गोविन्द पौडेल, काठमाडौं
पटकपटक तेस्रो विश्वलाई सम्बोधन गरिएका खिरिला र चिरिच्याँट्ट परेका आधुनिक गद्य कविताभरि आफू हुनुको अस्तित्व छामिरहनु पर्ने , समाज जस्तो छ त्यस्तै बोध गरिरहनुपर्ने , छाती चस्काइरहनुपर्ने , परेला भिजाइरहनुपर्ने , वस्तुतः खैरो रङको समाज भित्रकै सप्तरङ्गी कवि हुन् विश्व सिग्देल ।
यिनै जिउँदा जाग्दा कवि विश्व सिग्देलले भोगेको युग तालीको समाजशास्त्र कविता संग्रहमा सर्लक्क लेखेका छन् ।
कविता संग्रहको विचरण गरी हेर्दा पाठकहरू कविलाई कहिले माझीको रुपमा जिन्दगीको डुङ्गा खियाइरहेको पाउँछन्। कहिले मजदुरको रुपमा मजदुरी गरिरहेको पाउँछन्। कहिले आफू हुनुको अस्तित्व छामछाम छुमछुम गरिरहेको पाउँछन् । वास्तवमा कवि सर्वत्र डुलेका छन् । खालीखुट्टे, जोगी र थाङ्नेहरूलाई मुटुभरिको प्रेम गर्न पुगेका छन्। सयपत्री जस्तै पत्रपत्रमा कविताको रङ भरेका छन् र आफ्नो कलमलाई विचलित हुन दिएका छैनन् ।
कुनै समय एउटा सडक टाँसिदिएका थियौ आँखामा
भन्ने भाव बोकेर समय इतिहास पैसा सडक दर्शन अनि पटकपटक सम्बोधन गरिने तिमीसँग भलिभाँती खेलेका छन्।
गद्य कविताका जीवन्त र खिरिला इमेजरीहरूमा आफूलाई डुलाएका र भुलाएका कवि सिग्देल कैंचीको मुटु चलाउने तमाम मजदुरहरूप्रति सहानुभूतिको सग्लो निलो पहाड बोकेर उभिएका छन्। अहिलेको पुस्ताले भोगेको देश , देखेको देश , छामेको देश , अँगालेको देश , थुकेको देश , आधारभूत वर्गको गल्ली , भित्तो , गल्छेडो काटेर पटक्कै जान नमानेको प्रजातन्त्र , नयाँ जनवाद र लोकतन्त्र सबै सबै तन्त्रहरूमा जुगौंदेखि लागेको खिया र जुगौंदेखि उडेको कुइरी मण्डल धुलो भित्र जम्छ विश्वको कविता :
दुःखको कविता
लेख्दै कवि शब्दहरूलाई यथास्थानमा
ससम्मान राखेर दुःखको
पिरामिड उभ्याउन चाहेँ ।
पत्थरको महलका सुन तामा गाल्ने
छाती पगाल्ने
धुलाम्मे बाटो छेउ
आगो जोडेर
प्रचण्ड गर्मीमा मकै पोल्ने
लेख्न चाहेँ ।
सेतै फुलेकी आमैको कविता लेख्न चाहेँ
भनि बस्छन् ।
हामी विनम्र उभियौं
सिता क्यानभासमा
तिमीले पहिलो कुर्ची चलायौ
हामी विनम्र उभियौं ।
कुमारीचकित केही उत्सुकता कताकता
मिठो पीडा अव्यक्त डर
जस्तो हामी यसरी
विनम्र उभियौं !
