सर्वज्ञ वाग्ले, क्यालिफोर्निया
इतिहास कहिलेकाहीँ
तोपको गर्जनले होइन,
मौन निर्णयको धड्कनले मोडिन्छ।
ल्हासा
प्रार्थनाले बाँचेको शहर,
जहाँ मन्त्रहरू हावामा तैरिन्थे
र हिउँले देवताका पाइला ढाक्थ्यो।
१९५९ को मार्च,
अफवाहहरू
आगोझैँ फैलिन थाले
करुणाको अवतार
अब निशानामा छ।
नोरबुलिङ्का वरिपरि
मानिसको पर्खाल उभियो
न हातमा हतियार,
न मुखमा नारा,
मात्र एउटै प्रार्थना
“हाम्रो लामा बाँचून्।”
चिनियाँ निमन्त्रणा आयो
संस्कृतिको नाममा
षडयन्त्रको छाया।
अंगरक्षकबिनाको आग्रह
नम्र भाषामा लुकाइएको
बन्दीको योजना।
जनताले पढे
ती मौन अक्षरहरू,
र भीडले बुझ्यो
यो उत्सव होइन,
यो अन्त्यको सुरुवात हो।
तोपहरू सरे,
आकाशले सुने
पहिलो विस्फोटको चेतावनी।
हिमालले गुन्गुनायो
अब ढिला नगर्नू।
र त्यस रात,
धर्मगुरु
राजा भएनन्,
देवता रहेनन्
एक साधारण सैनिक बने।
चश्मा उतारेर
दृष्टि होइन,
अहंकार त्यागियो।
काँधमा राइफल,
मनमा शून्यता।
तीन समूहमा फुट्यो
इतिहासको रेखा
गुरुहरू,
परिवार,
र अन्त्यमा
करुणाको वाहक स्वयं।
आमा र बहिनी
पुरुष बने,
लिङ्गले होइन,
साहसले पहिचान बदलियो।
रातले
सबैलाई लुकायो।
भीड पार भयो,
तर भविष्य अपार थियो।
“भोलि देखिन्छ कि देखिँदैन,”
त्यो प्रश्न
हिउँजस्तै टाँसिएको थियो
श्वासमा।
चेलाहरू पुग्दा
पहिलो पटक
प्राणले विश्राम लियो।
घोडाहरू आए
मानौँ पृथ्वी स्वयं
उद्धारका लागि उभिइन्।
घोडाको पीठबाट
एक अन्तिम दृष्टि
ल्हासतिर फर्कियो
आँखामा आँसु थिएन,
किनकि त्यो विदाइ
व्यक्तिको होइन,
युगको थियो
जसरी बुद्धले राज्य त्यागे,परिवार त्यागे
त्यसैले त आज धर्मको बाटो संसारलाई देखाईरहेका छन्।
कीचू नदी पार गरियो
पानीले
पछाडिको संसार मेटायो।
ब्रह्मपुत्र पार गर्दा
इतिहासले
सीमा चिन्यो।
हजारौँ सैनिक,
तर एक पनि
करुणालाई
बन्दी बनाउन सकेन।
अमेरिकासम्म पुग्यो
सन्देश
“उहाँ सुरक्षित हुनुहुन्छ।”
र संसारले सास फेर्यो।
तर यो केवल
एक व्यक्तिको बचाइ थिएन।
त्यो थियो
धर्मको पलायन,
संस्कृतिको विस्थापन,
र आशाको पुनर्जन्म।
नेपाल
हिमालको काखमा छ,
जहाँ शरण
राजनीति होइन,
संस्कार हो।
दलाई लामा
सिंहासनबाट ओर्लिएर
तीर्थयात्री बने,
र विश्वले बुझ्यो
साँचो शक्ति
सेनामा होइन,
करुणामा हुन्छ।
आज पनि
जब हिमाल मौन हुन्छ,
चीसो सिरेठोले पनि गुन्गुनाउन शुरू गर्छ ।
त्यो एक रात,
एक लामाका साथमा लाखौं-लाख आत्मा
अन्धकार पार गर्दै हिँडे,
र उज्यालो बुद्ध बनेर
उनको पछि,पछि उदायो
हो हिमालले खेपेको शरणमा
संसारलाई लुम्विनीको याद गरायो ।
