विजय मल्लको नाटक “हामी बाँच्न सक्छौँ”
त्रिभुवनचन्द्र वाग्ले, काठमाडौं
नेपाली साहित्य, राजनीति तथा सामाजिक रूपान्तरणको इतिहासबारे सामान्य जानकारी राख्नेहरूलाई ऋद्धिबहादुर मल्ल (विसं १९५५–२०२५), जोरगणेश प्रेस, शारदा पत्रिका, गोविन्दबहादुर मल्ल‘गोठाले’(१९७०–२०६७) तथा विजय मल्ल (१९८२–२०५६) शब्द मात्र होइन, सन्देश लाग्छन् । साहित्य, राजनीति, सामाजिक तथा व्यावसायिक विविध कोणबाट हेर्दा नेपालको आधुनिकीकरणमा मल्ल परिवारले पु-याएको योगदान अविष्मरणीय छ । नमनीय र मननीय छ । यसर्थ त्यो परिवार र इतिहास मेरा लागि मननीय छ, नमनीय छ । ‘यसपालि कृष्णचन्द्रसिंह प्रधान तथा विजय मल्लको शतवार्षिकी हो, सकिन्छ भने दुवै जनाको, नभए कुनै एकबारे संस्मरण लेख्नुस् न, म विश्व परिक्रमामा प्रकाशित गर्छु, यो विशेष अनुरोध हो’ भनेर सन्देश मञ्जुषामा साहित्य अन्वेषक, लेखक तथा सक्रियताका नमूना व्यक्ति गोविन्द गिरि प्रेरणाको आग्रह देखेपछि, कहाँ भ्याइएला र भनेर दुई दिन बिताएँ । २०८२ कात्तिक २४ मध्यरात निद्राबाट ब्युँझदा लेखक प्रेरणाको आग्रह र विजय दाइसँगको एउटा संस्मरणले केही लेख्न चिमोटिरहेको रहेछ ।
विजय दाइको शतवार्षिकीका अवसरमा ऋद्धिबहादुर मल्ल, जोरगणेश प्रेस, गोविन्दबहादुर मल्ल गोठाले, तथा विजयबहादुर मल्ललाई सम्मान तथा श्रद्धा अर्पण गर्छु । ऐतिहासिक शारदा पत्रिकाप्रति सम्मान गर्दै विमल भौकाजीले दिनुभएको इतिहासको निरन्तरताको प्रशंसा गर्दै दीर्घ प्रकाशनको कामना पनि गर्छु ।
विजय दाइसँगको संस्मरण मिठो छैन, तर रोचक लाग्छ । घटना २०४५ चैततिरको हो कि, नेपाली काँग्रेसले प्रजातान्त्रिक व्यवस्था पुनःस्थापनाका लागि गरेको आन्दोलन, नेपालमाथि भारतले लगाएको नाकाबन्दीले देशको राजनीतिक अवस्था तरल थियो । चेतनशील वर्ग तरङ्गित थियो । गधा–पच्चिसी मजस्ता अरुलाई पनि लागेको हुँदो हो– यही धक्कामा पञ्चायतलाई ढलिदिनु पर्छ । केही त्यस्ता पच्चिसीको सङ्गतले मलाई यस्तो लाग्थ्यो, पञ्चायत ढाल्न म एक्लै काफी छु । नजाने, अन्य पच्चिसीलाई पनि त्यस्तै लाग्दो हो । अहिले सम्झन्छु, कहिले कहीँ मानिसलाई भ्रमले पनि प्रेरणा दिने रहेछ । भ्रममा बाँच्नु पनि एउटा सन्तोष हो । प्रेरणा हो ।
