२८ पौष २०८२, काठमाडौं
नेपाली साहित्य जगतमा विशेष गरी साहित्यिक पत्रकारको रुपमा सुपरिचित साहित्यकार तथा त्रिभुवन विश्वविद्यालयका निबृत्त प्राध्यापक अच्युतरमण अधिकारीको २८ पुस २०८२ का दिन काठमाडौंमा निधन भएको छ ।
विसं २००८ साल बैशाख ५ गते डुम्रे खोटाङमा जन्मेका उनले विसं २०१९ सालमा नेपाल पत्रिकामा “नेपालका गाउँमा” कविता प्रकाशन गरी साहित्यिक क्षेत्रमा उदाएका उनी प्राध्यापन, साहित्यिक गतिविधि र साहित्यिक पत्रकारितामा बढी सक्रिय भए ।
उनले लामो समय “उन्नयन” साहित्यिक त्रैमासिक पत्रिकाको सम्पादन तथा प्रकाशन गरे । उनले प्रकाशन गरेका उन्नयनका भूपि स्मृति अङ्क, केशवराज पिंडाली विशेषाङ्क, मदनमणि दीक्षित विशेषाङ्क, सुब्बा ऋध्दिबहादुर मल्ल विशेषाङ्क, ईन्द्रबहादुर राई विशेषाङ्क, भिक्षु विशेषाङ्क नेपाली वाङ्मयका दुर्लभ उपहार हुन् ।
उनकै नेतृत्वमा साहित्यिक पत्रकार सङ्घबाट पञ्चायतकालमै साहित्यकार विश्वेश्वरप्रसाद कोइरालालाई अभिनन्दन गरिएको थियो ।
उनका दुई समीक्षात्मक कृतिहरू “विवेचनै विवेचना” (२०४६) तथा “मूल्याङ्कन तथा समीक्षा” (२०४७) प्रकाशित छन् । उनले मदन पुरस्कार गुठीको पत।रिका नेपाली माथि “‘नेपाली’ रचनात्मक मूल्याङ्कन” (२०४७) लेखेका थिए । उनले एक महाकाब्य समेत लेखेका थिए “गुरू प्रसाद मैनाली” (२०६८) ।
उनले “लक्ष्मीदेवी राजभण्डारीः मुल्याङ्कन र विश्लेषण”(२०५४) कृति सम्पादन गरेका थिए ।
उनले धरणीधर पुरस्कार (२०४५), भवानी साहित्यिक पत्रकारिता पुरस्कार(२०६०) लगायतका पुरस्कार पाएका थिए ।
पछिल्लो समय उनी विस्मृतिको रोगले थलिएका थिए ।
