कालिम्पोङबाट नेपाली गीत लेखन- एक रेखाङ्कन

गद्य विविध

नवीन पौड्याल, कालिम्पोङ

१. आमुख – नेपाली साहित्यको मानचित्रमा कालिम्पोङ एउटा महत्त्वपूर्ण स्थान बनेको छ। यहाँबाट कथा, कविता, नाटक उपन्यास आदि धेरै मात्रामा प्रकाशित हुँदै आएको पाइन्छ। नेपाली संस्कृतिलाई कालिम्पोङले जोगाएर सुरक्षित राखेको छ। मानिसहरू आफ्नो कृषिकार्य गरेर आफ्नो भाषा, साहित्य, संस्कृतिक र आफ्ना परम्परागत सम्पदालाई कायम राखेका छन्। कालिम्पोङको नातिशीतोष्ण मौसम र प्राकृतिक सौन्दर्यअनुरूप सांगीतिक सिर्जना पनि उज्ज्वल देखिन्छ। नेपाली सांगीतिक फाँटमा कालिम्पोङका धेरै संगीतकार, गायक कलाकार र गीतकारहरूको योगदान रहेको छ। पारसमणि प्रधान, रामकृष्ण शर्मा, भाइचन्द प्रधान, महानन्द पौड्याल आदि जस्ता साहित्यिक हस्तीहरूले बसोबासो गरेको कालिम्पोङमा साहित्य पनि फले-फुलेको छ।

२. गीत : साहित्यिक उपविधाका रूपमा –

साहित्यमा कवितारूपी वंशको ठुलो परिवार देखिन्छ। साहित्यमा कविता विधा सबैभन्दा लोकप्रिय र बहुप्रायोगिक देखिन्छ। एक हरफेदेखि लिएर लाखौं हरफसम्मका कवितात्मक स्वरूप पाइन्छन्। कविताका विविध ढाँचा, तरिका र प्रयोगबाट लेखिने गरिन्छ। कविता एउटा ठुलो विधा हो भने हाइकु, गीत, खण्डकाव्य, महाकाव्य, गजल आदि उपविधाका रूपमा रहेका छन्। कविता विधाभित्रको एउटा उपविधाका रूपमा रहेको गीत खुबै लोकप्रिय देखिन्छ। यो कोमल अनुभूतिहरूका लयात्मक अभिव्यक्ति हो। गीतका तीन गायन, वाद्यवादन र लेखन गरी तीन पक्ष रहेका हुन्छन् औ यी तीनै कुराहरूको कुशल र सफल संयोजनाबाट मात्र असल गीतको निर्माण हुन्छ। गीतका तीन पक्षमध्ये लेखन पक्ष कमजोर भयो भने गीत नै कमजोर भइदिन्छ। गीतकारले सुन्दर भावधाराका गीत लेखे त्यो गीत असल हुन्छ। यहाँ गीतको गायन र वाद्य-वादन पक्षलाई नछोई लेखन पक्षमाथि मात्र अध्ययन प्रस्तुत गरिन्छ।

गीत एउटा लयात्मक संरचना भएको उपविधा हो। यसमा शब्दहरूको ध्वनिगत आरोह-अवरोहको मिठा संयोजन गरी लय उत्पन्न गरिन्छ। यस लयमा गेयता हुन्छ जुन संगीतमा आधारित हुन्छ। यसमा केही घटक वा अवयवबाट संगठन गरिएको हुन्छ। गीतमा आदि, मध्य र अन्त्य गरी तीन भाग हुन्छन्। आदि भाग गीतको स्थायी हो भने मध्यभाग अन्तराका रूपमा पाइन्छन्। अतः गीत स्थायी र अन्तरामा संरचित हुन्छ। गीतको स्थायीले कुनै भाव वा रागको उठान गर्छ भने अन्तराहरूहरूले त्यस स्थायीलाई पुष्टी गर्दै अघि लान्छ। गीतका केही प्रमुख तत्त्वहरूमा १) भाव वा विचार २) उद्देश्य ३) भाषा र ४) शैली। यसमा आत्मनिष्ठता हुन्छ, जुन वैयक्तिक भएर पनि परिणतः निर्वैयक्तिक हुन्छ।