त्यतिखेर कसैले पनि पञ्चायतलाई समर्थन, सहयोग गर्ने विचार तथा कार्यक्रम ल्याएको छ भने त्यसलाई ठाउँका ठाउँ ठिक गर्नुपर्छ भन्ने मनोगन्थ्री ममा सक्रिय रहेछ । यसैबीच विजय दाइले लेख्नुभएको ‘हामी बाँच्न सक्छौँ’ नाटक प्रज्ञा प्रतिष्ठानमा मञ्चन गरिएको थियो । त्यो सायद पञ्चायतको कुनै निकायले प्रायोजन गरेको थियो । मलाई पनि साँझमा नाटक हेर्ने निम्ता आयो तर कताबाट आयो, थाहा छैन, तर मैले नाटक हेर्न पैसा तिरेर टिकट किनेको थिईंन ।
भारतले नाकाबन्दी लगाएको परिवेशमा नाटकको कथावस्तु प्रायोजित लाग्थ्यो । पात्र थिए भरत र स्वनाम । दक्षिणतिरको भरतले आफ्ना एक छिमेकीको घर जाने,आउने बाटो बन्द गरिदिन्छन् । छिमेकीलाई घरमा आउजाउ गर्न समस्या हुन्छ । भरतलाई छिमेकीले अनुनय विनय गर्छन् । बालबच्चा, बुढाबुढीले दुःख पाएका छन्, भरत बाटो दिदैनन् तर उत्तरतिरका छिमेकी स्वनामले आफ्नो जग्गाबाट भरत–पीडित छिमेकीलाई बाटो दिन्छु भन्छन् । यस्तै संवादका बखत दर्शकले पररर ताली हान्छन् । आफूलाई यस्तो प्रयोजित नाटक त्यसमा पनि वियज मल्लजस्तो शैल–व्यक्तित्वले लेखेको भनेर बडो विग्रह भइरहेको थियो । म त निर्जीव भएँ, प्रतिक्रिया विहीन । नाटक छोडेर जाउँ भनेर एकदुई पटक उठेँ तर एकदुई पटक नै बसेँ । विद्यालय पढ्दाको ‘अन्तिम भोज’मा विजय मल्लसँग नभेटेर पनि बोलेको थिएँ, प्रश्न गरेको थिएँ– के साँचै हामीले खाने प्रत्येक छाक अन्तिम भोज हो र? वा हुनेछ र? बहुलाकाजीको सपना र कोही किन बरवाद हो जस्ता क्याम्पसकालीन नाटकमा देखेको विजय मल्लको ‘असहमत–चेतना’ किन आज ‘हामी बाँच्न सक्छौँ’मा लम्पसार छ भन्नेर म उद्व्वेलित थिएँ । मल्ल परिवारले शारदा तथा जोरगणेश प्रेसबाट जन्माएका नेपाली साहित्यकारहरू सम्झन्छु । नेपाली राजनीति र समाज रूपान्तरणमा मल्ल परिवारको योगदान सम्झन्छु, नेपाली काँग्रेस-प्रजापरिषद्मा आबद्ध विजय मल्लले प्रजातान्त्रिक अभियानमा पु-याउनु भएको विशिष्ट योगदान सम्झन्छु–तर देख्दै र सुन्दै छु ‘हामी बाँच्न सक्छौँ’ जस्तो प्रायोजित नाटक । कुनै पनि नाटक अति फिक्का लागेको छ भने यही हो मेरो जीवनको । ‘मालती मङ्गले’ हेरेपछि भेटेजति आफन्त र साथीहरूलाई उक्त नाटक नछुटाउनू भन्दै अवैतनिक प्रचारक बनेको थिएँ कुनै दिन । त्यो किनभने, २०४३ ताका ‘अनि देउराली रुन्छ’ को जुन उछाल थियो, त्यो हेर्न जान ठिक्क परेका हामीलाई हाम्रै एकजना साथीले ‘जानकारी’ दिए–‘यो त कम्युनिष्टहरूको नाटक हो ।’ काँग्रेसले के हेर्ने र? नाटक हेर्ने योजना तुहियो । त्यो नाटक हेर्न नपाएको खेदले मैले धेरैलाई ‘मालती मङ्गले’ हेर्न नबिर्सनू भनेको हुँ ।
