२७ चैत २०८२, काठमाडौं
मञ्जुश्री साहित्यिक समाजको एघारौं वार्षिकोत्सव समारोहमा १५ हजार १२५ राशीको विपी– भूपी साहित्यिक पुरस्कार साहित्यकार शान्ति सापकोटालाई तथा १५ हजार १२५ राशीकै मञ्जुश्री पुरस्कार साहित्यकार ज्ञाननिष्ठ ज्ञवालीलाई प्रदान गरियो । दुवै पुरस्कारको राशी जनही रु १५ हजार १२५ रहेको छ ।
संस्थाका अध्यक्ष कवि डा.बमबहादुर थापा ‘जिताली’को सभापतित्वमा आयोजित समारोहमा पुरस्कार प्रदान गर्दै साहित्यकार प्रा.डा. रामकुमार पाँडेले नेपाली साहित्यलाई विश्व स्तरमा चिनाउन राज्यका निकायहरुले सक्रिय रुपमा सकारात्मक भूमिका खेल्न अत्यावश्यक रहेकोतर्फ जोड दिनुभयो ।
त्यसअवसरमा पुरस्कृत व्यक्तित्वद्वय सापकोटा तथा ज्ञवालीकासाथै मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपाने, लिलाध्वज थापा प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापालगायतले साहित्यको समृद्धिका लागि साहित्यिक संस्थाहरुको भूमिका सबैभन्दा प्रभावकारी हुने बताउनुभयो ।
विपी–भूपी पुरस्कारका संस्थापक श्रीरामसिंह बस्नेतले पुरुष स्रष्टा र नारी स्रष्टालाई प्रत्येक वर्ष आलोपालो गरी प्रदान गरिने उक्त पुरस्कारबाट हालसम्म प्रल्हाद पोखरेल, श्रेष्ठ प्रिया पत्थर, डा.कृष्णहरि बराल, रञ्जु दाहाल र युवराज मैनाली पुरस्कृत भईसक्नु भएको जानकारी दिनुभयो । यसैगरी मञ्जुश्री पुरस्कारबाट भुवनहरि सिग्देल,डा.अम्विका अर्याल र अञ्जना अनुश्रुति पुरस्कृत भईसक्नु भएको छ ।
मञ्जुश्री साहित्यिक समाजले नियमितरुपमा विभिन्न साहित्यिक दिवसहरु मनाउनुकासाथै हालसम्म ८२ औं पटक अनलाइन कवि सम्मेलन आयोजना गरिसकेको छ ।
०००
(सुभाषचन्द्र पौडेल ‘भिमफेदिया’ काठमाडौंको सहयोगमा)