गीतको उद्गमस्थल नै हृदय हो। हृदयमा उब्जिएका रागभावहरूलाई शब्दमा अभिव्यक्ति दिनु नै गीतको निर्माण हो। यो हृदयमा नै सिर्जित हुन्छ भने यसलाई हृदयले नै ग्रहण गर्छ। आफ्ना हृदयका सुमधुर र सुकोमल भावनाहरू विभिन्न रागात्मक अनुभूतिले उद्दीपित ऊएर लयात्मक रूपमा प्रकट हुनु नै गीतको सिर्जना हुनु हो। यसमा व्यक्तिको तीब्र अनुभूतिको अभिव्यक्ति हुन्छ। यसमा एउटै भाव वा विचारको विशेष प्रस्तुति हुन्छ। यसैगरी गीतमा एकोन्मुखता, को निर्वाह हुनाले संक्षिप्तता, सांकेतिकता, हुन्छ। लयको सिर्जनाको लागि शब्द र ध्वनिको संयोजनमा निर्भर रहन्छ। यसमा एकजना सम्बोधक अर्को सम्बोधित र तेस्रो चाँहि अन्य विषय हुन्छ। गीतलाई एक्लै, युगल र समूह गरी तीन प्रकारले गाउन सकिन्छ। गम्भीर शब्द-रचना, मिठो संयोजन, सांगीतिक धून र सुमधुर स्वरद्वारा त्रिपक्षीय संयोजन भएका गीतहरू भने चिरस्थायी, शाश्वत, सर्वस्पर्शी र सदाबहार बन्दछन्।

३. समस्या कथन – नेपाली गीत लेखनका क्षेत्रमा भारतबाट धेरैजना रहेका छन्। यसो त प्रायः सबैजसो संगीतकारले गीत लेखेकै हुन्छन्। यहाँ कालिम्पोङका सबै गीतकारको नाम आउन सम्भव छैन। प्रस्तुत पत्र तयार गर्ने क्रममा निम्नलिखित समस्या देखा परेका छन् –

१. गीत त धेरैले लेख्छन् तर सबैलाई गीतकार मान्न कि नमान्नु?

  • दुइ-चारवटा गीत लेख्नेलाई गीतकार मान्नु कि नमान्नु?
  • कतिपय व्यक्तिले आफ्ना गीतको रेकर्डिङ गरेका हुँदैनन्,
  • कतिले गीतलाई बाहिर प्रकाशित गरेका हुँदैनन्।

यसका निम्ति निम्न उपायको अवलम्बन गरिएको छ –

  • एक दुइवटा गीतको रेकर्डिङ गर्नेलाई गीतकार मानिएको छैन।
  • गीत लेखनको गुणात्मकतालाई महत्त्व दिइएको छ।
  • जतिसक्दो गीतको रेकर्डिङ र प्रकाशनलाई महत्त्व दिइएको छ।
  • यसका निम्ति जतिसक्दो कतिजना गीतकारलाई नै प्रश्नावली, अन्तर्वार्ता लिइएको छ।
  • यसमा पाएजति गीतसङ्ग्रहको अध्ययनलाई प्रस्तुत गरिएको छ।
  • कालिम्पोङका केही गीतकारहरू –

