गोविन्द पौडेल, काठमाडौं
मौनताको स्पर्शले
सिँदुरे देउरालीको
प्रत्येक वनकुसुमका
पत्रपत्रमा छरिएको
परागका अनगिन्ती मार्मिक कणहरूसँग
खेलिने अनेक लीला र
सृष्टि पर्लयका कथाहरूको
गाथा सुन्दै
एउटा पुरानो जुग
सर्लक्कै बितिजान्छ !
राग र अनुरागको
एकतारे र सारङ्गी
उही मुटुभित्रै बज्ने गर्थे
दुनियाँको रीतिथितिको
उदाङ्गो पर्दा समयले
उघार्नु अघि नै
धुनको सुरताल बदलिसकेछ
जूनको धरातल बदलिसकेछ
हामीले जुग बुझेनौँ घाम !
हामीले मुखुन्डो चिनेनौँ राम !
धातुको मुटु धड्किने च्याम्बरभित्र
नीलो पहाडको
आदिम ईतिहास
एक ढक्की नुन
चमेलीको खुन र
आफ्नाहरूको बैगुन चिनिराखेर
चुपचाप पढिराख्ने
एकतमासको मात लाग्ने आँखाले
भुईँ छोडेर जानेहरूलाई
बुई चढेर भाग्नेहरूलाई
अपलक हेरिरहेछ !
सय थुँगा फूलको
गीतिमालाभित्र उनेको पिर्तीको जालो
एक अँगालो घामले समेत नपोल्ने
जोरपैँयुको दोबाटोसँगै
सधैं पर्खिबस्ने
अकेलो आरू
हरियो लालटिनको छिर्बिरे
उज्यालामा
हजारौँ घामका पाइलाहरू नियालिरहेछ !
000