साधारण शीर्षकको यो कविता आफ्ना असाधारण उपमा र प्रतीक भित्र कविताको केन्द्रीय भाग हत्तपत्त बुझिनसक्नु बनेर पहाड जस्तै चुनौती दिएर बस्छ।
कथित पहिलो विश्वले हामीलाई विकासको परिभाषा दियो। विकासको रूप , रङ्ग , रोगन , सीमा र आस्थाहरू दियो । हामीलाई तेस्रो विश्व भन्यो । थाङ्ने र माग्ने भन्यो । गरिब र दुःखी भन्यो । असभ्य र गवार भन्यो । अशिक्षित र मूर्ख भन्यो । हामीले चुपचाप मान्यौं परन्तु पहिलो विश्वसँग पनि समस्याहरूको चाङ रहेछ । पिरोलो र दुःखको पहाड नै रहेछ । बदमाशी र अपराधका कथाव्यथा पनि लेखिँदा रहेछन् । जम्माजम्मीमा पहिलो विश्व पनि उदासी , अभाव र चमक दमक भित्र एउटा शान्त जीवन नै खोजिरहेको रहेछ।
भोकाएका छोराछोरी नजिकै राखेर
खडेरी परेको साल जन्मेकी
बालिकाको अस्तित्व जस्तै
एउटा हाँस
एउटा विश्वास
भोका छोराछोरी नजिकै
राखेर उहाँ बोल्नुभएछ।
अन्न रहुन्जेल घुन
घुन रहुन्जेल अन्न।
घुन त शुभ संकेत हुन् ।
ईश्वर मरेको घोषणा
फेरि सुन्नु परेन मेरा बाले
घोषणा लगत्तै ठूलो खडेरीको साल
हाम्रा जीवाले मकै खोस्ट्याउँदा
एक होइन दुई होइन
बीसौँ बीसौँका घुनलाई
ईश्वरहरू गोडाहुँदी उँभो लागेपछि भन्नुभएछ
अन्न रहउन्जेल घुन
घुन रहुन्जेल अन्न
घुन त शुभ संकेत हुन्।
प्रस्तुत कविताले ईश्वर दार्शनिक नित्से , किसान र पुँजीवादी युगमा विकसित नानाभाँती मिसिन , संस्कृति र उपभोक्तावादलाई चित्रण गरेको छ । हाम्रो सांस्कृतिक धरातल कसरी र कुन हदसम्म विकृत हुँदै गइरहेको छ भन्ने मूलभाव रहेको निज कविता वर्तमान युगको भरभराउँदो सत्य हो। कविलाई पटकपटक गाउँ बोलाउने गाउँलेहरू कविसँग पनि गाउँको सग्लो चित्र माग गर्दछन्। गाउँ चटक्कै बिर्सेकोमा कविसँग असन्तुष्ट छन्। त्यसैले उनीहरू भन्छन्-
कसका लागि सहरमा तिमी कविता लेख्छौ ?
तिम्रा अवसादका फेहरिस्तमा
सबै लिपिबद्ध तर
छोपिएका छन् गाउँका बिम्बले
अब कसले सोधिदिने
तिम्री आमालाई ?
जुन बाटो गयो
उनको पछ्यौरीको रातो रङ
लिएर नहिडिकन त्यो बाटो
उनको रगतले पनि धर पाउँछ के?
तिमी सर्वदाका पातमा कविता लेख्थ्यौ।
शीत पढ्थे
पधेराका ढुङ्गामा कविता लेख्थ्यो
ठूला टाउकामा नाच्ने चेपागाँडाहरू पढ्थे।
फट्याङ्राहरु पढ्थे। ड्याङमा लेख्थ्यौ
गडौला पढ्थे
धान पाक्दा सबले नाभो भने
अग्ला बालालाई
तर ती
तिम्रा कविता थिए !