नेपाली गीत लेखनका क्षेत्रमा भारतबाट धेरैजना रहेका छन्। यसो त प्रायः सबैजसो संगीतकारले गीत लेखेकै हुन्छन्। कालिम्पोङको नेपाली गीत लेखन परम्परालाई दुई चरणमा विभाजन गर्न सकिन्छ – अघिल्लो चरण र पछिल्लो चरण। अघिल्ला चरणका गीतकारका गीतमा शास्त्रीय रागपरक, पीडाबोध, जातीयता बोध इत्यादि पक्ष बढी पाइन्छन्। अघिल्ला चरणका केही उल्लेखनीय र गीतकारहरू हुन्- मास्टर पूर्णमान शाक्य, एम. एम. गुरूङ, गंगामाया परियार, हर्क परियार, चन्द्र परियार, सी. के श्रेष्ठ, हेमानन्द खाती आदि। पछिल्ला चरणका कालिम्पोङका धेरै गीतकार रहेका छन् ती सबैको नाम आउन सम्भव छैन। यद्यपि उपलब्ध र उल्लेखनीय केही गीतकारहरूमा अमर रसाइली, मधुसूदन लामा, योगेन्द्र घतानी, सरोज कार्थक, अनिल राई, सिलभेस्टर सितलिङ, ब्रायन मोक्तान, दिलीप भुजेल, दीनदयाल अगरवाल, प्रशान्त धमाला दोषी, जय क्याक्टस, सरिता समदर्शी, प्रदीप लोहागुण, अल्बर्ट गुरूङ, मपन परियार, मोहन हिङमाङ, भवानी बागदास, विमल गजमेर, पेमा वाङदी, आनन्दराज प्रधान, सरिता प्रधान, रामलाल त्रिखत्री, दोर्जी लेप्चा, तुलसी गजमेर, तुलसी घिमिरे, शशि सुनाम, डेनिश कार्थक, रोबर्ट सुब्बा, राजेन घिमिरे, राजु घिमिरे, दावा पाखरिन, अनुराधा गजमेर, गञ्जवीर गुरूङ, अरूणप्रकाश राई, विलियम योन्जन, मणिकुमार रसाइली, उज्ज्वल बमजन, कमल रेग्मी, पुरण थापा, दिपेन राई, उमेश थापा, उपमा, सुमन प्रधान, अजय राई, सुवास सोताङ, सूरज रोसूरी, अनिल तैलेजा, अरूण साङपाङ आदिको नाम स्मरणीय छ।

कालिम्पोङका केही उल्लेखनीय गीतकारहरूका बारेमा संक्षिप्त रूपमा चर्चा गरिनेछ-

४.१. मास्टर पूर्णमान शाक्य- कालिम्पोङका सबैभन्दा अघिल्ला र उल्लेखनीय गीतकारको रूपमा मास्टर पूर्णमान शाक्यलाई मान्नुपर्छ। उनी आफ्नो जमानाका गीतकार, संगीतकार र गायक सबै थिए। उनका अधिकांश गीतहरू भद्रकाली रेकर्ड्स् काठमाडौंबाट रेकर्डिङ भएका थिए।

४.२. सी. के श्रेष्ठ – नेपाली गीत लेखनका क्षेत्रमा श्री सी. के. श्रेष्ठको नाम पनि उल्लेखनीय छ। उनका केही गीतहरू चलचित्र र नाटकतिर गाइँदै आएको पाइन्छ। उनको छुट्टै रूपमा गीतसङ्ग्रह नभए तापनि बनमारा (जनवरी, २०१५) नामक कवितात्मक पुस्तकमा उनका जम्मा पैतालिसवटा जति गीतहरू पनि समावेश छन्। उनका गीतहरूमा देशप्रेम, जातीय आस्तित्विक चेतना, चियाबारीको श्रमिकहरूका समस्या उठान, जीवन दर्शन, प्रेम-प्रितीका विभिन्न पक्ष, राजनैतिक व्यङ्ग्य चेतना, जीवनका अनेक पाटाहरूका अङ्कन, पर्यावरण चेतना आदि कुरा पाइन्छन्। हाम्रो देशमा गोर्खाहरूको आफ्नै इतिहास र अस्तित्व छ तर राष्ट्रको मूलधारामा नअँगालिएको स्थिति देखेर उनी क्षुब्ध बनेको छन्। यस्तो व्यवहारबाट एकप्रकारले आक्रोश व्यक्त गरेका छन्। उनका गीतहरूमा आशाका भावहरू नै बढी मात्रामा पाइन्छन्। देशको राजनैतिक व्यवस्थाले हाम्रो अस्तित्वमा शङ्का गरे उनी यसरी हाँक दिन्छन –

हाम्रो भाग्य भावीले लेखेन त के भयो

हाम्रो व्यथा विश्वले देखेन त के भयो

     आफ्नो भाग्यरेखा आफ्नै हातले कोर्नेछौं

     बाधा बनी उभिए चट्टान पनि फोर्नेछौं। (बनमारा पृष्ठ १८२)

