देश

कविता

वसन्त श्रेष्ठ

 

सगरमाथालाई छोएर हातले बिपना साटिरहेछौं

शुख, शान्ति र समृध्दिको रहरमा आफैलाई हराईरहेछौं

 

प्रजातन्त्रको नाममा बिश्वास गुमाईरहेछौ

स्वाधिनताको नाममा देश गुमाईरहेछौं

देश राष्ट्रियताको नाम एक हो

देश अखण्डताको अर्को नाम हो

पाईला पाईलामा हुन्छ देश

माटो माटोमा भिजेको हुन्छ

भावना भावनामा रुझेको हुन्छ देश ।

 

सगरमाथालाई छोएर हातले बिपना साटीरहेछौं

शुख, शान्ति र समृध्दिको रहरमा आफैलाई हराईरहेछौँ ।

 

साम्राज्यबादको कडा मुकाबिला गर्ने देश

स्वाधिनताको नाममा किल्ला

कांगडा र नालापानीको युध्द लड्ने योद्धाको देश

खै म कसरी भनु देश चुपचाप सुतेको छ भनेर

खै म कसरी मानु मेरो देशको बिकास अबरुध्द छ भनेर

 

हामी त अझै ईतिहास बोकेर देश चिन्दैछौँ

हामी त अझै भूगोल देखाएर देश फेला पार्दैछौं

हामी त अतीत हेरेर बर्तमानमा लडाईं लड्दैछौं

त्यसैले मलाई कहिलेकाहीं

मेरो देश हराएको भान हुन्छ ।

 

सगरमाथालाई छोएर हातले बिपना साटीरहेछौं

सुख, शान्ति र समृध्दिको रहरमा आफैलाई हराईरहेछौं ।

 

देश राष्ट्रियताको एक नाम हो

देश अखण्डताको अर्को नाम हो

कुनै भूगोल भित्र मात्र कैद छैन देश

कुनै ईतिहास भित्र मात्र सिमित छैन देश

स्वतन्त्र र सार्बभौम छ  देश

देश जहाँ पनि छ

यहाँ पनि हामीसंग देश छ ।

 

(कवि आफैंले रोजेर मन पराएको कवितासङ्गै कविताको पृष्ठभूमि र कबिताको भावभूमि कविकै तर्फबाट प्रस्तुत छ -सम्पादक)

 

मलाई मन परेको कविता “देश”

 

मेरो कविता “देश” मैले आफु प्रवासिएपछि लेखेको पहिलो कविता हो । व्यक्ति प्रवासिएपछी बिछोडको पीडा, बेदना र स्मृतिका अनगिन्ती शृङ्खलाले कोक्याएपछि पोखिएका मनका भावना-आँशुका हरफहरुको फेहरिस्त तयार हुन्छन् । कसैले बिछोडिएका आमाको सम्झनामा कागजमा आँशु झार्छन् त  कसैले प्रियसीको यादमा आफ्नो हृदयको प्यार व्यक्त गर्दछन् त कसैले आफू जन्मेको देशको माटो या भनौं मातृभूमिको । प्रवासिएपछी आफूसंग छुटेका ती तमाम स्मृतिको  बेहद माया अझ बढ्दै जान्छ । यिनै कारण हुन् मैले पनि सर्वप्रथम अमेरिका आएपछि आफू जन्मेको, आफु खेलेको अनि  हुर्केको आफूसंग गाँसिएका अनगिन्ती सम्झनाको थुप्रै पाटा मध्ये आफ्नो देशभक्ति र देशप्रेमले ओतप्रोत बनेर यो कविता “देश” लेख्न पुगेको हुँ । तसर्थ मैले आजसम्म सिर्जना गरेका तमाम सिर्जना मध्ये यो कवितालाई नै मैले अति मन पराएको खास कारण नै यही हो ।

कुनै पनि व्यक्तिको पहिचान उनको देश, भाषा, कला अनि संस्कृतिले उजागर गर्दछ । संसारको कुनै पनि कुनामा उ जाओस् तर उसको देश उ संगसंगै गइ नै रहेको हुन्छ आफ्नो पहिचानको लागि । तसर्थ उसले गरेका राम्रा अनि नराम्रा कार्यको पनि सर्वप्रथम त देशले नै आफ्नो हक दाबी गर्दछ ।

यिनै आफुले महशुस गरेको, भोगेको अनि महत्व देखेको कारणले नै मैले यो कविता सिर्जना गरेको हुँ । तीन दशकदेखि आफु प्रवासमा रहेता पनि आफ्नो देशको माया अटल र अचल रह्यो, कहिले पनि बिचलित बनेन ।

यो कविता पत्रिकाहरुसहित मेरो पहिलो कविता सङ्ग्रह “वसन्त श्रेष्ठका कविता” समावेश छ । यो कविता विभिन्न कवि गोष्ठीहरुमा पनि वाचन गर्दै आइरहेको छु तापनि डा. शङ्करप्रसाद शर्मा अमेरिकाको राजदूत हुँदा उहाँले दूतावासमा आयोजना गर्नु भएको कवि गोष्ठीमा मैले कण्ठस्थ सुनाउँदा गोष्ठीमा उपस्थित सवैले सह्राहना गरेका थिए । त्यस्तै नेपालमा अमेरिकी दूतावासको साथमा अमेरिका नेपाल साहित्य प्रतिष्ठानले टेकुस्थित पुस्तकालयमा आयोजना गरेको गोष्ठीमा वाचन गरेको पनि विर्सिनसक्नु छ ।

यिनै मुलभूत कुराहरुले गर्दा मलाई यो मेरो कविता “देश” अत्यन्त मन पर्छ । कविताको मूल भावनालाई नै आधार बनाएर तयार गरेको यो कविता लेखाईको दृष्टिले कतिको शसक्त छ पाठकले भन्ने हुन् तर मूल भाबको दृष्टिले मलाई मन परेको यो नै मेरो कविता हो ।

०००

कवि परिचयः वसन्त श्रेष्ठ मूलतः कवि हुन् । तेह्रथुमको म्याङ्गलुङ्ग बजारमा जन्मेका उनले सन् १९९४ देखि अमेरिकालाई कर्मभूमिबनाएका छन् । विसं २९२६  मा तीनजुरे हस्तलिखित पत्रिकामा “रूख” कविता प्रकाशित गरी साहित्यमा पदार्पण गरेका उनका कवितासंग्रहहरू “बसन्त श्रेष्ठका कविता”(सं. गोविन्द गिरी प्रेरणाः विसं २०६४ ), “भावनाका लहरहरु” (विसं२०६६ ),“उज्यालो खोज्ने आवाजहरु” ( विसं २०६७), “अर्को गोलार्धमा उभिएको मान्छे” ( विसं २०७७), संस्मरण संग्रह “अँगालो भरिको अनुभूति “( विसं२०७९) तथा जीवनी “नारायणमान श्रेष्ठ” ( विसं २०७९) प्रकाशित छन् ।

 

Leave a Reply