गाड़ीभित्रको यात्रा

कविता

नवीन पौड्याल, कालिम्पोङ

 

कति चाँड़ो समय बित्दछ

काला केश सेता भए,

कच्चा सड़क चिल्ला भए

चिल्ला सड़क खस्रा भए ।

बिरूवा रूख भए, हरिया रूख बुढा भए।

 

कति वर्ष भयो गाड़ीको यात्रा

अझ त्योभन्दा बढी गाड़ीभित्रको यात्रा

दैनिक पाँचजनाको गाडीको यात्रा

दैनिक ओहोरदोहोर

दैनिक उही उकाली ओराली

दैनिक दृश्य उही गाड़ी

दैनिक उही ड्राइभर उही बाटो।

सबै उही फरक भयो समय।

 

कोही दिन खुशी कोही दिन दुःखी हुन्थे

गाडीभित्रको सानो संसार..

गाडीभित्र मानिसको वास्तविक परिचय हुन्थ्यो।

गाडीभित्रै सम्बन्ध स्थापना र विच्छेद हुन्थे।

गाड़ीभित्र गफ हुन्थे, राजनैतिक गफ हुन्थे,

चर्काचर्की, हाँस खेल ठट्टा रमाइलो।

 

गाड़ीभित्रबाटै अनेक देखिए।

गाड़ीभित्र मान्छे बदलिए

गाडीबाहिर पनि मान्छे बदलिए

नयाँ घर पुराना भए

पुराना घर नयाँ भए

कति थपिए, कति रङ्गिए

कालो केशका मान्छेको केश सेता भए

कति परिचित अनुहार हराए

कति बिलाए कति टाडिए।

मान्छेभित्रको मान्छे नै बदलिए ।

 

कहिले झरी कहिले बतास कहिले हुण्डरी

कहिले घाम कहिले छायाँ

गाड़ीभित्रको यात्रासितै मनको यात्रा

गाडीभित्रको यात्रासितै विचारको यात्रा कुद्यो

गाडीभित्रको रमाहट र हाँसोको फोहोरा

कहिले गाड़ीभित्रै ठुस्काठुस्की

कहिले गनगन कहिले गुनासो

कहिले टीका टिप्पणी, कहिले गुणगानका कुरा

कहिले ज्ञानगुनका कुरा।

गाड़ीभित्र गीत बजे

गीतसितै रूचि बदलियो

गीतको रूचिसितै स्वभाव, विचार चिनियो

स्वभावसितै गुण जानियो।

जीवन यसैबाट बुझियो

हाम्रो जिन्दगीको यात्रा त

गाडीभित्र र गाडीबाहिरसितै कुदिरहेछ, कुदिरहेछ।

आहा ! अनुपम अनुभव रोचक संस्मरण !

गाड़ीभित्रको यात्रा चलिरहेछ, चलिरहेछ चलिरहेछ।

 

०००