उनका गीतहरूमा मानवको असीम सिर्जना शक्तिमाथि आस्था छ। उनका गीतहरूमा शाब्दिक कोमलता, गेयात्मकता, ठेट शब्द प्रयोग, आनुप्रासिक आनुषाङ्गिकता, आवृतिगत सौष्ठव, विषयगत एकोन्मुखता जस्ता गुण र विशेषता पाइन्छन्। यद्यपि यसमा गीतमा हुनुपर्ने रागात्कता, कलात्मकताभन्दा व्यङ्ग्यात्मकता बढी झल्किन्छ।

४.३. मधुसूदन लामा – कालिम्पोङका एक चर्चित गीतकार हुन् मधुसूदन लामा। उनी आफैं संगीतकार हुनाले गीत लेखनमा चाहिने विशेषता र लक्षणप्रति पूर्ण सचेतता पाइन्छ। उनले लेखेका सयभन्दा धेरै गीत विभिन्न गायक गायिकाहरूले गाएका छन्। उनका गीतमा प्रेम-प्रीतिका मिलन विछोड, राग-विराग सबैलाई समेटिएका हुन्छन्। यीबाहेक सार्वभौमिक शाश्वतता, जातीय जागरण चेतना, जस्ता विषय पनि उनका गीतका कथ्यका रूपमा पाइन्छन्। गीतमा हुनुपर्ने विषयगत एकोन्मुखता, रागात्मकता, गेयात्मकता, वैयक्तिकता, कोमल अनुभूति तथा सुमधुर वर्ण प्रयोग, ताल-मात्रासित शब्दको कुशल तालमेल र आनुषांगिक आनुप्रासिकता आदिले उनका गीतहरू सफल छन्। हालसम्म उनको एउटा गीतसङ्ग्रह तरल आकार (२०१४) प्रकाशित देखिन्छ। यसबाहेक अनेक गीति अल्बमहरूमा उनले लेखेका गीतहरू प्रसारित र लोकप्रिय बनेका छन्।

कति कुरा नभनेर नै मीठा मीठा मीठा हुन्छन्।

भनिएका कुरा बरू झुटा झुटा झुटा हुन्छन्।   

४.४. कमल रेग्मी – अहिलेका एक चर्चित र सफल गीतकार हुन् कमल रेग्मी। उनी पनि गीत सिर्जनामा एकनिष्ठ भएर अनवरत लागिरहेका छन्। गीतबाहेक उनको सिर्जना र अभीष्ट कवितासंग्रह पनि प्रकाशित छ। यद्यपि उनको अभीष्ट गीत नै हो। उनले पनि कविता कोर्दा स्वतः गीत नै निस्कन्छ। अहिलेसम्म उनका गीतसंग्रहहरू काँडाफूल (सन् २००७), तप्कना (सिडी अल्बम,२०१२), हिउँको आगो (२०१२), घामपानी (२०१८) प्रकाशित छन्। यीबाहेक उनका प्रतिनिधि गीतहरूको अङ्ग्रेजी अनुवाद Confluence (२०१८, अङ्गेजीमा अनुवादत श्रद्धामणि प्रधान) प्रकाशित छ। काँड़ाफूलमा जम्मा नब्बे-बयानब्बेवटा गीतहरू संग्रहीत छन्। दोस्रो गीतसङ्ग्रह हिउँको आगोमा ८८ वटा, तेस्रो गीतसङ्ग्रह घामपानीमा एक सय पाँचवटा गीतहरू समावेश छन्। उनका धेरैवटा गीतहरू गायनभित्र परेका छन्। उनका गीतहरू अजनिश राई, प्रसाद रणपहेंली, कुमार रणपहेंली, थुपदेन भोटिया, रामकृष्ण ढकाल, लासिमित गाई, यम बराल, हिरा रसाइली, गौतम गजमेर, अनुपमा प्रधान आदिले गाइसकेका छन्। उनी युगसचेत र शैली सचेक गीतकार पुन्। उनले वर्तमान युग देखेका र भोगेका छन्। उनले गाउँ देखेका छन् र शहर पनि। यी दुवैबाट उब्जेका संवेदना उनका गीतका विषय हुन्। उनका गीतमा पनि जातीय चेतनाको प्रखर स्वर, प्रकृतिका सुन्दर विम्बद्वारा मानवीय संवेदनाको प्रतीकीकरण, प्रेमका यावत् पक्षको उद्घाटन्, देशप्रेम, माटाको माया, विकृत राजनितीबाट उब्जेका विसंगतिप्रति व्यङ्ग्य, दार्जीलिङ प्रेम, आफ्नो जन्मथलो प्रेम, एकोन्मुखी भावतरङ्ग जस्ता विशेषता र गुणहरू हामी पाउँछौं। उनले गीतमा कल्पना र यथार्थको मिश्रण गरी कलात्मकता दिएका छन्। गीतका शब्दहरू एकार्का पूरक बनी आबद्ध छन्। उनी सौन्दर्यप्रेमी युवा हुन्। प्रकृतिमा सौन्दर्यको अजस्र स्रोत पाउँछन्।