गाउँका प्रत्येक व्यक्ति कवि हुन् । वास्तवमा भन्ने हो भने किसान कवि हो। भरिया कवि हो। रोपाहार कवि हुन् । गीताङ्गेहरू कवि हुन् । आमाहरू कवि हुन् । नानीहरू कवि हुन् । अँ त है ! गाउँमा को चाहिँ कवि होइन भन्नुहोस् त । नदीको पानी , जङ्गलको हावा , चरिचरण गरेर फर्किएका गाईका गोडाले उडाएको धुलोले बनेको गोधुली साँझ , आहा ! बास बस्न लागेका चराहरू ! बिहान सबेरै बिउँझिएका चराहरू सबै सबै त कवि हुन् । शब्द मात्र कविता कहाँ हो र ? भावना पनि कविता हो। हामीले भाषा पो बुझ्न जान्नुपर्छ । तर सहरमा कविताको खडेरी पर्दै गएको छ। वास्तवमा भन्ने हो भने सहरमा कुनै कविता नै छैन । सहरमा केवल स्वार्थ छ । आँसु छ । दुरी छ । लौ त भनौँ भने सहरमा नै त छ साँच्चैको अभाव । दूरी सहरमा नै छ । चिसोपना पनि यतै छ । तितो पनि यहीँ ।
हामीले त हाम्रो हातको
ताली नजान्दै बालखैमा
नामसारी गरिदिएछौँ।
नमान्दा नमान्दै मनले
जो भिडको पछिपछि हिँड्छ।
जो सत्ताको समर्थनमा
निरन्तर घन्किरहन्छ
सदनमा जो बनेको छ
तिम्रो हतियार र निहत्था हामी
पूजाको हरेराम
नाचको पैतालाको ताल
चुड्काको चटक भन्दा
उत्तरोत्तर झागिएको बजार
र उपभोक्ताको काँध चढी मल र मल्टिप्लेक्स
बजाइरहेछन् डमरु
सँगसँगै बजिरहेछन्
हाम्रा हातमा नभएका
तर हाम्रा ताली अन्धो
बिल्कुल अन्धो हुन्छ ताली
र कवितालाई बजेको
ताली गन्दै बसिरहेछ बजार।
हाम्रो समाजको आलोचनात्मक चेतना अत्यन्त कमजोर छ। चिजहरूलाई हेर्ने वस्तुवादी दृष्टिकोण लगभग शून्य प्राय छ। धारणा बनाउने वस्तुवादी सोच पनि हाम्रा पूर्व धारणाहरूले गर्दा बिल्कुलै स्वतन्त्र छैन हामी उभिएको सत्यको धरातल अत्यन्त कमजोर छ। जता मल्खु त्यतै ढल्कु भनेजस्तै हामी पानीका फोका जस्तै अरुकै निर्देशनमा अरुकै नियन्त्रणमा हाम्रो यात्रा तय गरिरहेका हुन्छौं। हामी वास्तवमा दिशाहीन छौँ। अलमलिएका छौं र बाटो भुलेको यात्री जस्तै ट्वाल्ल परेर बसेका छौँ । हाम्रा हातहरु स्वतन्त्र छैनन्। हाम्रो दिमाग स्वतन्त्र छैन। हामीले बजाउने ताली स्वतस्फुर्त छैन। हामीलाई बजाउन लगाइएको छ । एक आपसमा ठोकाउन लगाइएको छ। हामी ठोकिन बाध्य छौं । हाम्रो स्वतन्त्रता छिनिएको छ । यद्यपि सबैभन्दा विचित्रको कुरा चाहिँ के छ भने हाम्रो यो हाल , हालत , दशा र बाध्यताभित्र पश्चातापको कुनै छाप देखिँदैन । अप्ठ्याराको कुनै दोष देखिँदैन। बालखैमा हामीलाई बजाउन सिकाइएको ताली , सोच्न सिकाइएको दिशा र बोल्न सिकाइएको शब्द क्रमश मधुर , शान्त र विलीन हुँदै गएका छन्।
