । यसकै आधारमा संग्रहमा सांस्कृतिक चेतना, आप्रवासी जीवन पद्धतिका अभिव्यक्तीहरु,  प्रेमप्रतिको स्वच्छन्द विचार, प्रकृति प्रेम, आप्रवासको यात्रिक जीवनशैलिसँगै मातृभूमीमा बिताएका अतीतको पुनरावृति र बितेका दिनहरुको मीठो सम्झनालाई कवितामा बिसाएकी छन् । यस संग्रहका प्रत्येक कविताले महिला भावनालाई मुखारित गर्न खोजेको छ । महिलाको आफ्ना आमा–बुबा, दिदी–बहिनी, दाजु–भाइ, साथीभाइ, जन्मेर हुर्केको गाउँठाउँ, पढेको विद्यालय, र काम गरेको स्थानप्रति हुने भावनात्मक तिर्सना वा मीठो–दुःखमिश्रित सम्झनालाई शब्दमा कोरेर संग्रहमा पोखेकी छन् । पूर्वस्मृतिमा कतै मातृवात्सल्य छचल्किरहेका छ भने कतै पितृ कर्तव्यबोध सम्झेर परेली रुझाएकी छिन् । आफ्नो विगतका विभिन्न सम्झना र  सम्बन्धहरुको भावनात्मक तिर्सनालाई  हल्का पीडामिश्रित अनुभूतिका शब्दबाट यहाँ मुखरित भएका छन् । कविताका माध्यमबाट राधाले प्रेमका विभिन्न स्वरुपमाथि शब्दबाण छोड्दै शहरको कृतिम र गाँउको स्वच्छ प्रेमको वकालत पनि गर्न भ्याएकी छन् ।

किनुन् चकलेट, बाँडुन स्वाद मुख सराउने गरी

घरको पुष्टकरी कुहाउनेहरुले

जारमा रङ्गीन प्लाष्टिकले छोपिएका

चकलेटहरु नछरुन् बाटोभरी

 

त्यस्तै प्रेमानन्दमा रुझेपछि लेख्छिन्;

मौका हेरी सीमारेखा मिचाउनुको मजा बेग्लै

विगतका सुखद क्षणहरूको सम्बन्धको सम्झना गर्दै लेख्छिन्;

कहिले सपनाले लठ्याउँछ, कहिले विपनाले झस्काउँछ

एउटी महिला भएपछि संघर्षका पर्खाल नाघ्दै जीवन भोग्नु पर्ने परिस्थिति देखाउँदै महिला सशक्तिकरणको वकालात गदै लेख्छिन;

हिमाल चढ्नु, तराई जोत्नु, पहाड खन्नु

उनका धेरै कवितामा नस्टाल्जिया झल्किएको देखिन्छ । त्यसैले उनी कहिले स्वदेशको चोखो जागिरमा रमाएको क्षण सम्झन्छिन् त कहिले विदेशमा आएर एक्लोपनले थिच्न र चिथोर्न आएको अनुभव सुनाउँदै मनका चाहनाको पछि लागेर आशाको पालुवाहरुले नौलो मार्ग पहिल्याउने विश्वासमा आशावादी स्वर देखाएकी छन् । राधाले राधालाई नै कवितामा धेरैपटक सम्बोधन गरेर प्रेमिल विचार अभिव्यक्त गरेकी छन् । उनले समाजमा समानता र विश्ववन्धुत्वको स्वर गुञ्जायमान गराउन सबैमा प्रेमोभाव हुनु पर्ने कुरामा जोड दिएको देखिन्छ । धेरै कविताले  सद्भाव र सम्बन्धको अङ्कगणि मिलाउन खोजेको देखिन्छ ।

सन्ताउन्न विभिन्न भावमा मुखारित भएका राधाका कवितामा आशावादी जीवन दृष्टीकोणसँगै मानवीय जीवनमा देखापरेका अस्तित्व र आत्मपहिचानको युगबोधका सुस्केराहरु पाइन्छ । राष्ट्रप्रेममा  जन्मभूमि, कर्मभूमिका साथै प्रेमका मानवीय भावहरु पाइन्छ । यसका अतिरिक्त यस संग्रहमा सङ्कलित कवितामा नारी पीडा, आमाको ममता, नारी शोषणसँगै नारीप्रतिको स्वछन्दवादी धारणाहरु, नारीको उत्तरदायित्वबोधमा प्रेम र घृणाको स्वर सुनिन्छ । त्यस्तै यस संग्रहमा सङ्कलित साना–माझौला र ठूला कवितामा सुखद र आनन्दायी वातावरणको चित्रण, युगीन विविध यथार्थताको प्रकटीकरण, विदेशिनु मानसिकताको चित्रण पाइन्छ । त्यस्तै प्रकृति प्रेमका भावहरुमा मुखारित भएका छन् । कविताले अभिव्यक्त गरिएका काव्यात्मक भावहरुमा विदशी भूमीका पीडाहरुको अनुभूतिका सुस्केराहरु र यथार्थतामा  आफुले देखेका भोगेका र अनुभव गरेका विचारहरुले यहाँ काव्यात्मक अभिव्यक्तीका रुपमा प्रतिनिधित्व गरेको छ । यसका अतिरिक्त भाषा साहित्यप्रतिको आस्था र सांस्कृतिक चेतनाहरु प्रतिविम्वित भएका छन् । यसमा  महिलाका विभिन्न रुप र अवस्थालाई माध्यम बनाएर  महिला शक्ति हो वा शौकको माध्यम, महिला ममता हो वा माया गर्ने वस्तु, महिलाको जननीबाट  जन उपभोगको माध्यम आदि विभिन्न रुप–स्वरुपको अभिव्यक्ति यस संग्रहमा अभिव्यक्त भएका छन् । देश र आप्रवासी परिवेशलाई विषयवस्तु बनाएर त्यसमा आफुलाई आरोपित गर्दै लेखिएका प्रत्येक कविताले नयाँ भाव प्रष्फुटित गरेको छ । उनलाई  निरन्तर साहित्य कर्मको शुभकामना ।

 

०००