कृष्ण प्रधानको ‘पुरस्कार लुँड्याउनेहरू’ – एक पाठकीय दृष्टिकोण

पुस्तक समीक्षा

भाष्कर मैनाली शर्मा, दार्जिलिङ

कृष्ण प्रधानद्वारा लिखित ‘लुँड्याउनेहरू’ एक उत्कृष्ट हास्य–व्यङ्ग्य निबन्ध–सङ्ग्रह हो, जुन २०२५ मा समकालीन साहित्य प्रतिष्ठान, बेलायतले प्रकाशित गरेको हो। ग्राफिक प्रिन्टर्स, दुर्गागढी, सिलिगुडीमा मुद्रित यो कृति जम्मा ४८ पृष्ठको भए पनि यसको व्यङ्ग्यको धार अत्यन्त पैनी र गहिरो छ। सात वटा शीर्षकमा समेटिएका निबन्धहरू समाज र साहित्य क्षेत्रमा फैलिँदै गएको भ्रष्टाचारका विभिन्न रूपहरूलाई व्यङ्ग्यात्मक शैलीमा उजागर गर्छन्।

पुस्तकको मूल भाव
लेखकले साहित्य जस्तो पवित्र विधामा फैलिँदै गएको विकृति, भ्रष्टाचार र पद–प्रतिष्ठाको लोभ–लालचलाई अत्यन्त मार्मिक रूपमा प्रस्तुत गरेका छन्। साहित्यलाई भारतीय दर्शनमा ‘ज्ञानको विधा’ मानिन्छ, जहाँ माता सरस्वतीको वास रहेको विश्वास गरिन्छ। तर आज यही पवित्र क्षेत्रमा पैसाको प्रभुत्व, भाई–भतिजावाद, पक्षपात र पुरस्कारका नाममा चल्ने अस्वस्थ प्रतिस्पर्धाले साहित्यको मूल्य–मान्यता नै कमजोर पारिदिएको यथार्थलाई लेखकले तीक्ष्ण व्यङ्ग्य मार्फत चित्रण गरेका छन्।
सङ्ग्रहभित्र समावेश सात निबन्धहरू —
१) मुन्ना बदनाम हो गइल
२) मलाई पुरस्कार बैंशले कुतकुत्याएको कुतकुत्याएकै छ
३) बोकासहिर्यकर मुखाँ कुविण्डो
४) पुरस्कार लुँड्याउनेहरू
५) नो गिफ्ट नो खदा
६) माथी
७) संवर्द्धना/अभिनन्दनमा खेलाइचीको पौठेजोरी —
सबैको केन्द्रविन्दु एउटै छ: साहित्यमा भित्रिएको भ्रष्ट प्रवृत्ति र मूल्यविपरीतको दौडधुप।
एक पाठकको दृष्टिमा पुस्तकको प्रभाव
यो पुस्तक पढिसकेपछि पाठकको मनमा पहिलो प्रश्न यही उठ्छ— “साहित्य जस्तो उच्च, पवित्र र सृजनात्मक विधा कहाँ पुग्दैछ?”
साहित्य समाजको दर्पण हो, तर जब दर्पण नै दागिन थाल्यो भने समाजको अनुहार कस्तो देखिन सक्छ? यही भान पुस्तकले गहिरोसँग दिलाउँछ।
मान–प्रतिष्ठा चाहिनु स्वाभाविक हो। तर पुरस्कार, सम्मान वा खादा पाउनका लागि मानिसले कुनै पनि हदसम्म तल झर्नु कहाँको इज्जत हो?
लेखकले यही कुरामा प्रहार गर्दै, “सत्कर्म गर्नेहरूले मान–मनितो खोज्न पर्दैन, मान–मनितो आफैँ आउँछ” भन्ने सन्देश अत्यन्त सरल तर कडाइका साथ प्रस्तुत गरेका छन्।
यदि मान–प्रतिष्ठा मात्र खोज्दै गलत बाटो अपनाइयो भने अन्ततः आत्म–अपमान नै भाग्य बन्न सक्छ भन्ने चेतावनी पुस्तकले प्रदान गर्छ।
सामाजिक सन्देश र साहित्यिक प्रहार
पुस्तकमा लेखकले हाम्रो समाजमा बढ्दै गएको
– भाई–भतिजावाद,
– इमान्दार साहित्यकारको उपेक्षा,
– पैसामुखी पुरस्कार प्रणाली,
– ठूला कार्यक्रमहरूमा केवल ‘खादा’ उठाउने खोक्रो परम्परा,
– साहित्यलाई सेवा होइन, लाभ–लोभको साधन बनाइने प्रवृत्ति
जस्ता मुद्दामा अत्यन्त धारिलो व्यङ्ग्य गरेका छन्।
उनका व्यङ्ग्यहरू रमाइला मात्र छैनन्, चेतनादायी पनि छन्। पुरस्कारको लोभमा साहित्य बिक्नुहुन्न; साहित्यले सम्मान माग्ने होइन, सम्मान कमाउने हो— यही संदेश यस पुस्तकको मूल आत्मा हो।

समाप्तिमा

‘लुँड्याउनेहरू’ केवल हास्य–व्यङ्ग्य होइन, आजको साहित्यिक समाजमा फैलिइरहेको अराजकता र विकृतिलाई उजागर गर्ने दर्पण पनि हो।
पुस्तकले पाठकलाई हसाउँछ, तर हसाउँदै–हसाउँदै भित्र कतै चोट पनि दिन्छ-कि साहित्यको पवित्रता हामी आफैँले बचाउनुपर्ने हो।
साहित्य सेवा हो, माग होइन।
इज्जत दिने माध्यम हो, इज्जत माग्ने थलो होइन।
यस अर्थमा, यो पुस्तक हास्य–व्यङ्ग्यको माध्यमबाट चेतनाको ढोका खोलिदिने अत्यन्त महत्त्वपूर्ण कृति हो।

०००