समाजका प्रत्येक क्रियाकलाप अकारण हुँदैनन् । हरेक क्रियाको अर्थ हुन्छ। प्रतीकात्मक अर्थ । सांस्कृतिक अर्थ ।
प्रकार्यपरक अर्थ ।
द्वन्दात्मक ।
उद्देश्यमूलक । शोषणमूलक । नियमनकारी अनि मूल्य मान्यतापरक इत्यादि ।
जनतालाई मुलुकको मालिक बनाउँछु भन्दै अग्निमय भाषण गर्ने बामपन्थी चेतनाका धनी उग्रवादी कमरेडहरू दाह्री पाल्ने , झोला बोक्ने , फाट्न आटेका जुत्ता लगाउनेहरू आज व्यावहारिकता र सम्झौताको मन्त्र जप्दै जनताको घर आँगनबाट धेरै टाढा भइसकेका छन् । उनीहरुका वाचा , बन्धन , सपना र सङ्घर्षहरू एकादेशको कथा भइसकेका छन् । उनीहरु दुरको क्षितिजमा देखिदै गरेका टिमटिमाइरहेका ताराहरू जस्तै प्रकाशका पुन्ज हुन् भन्ने ठानिन्थ्यो । जो रहेनन् बिलकुनै तेस्ता रहेनन् ।
मुलुकको यो खुइलिएको चित्र देख्दा कवि सिग्देल गोल्ड स्टार जुत्ता र सिद्धान्तको विचलनप्रति आहत भएका छन्। बालबालिकाको दृष्टिकोण र सोच तय गर्ने शिक्षा प्रणाली हो कि ?सांस्कृतिक मूल्यहरू हुन् अथवा अर्को कुनै अदृश्य तत्त्व हो ? अथवा उही पहिलो विश्व हो जसका कारण हाम्रा नानीबाबुहरू अहिले हाम्रा जस्ता लाग्दैनन् । हाम्रा नानीबाबुहरू अहिले आफ्नै आमाको काखमा बस्दैनन् । चिन्दैनन् । आफ्नै आमाको भाषा बोल्दैनन् । यो के हो? कसले बनाइरहेछ हामीलाई खुइले बाँदर ? कसरी हुँदै गएका छौं हामी घरका न घाटका ? कसरी हराइरहेका छन् काग सहरको बाक्लो कुहिरो भित्र ? किन सुनिँदैन कोइलीको मिठो बोली ? रुख पात्र पतिङ्गरभित्र ?
नाङ्गो साबुन
अहिलेको सत्य करिब करिब जस्ताको त्यस्तै बताउन सक्ने ल्याकत बोकेको यो कविता सत्यलाई जस्ताको तस्तै बताउन रुचाउँछ। फेरि पनि कुरा तेस्रो विश्वकै आउँछ। थाङ्ने , माग्ने र टाटेपांग्रेहरूकै आउँछ । पसिनाको दुर्गन्ध पखाल्ने नाङ्गो साबुन हाम्रो जिउभरि दलिदै गर्दा के हामी सुगन्धित हुन सक्छौं ? हामी सुगन्धित भइसक्यौँ हो ? हामी कसरी बाँचेका छौं ? कसरी बाँच्न सक्दा हौँ ?
साबुन कुनै एउटा पदार्थ या वस्तु मात्र होइन । साबुन सत्य पखाल्ने चिज हो या सत्य देखाउने चिज हो ? साधारण बिम्ब भित्र असाधारण सत्य र तथ्य पस्किन सक्ने क्षमता भएका दमदार कवि नाङ्गो साबुन कवितामा अहिलेको युगलाई शानदार तरिकाले देखाउन निपुण छन्।
पहिचान परिवर्तित हुँदै जाँदो हो। मूल्यहरू बदलिदै जालान् । परिवर्तन आत्मसात नगरी सुख छैन। तर कस्तो परिवर्तन ? कस्तो पहिचान ?