४.५. उज्ज्वल बमजन – हालमा एकजना चर्चित गीतकारहरूमा उज्ज्वल बमजन पनि एकजना हुन्। उनका गीतका अल्बमहरूमा मायाको मात, सेन्तेरेम आदि लोकप्रिय बनेका छन्। युवा पुस्ताका निम्ति रूचिकर लाग्ने उनका गीतहरूमा जातीयता बोध, मर्म वेदना, वैयक्तिकता एकोन्मुखता पाइन्छ। उनले गीतमा हुनुपर्ने केही तत्वलाई जतिसक्दो समावेश गेका छन्। यथार्थता, गेयात्मकता, प्राकृतिक सौन्दर्य वर्णन्, स्थानीय रङ्ग चित्रण, रागात्मक अनुभूतिको प्रस्तुति जस्ता गुणहरू उनका गीतमा पाइन्छन्।

४.६. योगेन्द्र घतानी – कालिम्पोङका संगीत शिक्षक र वरिष्ठ संगीतकार श्री योगेन्द्र घतानी आफैं पनि एक कुशल गीतकार हुन्। उनका अनेक गीतहरू धेरै गायक-गायिकाहरूले गाएका छन्।

४.७. तुलसी घिमिरे – नेपाली चलचित्र जगतका ख्यातिप्राप्त निर्देशक र अभिनेता कालिम्पोङका तुलसी घिमिरे एक अब्बल गीतकार पनि हुन्। उनका गीतहरू विभिन्न चलचित्रमा गायन भएको पाइन्छ। उनका गीतहरू चलचित्रको कथाअनुसार पनि उपयुक्त हुन्छन्। जातीय स्वाभिमान र अस्मिताको स्वर, संस्कृतिप्रेम, स्थानीयताको वर्णनबाट सार्वभौमिकताको खोज, गेयात्मकता, संवेदनशीलता आदि उनका गीत लेखनका विशेषता हुन्। उनले रचेका गीतहरू नारायण गोपाल, आशा भोंसले, सचिन सिंह, उदितनारायण झा आदिले गाएका छन्। उनको गीतको एउटा नमूना-

वीरताको चिनो वीरको सन्तान

शहीदको रगत लाहुरेको निसानी।

४.८. अमर रसाइली – नेपाली चलचित्र जगतका एक ख्यातिप्राप्त निर्देशक श्री अमर रसाइली पनि एक कुशल गीतकार हुन्। कतिपय चलचित्रमा समेत उनका गीतहरू गुञ्जिएको सुन्न पाइन्छ।

४.९. दावा पाखरिन – कालिम्पोङका एक राजनेताका रूपमा रहेका दावा पाखरिनका पनि राम्रा राम्रा गीतहरू समाजमा लोकप्रिय छन्। जातीय चेतनाका अनेक गीत रचना गरेका छन्।

४.१०. अरूण साङपाङ – कालिम्पोङ अलगडाका एक जोसिला युवा अरूण साङ्पाङ एक असल गीतकार हुन्। उनका गीतमा प्रेम-प्रीतिका विभिन्न पक्षका साथै जातीय जागरण, नैतिक सन्देश आदि पक्ष पाइन्छन्। उनका बीस-पच्चीसवटा गीतहरू दैनिक नेपाली पत्रतिर प्रकाशित भएका पाइन्छन्। उनी आफैं गाउँदै र गीत लेख्दै गर्ने हुनाले उनका गीतमा शाब्दिक माधुर्य पाइनुका साथै अनुभूतिगत कोमलता, वैयक्तिकता आदि पनि पाइन्छन्।

