सापसद्वारा सर्जकहरू सम्मानित

मुख्य समाचार

१९ चैत्र २०८१,काठमाडौं ।

साहित्यिक पत्रकार सङ्घले ४५ औं कथा दिवसको अवसरमा भवानी साहित्यिक पत्रकारिता सम्मानबाट साहित्यिक पत्रकार रमेश पोखरेल (कार्यकारी सम्पादक, शब्द संयोजन मासिक) र साहित्यिक पत्रकार प्रवीण जोशी (शृङ्खला साहित्यिक मासिकको संपादक/प्रकाशक), लोकप्रिया पुरस्कारबाट साहित्यकार प्रतिसरा सायमि, व्यथित काव्य सम्मानबाट कविहरू विमला तुम्खेवा र मीनकुमार श्रेष्ठ ‘नवोदित’लाई प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ कलाकार के के कर्माचार्यले सम्मान र पुरस्कार समर्पण गरे ।
वरिष्ठ समालोचक प्रमोद प्रधानले सम्मानित र पुरस्कृत स्रष्टाहरूको परिचय दिएका थिए । यसैगरी सो सम्मान र पुरस्कारका चयनका बारेमा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ “रोदन”ले मन्तब्य प्रकट गरेका थिए ।
कार्यक्रममा सम्मानित र पुरस्कृत सर्जकहरू रमेश पोखरेल, प्रवीण जोशी, प्रतिसरा सायमि, विमला तुम्खेवा र मीनकुमार श्रेष्ठ ‘नवोदित’ले पनि आआफ्नो मन्तव्य राखेका थिए ।
साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षता सम्पन्न सो कार्यक्रममा सङ्घका कोषाध्यक्ष पद्मावती सिंहले धन्यवाद ज्ञापन गरेकी थिइन् ।
शारदा मासिकका सम्पादक विमल भौकाजीले लघुकथा वाचन गरेर उद्घाटन गरिएको सो कार्यक्रमको सञ्चालन कवि एवं कथाकार मणि लोहनीले गरेका थिए ।
संघले जनाए अनुसार व्यथित काव्य डायस्पोरा सम्मानबाट सम्मानित गरिने घोषणा गरिएका कविहरू लालगोपाल सुवेदी र दीपा राई पुन अमेरिकामा रहनु भएकोले पछि प्रदान गरिने भएको छ ।

०००