हामीलाई माटोको मूल्य नबुझ्ने पहिचान चाहिँदैन। माटो खोसिने पहिचान चाहिँदैन। सागको त्यान्द्रो साटेर खैनीको बट्टा हामीलाई चाहिँदैन। मह साटेर क्रिम चकलेट चाहिँदैन।
हामी जे छौँ जस्ता छौँ यस्तै छौँ त अब कसको के लाग्छ ? हामीलाई कम्तीमा हाम्रो माटो चाहिँ प्यारो छ।
माटोमा सम्झौता हुनै सक्दैन । माटोभन्दा प्यारो पुँजी हुँदैन । आमाको गीत भन्दा अर्को कुनै गीतमा रुचि हुँदैन तर विडम्बना सबै सबै पहिले नै तय थियो भन्ने कविको भावना जस्तै हामी दिनदिनै एउटा खास मोडलमा , एउटा खास आकारमा र एउटा खास आयतनमा बदलिँदै छौँ ।
आफ्नो खोलभित्र खुम्चेर बसेको कछुवा जस्तै हामी कुनै एउटा खास परिधि र सिस्टम भित्र खुम्च्याइँदैछौँ। कोचिँदै छौं । यो एकदमै प्राकृतिक छैन। यो बिल्कुलै स्वभाविक छैन। यो सिस्टम प्रेरित छ प्रायोजित छ । नियोजित छ । यही अस्वाभाविक बदलाव र खुम्च्याइलाई कविले पाखुराहीन हुँदै गएको हेलम्बुलाई प्रेसर , कुकरको सिठी , सबै तय थियो , सालको पात , पत्र : साथी र शासकलाई जस्ता कविताहरू मार्फत त्यही अदृश्य शक्तिलाई कविले सूक्ष्म सङ्केत गरेका छन्।
पत्र : साथी र शासकलाई
मलाई कुनै टाढाको
ताराको कथा लेख्नु छैन
छिचोल्नु छैन
कुनै सुदुर संस्कृति
प्रेरणादायी कथाहरू सुन्नु छैन युद्धका
मेरी बुढीआमै
अझै पनि एक्लै चलाउँछिन् घर
एक्लै बिल्कुल एक्लै
दैनिकी
जीर्ण छ घर।
यद्यपि उनी
रातो माटोले पोत्छिन्
कमजोर भागमा दिन्छिन् टेको
मुसाका प्वाल छ्न्
चुलो विजय पताका जस्तै
लहराउँछ मेरा धुरीबाट धुवाँ !
बुढेसकालमा एक्लै घर चलाउने बहादुर आमा , जो युगले भुलेको नारीको कथा चुलाको पोताइभित्र भित्ता टाल्दै , कुचो लगाउँदै र इनारको पानी झिक्दै लेखिरहेकी छिन्।
वास्तवमा आमाहरू वृद्ध हुनै सक्दैनन् । उनीहरु वृद्ध हुनै मिल्दैन । कसले पोत्ने कमेरो माटोले घर ?
कसले रोप्ने आँगन छेउमा भाले फूल ?
कसले बार्ने औँसी , पूर्णिमा, एकादशीहरू ?
भौतिक रूपमा आमाहरू मरेर जान्छन् तर आमाहरू त वृद्ध हुनै मिल्दैन । आमाहरु त वृद्ध हुनै पाउँदैनन्। किनकि घर जो छ आफ्नै हातले बोक्नुपर्ने । छानो जो छ आफ्नै कपालका केसराहरुले छाउनुपर्ने ! त्यसैले ए कवि हो : आमाहरूलाई कहिल्यै फुर्सद हुँदैन ।
सपनाको अर्थ
भुइँ बिर्सी
आकाश अन्तिम सत्य भन्दै
उडेको भुइँँचरो
फ्यात्त खस्छ।
सपनामा झस्कन्न
म
घस्रिरहन्छु भुइमै
सपना देख्दा देख्दै
सपनाभित्रै यो सपना हो है
भनी उमारेर बोध
सपना देख्ने गर्छु आजकल
सक्दैन मेरो सपनालाई अर्थ्याउन
फरक माटोको फ्रायड
बनेको हुन्छ
जुन माटोले मान्छे
त्यही माटोले बनेको हुन्छ सपना
फ्रायड , सपनाको रहस्य पूर्वीय दर्शन सांस्कृतिक मूल्यहरू बीच हरेक व्यक्तिले आफूले देख्ने गरेको सपनाको अर्थ लगाइरहेको हुन्छ। सपनाको आधार सपनाको प्रकार र सपनाले दिने मानसिक द्वन्द्व एक किसिमले भनौँ : सपना त विचित्रको चलचित्र जस्तै पो रहेछ। सपनाको व्याख्या गर्दै बाल्यकालमा हराउन पुगेका कवि स्वप्न प्रेरित , स्वप्नील अनुभूति र स्वप्न प्रेरित समय त्रासदीको नमिठो भुलभुलैया भित्र हराएका छन् ।
दुबोको हरियो सपना
विजय बोल्छ
यसैगरी घुम्छ पृथ्वी
र पिसिन्छौ हामी संघर्षको घट्टमा
पुन जन्मिन्छौं
अस्तित्ववान पिठो जस्तै
कलिला पुस्ताका ओठमा
चियामाथि दुबो हरियो सपना लिएर !
