युक्रेनमा युद्ध : सम्वेदनामय सम्वेदना

कविता

साम्ब ढकाल

 

युक्रेनमाथिको धावा बोलेर

लडाईंको सेन्चुरी दिन मनाइरहेका हे युद्ध पिपासु शासकहरू हो

न्युनतम मानवताको ख्याल नराख्दा

अहमको मोर्चाबाट केही कदम पछाडि नहट्दा

तुजुकको खम्बा ठड्याइ रहँदा

सम्वेदनामा खिया लाग्दालाग्दा

भोलिका सन्ततीलाई के सुम्पन चाहन्छौ ?

 

घरघरबाट कुकुरमात्रै हराएका छैनन्

चाउरीमाथि चाउरी खापिएका बुढी हजुरआमाका अनुहारभरिभरि

ड्रेसिङ् गरेका गजोहरू उप्केर आला घाउहरूमा सइन पल्टिसकेको छ

दिनदहाडै बस्तीभरि बम बारूदले अन्धकार बनेको दृश्यांश आँखाले नहेरूँ भन्छ

अस्तपतालको ओछ्यानबाट प्रेमिकाले अन्तिम भेटको ताकेता लगाइ रहँदा

के अब हाम्रो भूमिमा युद्ध सकिन्न ? मानवता चिच्याएर सोधिरहन्छ ।

 

युद्ध नायकहरू युक्रेनमा मात्र युद्ध भयो भन्छन्

युद्ध सरदारहरू यस्ता युद्धहरू जहिँतहीँ भइरहोस् भन्छन्

हुनता यस्ता युद्धहरूको हिसाब राख्नेहरूलाई नै थाहा होला

कति लम्याउँदा मानवता झनै चिच्याउँछ ?

कति तन्काउँदा बाँकी मानवताको होस् हराउँछ ??

 

युक्रेनहरूबाट उडेको युद्धको हरक जताजतै पुगेको छ

युद्ध सिर्जित विवेकको तराजु थाहा छैन कता ढल्केको छ

भन्नलाई युक्रेन युक्रेन भनिएको मात्र हो

धरतीका हरेक कापकापमा युद्धोन्मादको अतिसय रापले रन्थनिएको छ  ।

 

युद्धका विभीषिकाले

आँसुका अनगन्ती फेहरिस्त बिग्रेको छ

पीडामय हिक्काहरू सुनाउने आफन्तजन नभएर रोकिएको छ

रगतका छिटाहरूले रङ्गिएका भित्तामा अडेसिएर उघ्रँदो क्षितिजमात्रै कति हेर्नु खै

दिनानुदिन युद्धका अँध्यारा भँड्खालाहरू आँगनमै खनिएको छ

युद्धले आक्रान्त पिँढीबाट अब कुनै बूढा बा नओर्लेलानु

मुर्दाशान्तिले कहिलेकाहीँ लामो श्वास तान्न लगाउँछ

भोलिपल्टको बिहान सूर्योदयसँगै युद्धको समुद्घाटन हुन्छ ।

ए शान्तिका ठेकेदारहरू हो —

कति मान्छे सकिँदा तिमीहरूको ढोका खुल्छ ?

धरतीमाथि कतिमात्र धाँजा फाट्दा तिमीहरूको बहस बन्छ ??

पृथ्वीभरि युद्धको मुश्लोले उकुसमुकुस भइसक्दा पनि

तिमीहरूले बैठकको नामै लिँदैनौ भने

भन अब कहिले शान्तिको लामो उच्छवास छोड्ने होला हामीले

भन अब कहिले बसूँ बसूँ  लाग्ने बन्छ होला यो पूरै धरती ।

 कवि परिचयः शाम्व ढकाल हेटौंडा —४  चिल्ड्रेनपार्क सडक, हुप्र चौरलाई सिर्जन थलो बनाएका कवि हुन् । उनका मान्छेहरु अजङको यात्रामा(विसं २०५६) तथा तमसोत्सव (विसं २०६६) दुई कविता कृतिहरु प्रकाशित छन् । उनले मकवानपुर प्रतिभा पुरस्कार लगायत एक दर्जन बढी पुरस्कार र सम्मान प्राप्त गरेका छन् ।

 

Leave a Reply