१० कार्तिक २०८३, काठमाडौं
कवि मञ्जुल गम्भिर भई काठमाडौंको मोडेल अस्पतालमा उपचाररत रहनु भएको छ ।
साहित्यकार नन्दु उप्रेतीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्, “वरिष्ठ कवि मञ्जुल (मेघराज नेपाल) यतिखेर गम्भीर बिमारीका कारण काठमाडौँ मोडेल हस्पिटल बागबजारमा गम्भीर बिमारसँग लडिरहनु भएको छ। गीत, संगीत, कविता र अन्य विधाका साहित्यिक सृजनाका संगम मञ्जुल देशभित्र र देश बाहिरका धेरै लेखक र पाठकहरूको अत्यन्तै सम्मानित र प्रिय साहित्यकार हुनुहुन्छ । आदरणीय वरिष्ठ कवि मञ्जुल दाइको शीघ्र पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु।”
मञ्जुल विगत १४।१५ बर्षअघि अस्वस्थ भएपछि निरन्तर औषधोपचारमा रहनु भएको थियो तर विगत दुई महिनादेखि उहाँलाई बढी चापेको थियो । पछिल्लो समयमा घरबाट उपचारका लागि ल्याउन लैजान सहज नभएर हाल उहाँलाई मोडेल अस्पतालमा भर्ना गरिएको हो । नेपाली साहित्यमा विशेष गरी कविता र निबन्ध तथा यात्रा संस्मरणमा उहाँका कृतिहरू प्रकाशित छन् । राल्फा आन्दोलनका प्रमुख अभियन्तामध्येका एक उनले नै निर्माण गरेको शब्द “राल्फा” लाई नै सो आन्दोलनको नामाकरण गरिएको थियो ।
उनले “सम्झनाका पाइलाहरूमा” का लागि उत्तम पुरस्कार, “मृत्यु कविता” का लागि साझा पुरस्कार पाएका छन् ।
विश्वपरिक्रमा कवि मञ्जुलको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।
०००