कविता संग्रहमध्येको जटिल र दुर्बोध्य लागेको एउटा कविता हो यो ।
अस्तित्ववादी चिन्तनलाई छोएर लेखिएको दुबोको हरियो सपना शीर्षकका आयतनमा जति सरल देखिएको छ कविताभित्रको प्रविष्टि उस्तो सहज देखिँदैन। कवि विश्व सिग्देलका कविताहरू पढिरहँदा एउटा प्रतीक मनभित्र आइरहन्छ । उनका कविताहरू धेरैजसो नरिवलका बान्कीमा लेखिएका छन्। मैले नरिवलका बाँकीमा किन भनेको हुँ भने नरिवलको बाहिरको खोस्टा र भित्रको हाड पन्छाएपछि अमृतमय जल र अनुपम स्वादको फल पनि पाइन्छ । कवि सिग्देलका कविताले झन्डै यस्तै किसिमको छनक दिन खोजेका छन्।
प्रेसर कुकरको सिठी , राजनीति , भारत सरकार , कीर्तिपुर , युद्धको बीचमा आदि कविताहरू इमेजरी र शीर्षकको बिम्बका आधारमा तुलनात्मक रुपमा केही कमजोर छ्न् भन्न सकिन्छ यद्यपि नरिवल कवि सिग्देल कविताको केन्द्रीय विचारधारामा सशक्त छन् । छापामारको प्रेम गीत नेपाली राजनीतिको ह्रासोन्मूख मूल्य विचलित सिद्धान्त र जनतासँगको बढ्दो असामिप्यता चित्रण गर्ने कविता हो इमेजरीका दृष्टिकोणले धेरै बलियो मान्न सकिन्छ यसलाई ।
धुपीको पातमा रोइरहेछ लेक
तारा नझर्दै बिहानीका
तिम्रो पोल्टाको रातो तारा झर्नु
तैपनि सल्किरहनु
हातको चुरोट
मैले क्रान्तिको बिम्ब मानेको थिएँ।
महाभारत लेकमा
वर्षौंदेखि
एउटा प्राचीन आर्यघाट
धुवाइँ रहेछ। हो धुवाइँरहेछ
मेरो मुटु
एउटा वर्षादी दिनमा !
राजनीतिको मूल्य स्खलन मूल्यान्तरण र बिजोगीकरण अब नेपाली जनताका लागि नयाँ नौलो कुरा रहेनन्। मूल्य स्खलनको मूल्य चाहिँ खालीखुट्टे मान्छेहरूले चुकाउनु परेको छ। हाम्रो समाजको यो अँध्यारो पाटो सम्बोधन गर्न कविले कुनै कसर बाँकी राखेका छैनन्। ताली अन्धो हुन्छ । बिल्कुल अन्धो हुन्छ। तालीले दिशा पहिचान गर्दैन । गर्न सक्दैन । तालीले सिद्धान्त पहिचान गर्दैन। असमानता र अन्याय पहिचान गर्दैन । डमरु बजे जस्तै हो ताली पनि एकहोरो बजिरहन्छ। कान खाने गरी बज्छ । झर्को लाग्ने गरी बज्छ । जिन्दगीको परिपथ , परिवेश र पर्यावरण अन्धो तालीले तय गर्दैन। गर्नै सक्दैन । अन्यथा किन मझीले डुङ्गा ख्याउनु पर्थ्यो ? किन माटीकोरेले माटो कोरिरहनुपर्थ्यो ? किन विश्व सिग्देलले कविता लेखिरहनु पर्थ्यो ?
जिन्दगानी सार्वजनिक शौचालय बनिसकेको या झन्डै बनेको अवस्थामा नेपाली आधुनिक कविताको सशक्त , प्रखर र झरिलो कलम लिएर हामी माझ उदाएका कवि सिग्देल तालीको समाजशास्त्र कविता सङ्ग्रह मार्फत नेपाली जनजीवनको खस्कँदो मूल्य प्रणाली प्रति खबरदारी गर्न हाम्रा घरदैलामा आइपुगेका छन्। उनको स्वागत जरुरी छ।
