३१ असार २०८३, काठमाडौं
साहित्यिक पत्रकारिताको क्षेत्रमा “अभिब्यक्ति” साहित्यिक पत्रिकाको माध्यमबाट लामो समयदेखि योगदान पु-याउनु भएका साहित्यकार तथा साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको निधन भएको छ । पछिल्लो समय केही महिना यता उहाँको स्वस्थ्यमा समस्या जटिल बन्दै गएको थियो । वि.सं १९९४ साल चैत २२ गते रामेछापको मन्थलीमा जन्मनु भएका उहाँ ८९ वर्षको हुनुहुन्थ्यो ।
ई.सं. १९५८ मा भारतको बनारसवाट प्रकाशित हुने छात्रवाणीमा “अभिशाप” शिर्षकको प्रकाशनबाट उहाँको लेखनी तथा प्रकाशन यात्रा प्रारम्भ भएको थियो ।
यौवनकालमै “महापुरुष”(२०२८) तथा “दिवास्वप्न” (२०२९)दुइ उपन्यास प्रकाशित गरेका उहाँले तेश्रो उपन्यास पूरा गर्नु भएन र उपन्यास लेखनबाट विश्राम लिनु भयो । तर उहाँको कलम चालीसको दशकसम्म कथा विधामा भने निरन्तर थियो । उहाँका “पीपलको बोटमुनि”(२०३९) तथा “एकान्तका आफन्तहरू”(२०५५) दुई कथा सङग्रहहरू प्रकाशित छन् ।
संस्मरणात्मक निबन्ध, कविता, मुक्तक आदिमा पनि उहाँको कलम चलेको थियो तर ती पुस्तकाकरमा आएका छैनन् ।
उहाँ विशेषगरी “अभिब्यक्ति” पत्रिकाका माध्यमबाट नेपाली साहित्यमा बढी चिनिनुहुन्थ्यो । विसं २०२७ सालदेखि निरन्तर रुपमा उहाँले अभिव्यक्ति पत्रिकाको सम्पादन प्रकाशन गर्दै आउनु भएको थियो ।
उहाँले साहित्य तथा साहित्यिक पत्रकारितामा योगदान पु-याउनु भएबापत “भवानी साहित्यिक पत्रकारिता पुरस्कार”(२०४६), मैनाली कथा पुरस्कार (२०५५), धुस्वाँ सायमि सिर्जना पुरस्कार(२०६१) लगायतका पुरस्कार प्राप्त गर्नु भएको थियो ।
विसं २०७७ सालमा उहाँको भव्य अभिनन्दन गरिएको थियो । जनस्तरबाट यो ठूलो सम्मान थियो ।
उहाँका श्रीमती र दुई छोरा रहेका छन् ।
०००
