नेपाल भाषाका कवि सुरेश किरणको अवसान

मुख्य समाचार

२६ फागुन २०८२, काठमाडौं

नेपाल भाषाका शक्तिशाली कवि, पत्रकार, ब्यङ्ग्य लेखक तथा साँस्कृतिक निबन्ध लेखनका सिध्दहस्त प्रतिभा सुरेश किरणको हृदयाघातको कारण २५ फागुन २०८२ का दिन देहान्त भएको छ । उनी पछिल्लो समय भाषा आयोगका सदस्य रहेका थिए ।
वि.सं.२०२३ सालमा जन्मेका उनले नेपाल भाषाको पत्रिका ‘ईनाप’ बाट पत्रकारिता सुरु गरेका थिए ।
उनले नागरिक दैनिक, कान्तिपुर दैनिक, नेपाल म्यागाजिन, गोरखापत्र, नेपाल समाचार पत्र, रातो पाटी, सेतो पाटी लगायतमा नियमित रुपले साँस्कृतिक लेख, समसामयिक राजनैतिक लेख तथा ब्यङ्ग्य लेख्ने गर्दथे ।
उनी सन्ध्या टाइम्स, नेपाल भाषा टाइम्स लगायतका पत्रिकाको सम्पादनको जिम्मेवारीमा पनि रहेका थिए ।
उनको संलग्नता अप्सरा फिल्म म्यागाजिन, कोशल्वहं चिनाखँ स्वलापौमा समेत रहेको थियो । उनी नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित हुने थाय्भू पत्रिकाको सम्पादक मण्डलमा समेत रहेका थिए ।
उनको नेपाल भाषामा ” ‘थौं घन्टाघरं जिके ई न्यनाच्वन’ आधुनिक कविता सङ्ग्रह प्रकाशित छ । साथै पद्मरत्न तुलाधरको जीवनी ‘पद्मरत्न तुलाधर’ समेत प्रकाशित छ । यसका साथै उनको शोधपत्र ‘२०४६ साल जनआन्दोलनय् विश्वभूमि न्हिपौया भूमिका’समेत प्रकाशित रहेको छ ।
उनका नेपाल भाषाका कविताहरुको नेपाली अनुवाद समेत विभिन्न पत्रपत्रिकामा प्रकाशित रहेका छन् ।