वालिङ, २५ असोज २०८३, वालिङ
युवा स्रष्टा वसन्त खनालको पहिलो निर्बन्ध- आख्यान कृतिको रूपमा प्रकाशित २६ वटा समसामयिक निर्बन्ध- आख्यानहरू समावेश गरिएको नवीनतम कृति “वेध” को लोकार्पण, स्रष्टा सम्मान तथा “वेध सिर्जना उत्सव- २०८३” सम्पन्न भएको छ ।
“वेध” निर्बन्ध- आख्यान कृतिको लोकार्पण, स्रष्टा सम्मान तथा “वेध सिर्जना उत्सव- २०८३” वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको आयोजना, साकिरा प्रतिष्ठानको व्यवस्थापन तथा वालिङ नगरपालिकाको सहयोगमा वालिङ उद्योग वाणिज्य सङ्घको सभाकक्षमा सम्पन्न भयो ।
सूर्यप्रसाद खनालको अध्यक्षता तथा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा.डा. कुसुमाकर न्यौपानेको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा “वेध” निर्बन्ध- आख्यान कृतिको लोकार्पणपश्चात् लोकार्पित कृतिमाथि वक्ताद्वय डा. शङ्करप्रसाद गैरे र शान्ता थापाद्वारा समीक्षात्मक मन्तव्य, स्रष्टा वसन्त खनालद्वारा लेखकीय मन्तव्य प्रस्तुत गरिएको थियो । साथै वालिङ नगरपालिकाको १४ नम्बर वडाका अध्यक्ष बोधराज कुँवर “राजु”, सम्मानित शैक्षिक व्यक्तित्व लक्ष्मीप्रसाद रेग्मी, डा. टङ्क पन्थ र सह- प्राध्यापक कृष्णप्रसाद पौडेलद्वारा शुभकामना मन्तव्य प्रस्तुत गरिएको थियो ।
समारोहमा प्रा.डा. कुसुमाकर न्यौपाने, सह- प्राध्यापकद्वय कृष्णप्रसाद पौडेल र डा. पुण्यप्रसाद शर्मा, शैक्षिक व्यक्तित्व लक्ष्मीप्रसाद रेग्मी, वक्ताद्वय डा. शङ्करप्रसाद गैरे र शान्ता थापा, डा. टङ्कप्रसाद पन्थ, स्याङ्जाली अग्रज स्रष्टा व्यक्तित्वहरू देवीप्रसाद वनवासी, देवेन्द्र लम्साल, लेखनाथ काफ्ले र चक्रबहादुर पराजुली, स्याङ्जामा क्रियाशील साहित्यिक संस्थाको नेतृत्वदायी भूमिकामा रहेर काम गरिरहेका चण्डिकाप्रसाद भट्टराई, अनन्त अर्याल, हिमालयजंग बानियाँ, श्यामप्रसाद ढुंगाना, रिमबाबू राना र लक्ष्मी काफ्लेसहित युवा स्रष्टा शम्भु अर्याल र गुरुङ चलचित्रकर्मी ताराबहादुर गुरुङलाई सम्मान गरिएको थियो ।
वसन्त खनालको “वेध” निर्बन्ध- आख्यान कृति पहिलो साहित्यिक कृति हो ।
सागर खनालद्वारा स्वागत मन्तव्य र ताराबहादुर गुरुङद्वारा स्वागत नृत्य प्रस्तुत गरिएको कार्यक्रमको संयोजन वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाका संस्थापक संयोजक युवा स्रष्टा तथा साहित्यिक अभियन्ता मिलन समीरद्वारा गरिएको थियो ।
“वेध सिर्जना उत्सव- २०८३” मा सिजन अर्याल, सिर्जना खनाल, दिलीप तिवारी, डोलराज डुम्रे विकल्प, लक्ष्मी काफ्ले, विष्णु पङ्गेनी पाण्डे, लीलाम्बर ढुंगाना, रिमबाबू राना, प्रेमबन्धु सुवेदी, गुरु ढकाल, शान्ता बास्तोला, टुकादेवी आचार्य लगायतका स्रष्टाद्वारा आफ्ना उत्कृष्ट सिर्जना प्रस्तुत गरिएको थियो ।
