‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, धरावासीलाई पद्मश्री साधना सम्मान तथा जयराजलाई पद्मश्री गौरव पुरस्कार

मुख्य समाचार

१असोज २०८३, रत्ननगर, चितवन

खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले वि.सं.२०८२ सालको पद्मश्री साहित्य पुरस्कार “सलह” उपन्यासका लागि श्रवण मुकारुङलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । यस पुरस्कारका लागि १९२ कृतिहरू प्राप्त भएकोमा पहिलो बिस्तारित सूचिमा १५ कृति छानिएका थिए । दोश्रो संक्षिप्त सूचिमा ५ कृति छनौट भएका थिए । तिनैमध्येबाट “सलह” लाई पुरस्कृत गरिने निर्णय भएको हो ।
खेमलाल हरिकला लामिछाने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछाने हस्ताक्षरित विज्ञप्ति अनुसार “नेपाली समाजका सीमान्त आवाज, लैङ्गिक विभेद, हिंसा, विस्थापन र पहिचानका जटिल प्रश्नलाई कलात्मक ढङ्गले उजागर गर्ने सशक्त आख्यान हो । काव्यिक भाषा, प्रतीकात्मकता, जीवन्त प्रकृति–चित्रण र मार्मिक कथनशैली यसका प्रमुख शक्ति हुन् । ‘सलह’ले व्यक्तिगत पीडालाई सामाजिक यथार्थसँग जोड्दै नेपाली उपन्यासमा सीमान्त जीवन र नारी अस्तित्वको प्रश्नलाई प्रभावशाली रूपमा स्थापित गरेको छ ” भन्दै यो कृतिको छनौट गरिएको हो ।
त्यस्तै नेपाली साहित्यमा पाँच दशकदेखि साधनारत कृष्ण धरावासीलाई ” शरणार्थी,राधा,आधा बाटो लगायत ३२ कृतिका लेखक तथा झन्डै दुई दर्जन ग्रन्थका सम्पादक तथा लीला लेखनका व्याख्याता धरावासीले विशेषतः आख्यानमार्फत सामाजिक यथार्थ, मानवीय मनोविज्ञान, विभेद र इतिहासका उपेक्षित पक्षलाई उत्तर आधुनिक ढांचाका माध्यमबाट प्रस्तुत गरेका छन् ” भन्दै पद्मश्री साधना सम्मान प्रदान गर्ने निर्णय भएको जनाइएको छ ।
यसैगरी “नेपाली,अङ्ग्रेजी र संस्कृत भाषाका ज्ञाता तथा परराष्ट्र नीति र कूटनीतिका अध्येता आचार्यले साहित्य, भाषाविज्ञान, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिसम्बन्धी दर्जनभन्दा बढी कृति लेखेका छन् । ‘यदुनाथ खनालः जीवनी र विचार’,‘भानुभक्त आचार्यको रामायण नेपाली र अङ्ग्रेजीमा’ र ‘नेपालको परराष्ट्र नीतिः एक विमर्श’ उनका उल्लेखनीय कृतिमध्ये हुन् । संयुक्त राष्ट्रसङ्घमा नेपालका स्थायी प्रतिनिधिका रूपमा समेत कार्यरत आचार्यले नेपाली भाषा, साहित्य र कूटनीतिक चिन्तनलाई अन्तर्राष्ट्रिय सन्दर्भसँग जोड्न योगदान दिएका छन् ” भन्दै प्रा.डा. जयराज आचार्यलाई पद्मश्री गौरव पुरस्कार प्रदान गर्ने निर्णय गरिएको जनाइएको छ ।
यी सवै पुरस्कार तथा सम्मानमा तीन लाख नगद राशी रहेको छ ।
यी पुरस्कार र सम्मान प्रत्येक बर्ष कोजाग्रत पूर्णिमाको दिन वितरण गर्ने परम्परा रहेको छ ।