साहित्यिक पत्रकार अच्युतरमण अधिकारीको अवसान

मुख्य समाचार

२८ पौष २०८२, काठमाडौं

नेपाली साहित्य जगतमा विशेष गरी साहित्यिक पत्रकारको रुपमा सुपरिचित साहित्यकार तथा त्रिभुवन विश्वविद्यालयका निबृत्त प्राध्यापक अच्युतरमण अधिकारीको २८ पुस २०८२ का दिन काठमाडौंमा निधन भएको छ ।
विसं २००८ साल बैशाख ५ गते डुम्रे खोटाङमा जन्मेका उनले विसं २०१९ सालमा नेपाल पत्रिकामा “नेपालका गाउँमा” कविता प्रकाशन गरी साहित्यिक क्षेत्रमा उदाएका उनी प्राध्यापन, साहित्यिक गतिविधि र साहित्यिक पत्रकारितामा बढी सक्रिय भए ।
उनले लामो समय “उन्नयन” साहित्यिक त्रैमासिक पत्रिकाको सम्पादन तथा प्रकाशन गरे । उनले प्रकाशन गरेका उन्नयनका भूपि स्मृति अङ्क, केशवराज पिंडाली विशेषाङ्क, मदनमणि दीक्षित विशेषाङ्क, सुब्बा ऋध्दिबहादुर मल्ल विशेषाङ्क, ईन्द्रबहादुर राई विशेषाङ्क, भिक्षु  विशेषाङ्क नेपाली वाङ्मयका दुर्लभ उपहार हुन् ।
उनकै नेतृत्वमा साहित्यिक पत्रकार सङ्घबाट पञ्चायतकालमै साहित्यकार विश्वेश्वरप्रसाद कोइरालालाई अभिनन्दन गरिएको थियो ।
उनका दुई समीक्षात्मक कृतिहरू “विवेचनै विवेचना” (२०४६) तथा “मूल्याङ्कन तथा समीक्षा” (२०४७) प्रकाशित छन् । उनले मदन पुरस्कार गुठीको पत।रिका नेपाली माथि “‘नेपाली’ रचनात्मक मूल्याङ्कन” (२०४७) लेखेका थिए । उनले एक महाकाब्य समेत लेखेका थिए “गुरू प्रसाद मैनाली” (२०६८) ।
उनले “लक्ष्मीदेवी राजभण्डारीः मुल्याङ्कन र विश्लेषण”(२०५४) कृति सम्पादन गरेका थिए ।
उनले धरणीधर पुरस्कार (२०४५), भवानी साहित्यिक पत्रकारिता पुरस्कार(२०६०) लगायतका पुरस्कार पाएका थिए ।
पछिल्लो समय उनी विस्मृतिको रोगले थलिएका थिए ।