4.११. ब्रायन मोक्तान- कालिम्पोङका ब्रायन मोक्तान एक कुशल गीतकार पनि हुन्। उनको केही गीतहरू लोकप्रिय बनेका छन्।

४.१२. यसबाहेक कालिम्पोङकै उपजका रूपमा रहेका सरोज कार्थकका पनि धेरै गीतहरू रेडियो नेपाललगायत नेपालका विभिन्न गायक गायिकाले गाएका छन्।

५. कालिम्पोङबाट प्रकाशित संगीताञ्जलि (२००३) नाम सङ्गीतप्रधान पत्रिकाले पनि नेपाली सङ्गीतको पक्षमा धेरै अध्ययन भएको पाइन्छ। यसका प्रधान सम्पादक श्री सीताराम काफ्ले हुन्। यसमा नातिकाजीको भर्खरै भएको निधनको शोक व्यक्तका साथै सांगीतिक मूल्याङ्कन र नेपाली संगीतको उज्यालो पक्ष भन्ने दुईवटा सम्पादकीय पाइन्छ। यसमा अम्बर गुरूङ, गगन गुरूङ, शान्ति ठटाल, मादलवादक मङ्गलसिंह घिमिरे, छुजाङ डुक्पा, पेम्बा भुटिया, गोपाल योञ्जन, हीरादेवी वाङबा, बी बी मुखिया, आदिका बारेमा परियात्मक मूल्याङकन गरिएको पाइन्छ। यसका साथै यसमा कालिम्पोङ गीतसङ्गीतको इतिहास र रूपरेखा, केही गीत-लोकगीतको सङ्कलन आदि पनि समावेश गरिएको छ। यसमा योगदान दिनेहरू मधुसूदन लामा, एम एम गुरूङ, नीलम न्यौपाने, ललित न्यासुर, डि बी घिसिङ, काजीसिंह विद्यार्थी, अरूण कुमार रसाइली, अरूण प्रकाश राई, योगवीर शाक्य, के डी लामा, गङ्गा मुखिया, भवानी बाग्दास, मोतीप्रसाद शर्मा, शेखर दीक्षित आदिका लेखहरू समावेश छन्।

६. कालिम्पोङका नेपाली गीतहरूको सामान्य प्रवृत्ति र उपसंहार-

  • कालिम्पोङका गीतकारहरूका गीतमा प्रेम प्रीतिका सामान्य राग-भाव हर्ष, प्रेम पीडा, प्रेमानुराग, रूप सौन्दर्यपरक वर्णन नै प्रमुख रूपमा पाइन्छ।
  • प्रेमानुरागबाहेक जीवन र जगतका विभिन्न अनुभूति, जातीय अस्मिता र जाति प्रेम, देश प्रेम, स्थानीय रङ्ग चित्रण, सांस्कृतिक भावपरक आदि पाइन्छन्।
  • कालिम्पोङबाट पनि चलचित्रका निम्ति गीत लेखिएका छन्। तुलसी घिमिरे, अमर रसाइली आदि यसतर्फ अग्रणी रहेका छन्। सि. के. श्रेष्ठले पनि चलचित्रका निम्ति केही गीत लेखेका छन्।
  • कालिम्पोङबाट नारी गीतकारको संख्या न्यून देखिन्छ।
  • कालिम्पोङका गीतकारमध्ये मधुसूदन लामा, कमल रेग्मी र सि के श्रेष्ठबाहेक अरूका गीत-संग्रह पुस्तक प्रकाशित भएको पाइन्न।

यसरी हेर्दा नेपाली गीतलेखनका क्षेत्रमा कालिम्पोङको स्थान र योगदान महत्त्वपूर्ण रहेको देखिन्छ। नेपाली सांगीतिक जगत्मा कालिम्पोङको नाम पनि स्पष्ट रूपमा ङ्कित देखिन्छ। यहाँबाट मास्टर पूर्णमान शाक्यदेखि सि.के श्रेष्ठ, मधुसूदन लामा, कमल रेग्मी आदिका नेतृत्वमा गीतले निकै प्रगति गरेको देखिन्छ।

०००