सापसको स्थापना दिवसमा पाँच प्रतिभा अभिनन्दित

मुख्य समाचार

२९ साउन २०८२, काठमाडौं ।

साहित्यिक पत्रकार सङ्घको ५४ औं स्थापना दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा पाँच जना विशिष्ट सिर्जनकर्मीहरू साहित्यकार पुष्कर लोहनी, कवि एवम् अभियन्ता भीम उदास, नेपाली चलचित्रकी पहिलो नायिका भुवन चन्द, वरिष्ठ चित्रकार एवम् कला समीक्षक मुकेश मल्ल र वरिष्ठ नृत्य निर्देशक वसन्त श्रेष्ठ लाई अभिनन्दन गरियो । अभिनन्दित हुनुहुनेहरूलाई अभिनन्दनपत्र, दोसल्ला, टोपी र माला कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री एवम् प्रसिद्ध गीतकार एस्पी कोइराला र आयोजक संस्थाका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, गीतकार एवं समाजसेवी शोभित उप्रेती, वरिष्ठ इतिहासविद् डा. सुरेन्द्र के.सी., आख्यानकार हिरण्यकुमारी पाठकलगायतका महानुभावहरूले समर्पण गरेका थिए ।
सो अवसरमा प्रमुख अतिथि कोइरालाले साहित्यिक पत्रकार सङ्घले गर्दैआएको कामको प्रशंसा गर्दै यस प्रकारको कार्यक्रमले स्रष्टाहरूलाई अघि बढ्न सधैं प्रेरित गरिरहने बताए ।
अभिनन्दित साहित्यकार पुष्कर लोहनीले आफूले २० को दशकदेखि कलम चलाउन थालेको स्मरण गर्दै यो अभिनन्दनलाई आफूले साहित्यिक क्षेत्रमा आफूले गरेको कामको मूल्याङ्कनको रूपमा लिएको उल्लेख गरे ।
कवि एवम् अभियन्ता भीम उदासले गैरआवासीय नेपालीहरूको संस्था स्थापनाका पृष्ठभूमि र आफ्नो संलग्नताबारे चर्चा गर्दै त्यो संस्था देशका राजनीतिक दलका प्रभाव र हस्तक्षेपका कारण सकिन लागेकोमा दु:ख व्यक्त गरे ।
पहिलो नायिका भुवन चन्दले कुनै पनि क्षेत्रको इतिहास लेख्दा सम्बन्धित व्यक्ति र योगदानकर्तालाई सोधेर बुझेर लेख्नुपर्नेमा जोड दिइन् ।
कलाकार एवम् कलासमीक्षक मुकेश मल्लले साहित्य र कलाबिच अन्योन्याश्रित सम्बन्ध रहेको धारणा प्रस्तुत गर्दै साहित्यिक क्षेत्रबाट भएको अभिनन्दनले आफूलाई भावुक बनाएको बताए ।
वरिष्ठ समालोचक प्रमोद प्रधानले अभिनन्दित पाँचै जना व्यक्तित्वको योगदानबारे विस्तृत चर्चा गर्दै इतिहास बनाइसकेकाहरूको सम्मान वास्तवमा अभिनन्दन गर्ने संस्थाकै सम्मान भएको उल्लेख गरे ।
अध्यक्षको आसनबाट आयोजक संस्थाका अध्यक्ष राधेश्याम लेकालीले संस्थाले विभिन्न समयमा गरेका सिर्जनात्मक कामहरूको चर्चा गर्दै आगामी दिनहरूमा पनि यसलाई निरन्तरता दिने बताए ।
कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा पत्रकार एवम् समाजसेवी प्रविनप्रसाद थपलियालाई पनि सम्मान गरिएको थियो । कार्यक्रमको संचालन कवि मुरारी सिग्देलले गर्नुभएको थियो ।
साहित्यिक पत्रकार भवानी घिमिरेले वीसको दशकमा स्थापना गरेको साहित्यिक पत्रकार सङ्घले ५३ वर्षदेखि साहित्यिक पत्रकारिता, साहित्य, कला, संस्कृति आदिका क्षेत्रमा योगदान गर्दै आएको छ ।