नाटक लेखनमा सशक्त विजय दाइको सामर्थ्य गुम भएछ, ‘हामी बाँच्न सक्छौँ’मा । यो त पूरा विज्ञापन, प्रायोजित सूचना पो थियो त ! केही सन्दर्भलाई अतिरञ्जित लाग्यो भने, नपत्याउँदो भयो भने, हामी त्यसलाई नाटक भन्ने गर्छौँ, ठिक त्यस्तै ‘नाटक’ थियो हामी बाँच्न सक्छौँ ! मैले यसरी बुझेँ, तर म यो पनि मान्छु कि मैले जे बुझेँ त्यो नै अन्तिम सत्य थिएन । मेरो उमेर, आग्रह, अभियान, आस्था र मिसनले मलाई यो नाटक मन नपर्नुका केही विशेष फेनोमेनन् थिए होलान् । अहिले म त्यो नाटकको बारेमा भन्नु प-यो भने कम्तिमा पनि यो यो राम्रो, यो यो नराम्रो भन्थे हुँला अथवा मलाई नराम्रो लागे पनि अरुलाई राम्रो लाग्न सक्छ भन्ने सत्यको अर्को रङ स्वीकार गर्न सक्थेँ तर तत्क्षणको मेरो आग्रह कस्तो भने, मलाई नराम्रो लागेपछि सबैलाई नराम्रो लाग्नु पर्छ ! जबरजस्त मुढता रहेछ ममा त्यतिखेर, त्यस विषयमा ।
रात परिसेको थियो, कमलादी सुनसान हुँदै थियो । त्यस दिनको नाटक समापनपछि दर्शकहरू विजय दाइलाई बधाइ दिँदै थिए । विजय दाइ एकेडेमीको भित्रपट्टि, प्रतिष्ठानका संस्थापक राजा महेन्द्रको सालिक छेउतिर हुनुहुन्थ्यो । दर्शकबाट उहाँ घेरिनु भयो । छोपिनु भयो । ‘राम्रो र बधाई’ले कमलादीको सुनसानलाई तरङ्गिगत बनाएको थियो । यस्तो लाग्थ्यो– बधाइ दिने र राम्रो भन्नेहरू नाटक हेरेपछि घर जाने छैनन्, सिधै ‘भरत’सँग बाटोको माग गर्दै लड्न जानेछन् र भरतले छिमेकीको बाटो छेक्न बनाएको पर्खाल भत्काउने छन् । दर्शकको जोस् यस्तो थियो, देउथलमा ७३ वर्षीय भक्ति थापाको जोस् अक्टरलोनीले पनि देख्न पाएनन् । दर्शकमा रहेको सुसुप्त जोसको भदालो उम्लेको देखेर म आफैलाई टिठले हेरिरहेको थिएँ– किन म यी आमदर्शक भन्दा भिन्न छु । यति धेरैलाई राम्रो लागेको नाटक मलाई किन राम्रो लागेन ?
विजय दाइ, जसै भीडबाट देखिन थाल्नुभयो, म उहाँको नजिक गएँ, नमस्कार गरेर सिधै भनेँ– अहिले सम्झन्छु अलि असभ्य भएर प्रस्तुत भएँ कि, समय धेरै नभएकाले मैले सिधै विषय प्रवेश गर्नु थियो ।
‘हजुर जस्तो स्थापित नाटककारले यस्तो विज्ञापन लेख्न हुन्नथ्यो ।’ विजय दाइको अगाडि रहेको सानोतिनो भीड छिचोल्दै भनेँ । उहाँले मलाई स्नेहवस् कुनातिर लैजानुभयो र मेरो काँधमा हात राखेर सोध्नुभयो ‘तपाइलाई राम्रो लागेन, कस्तो लेख्नुपर्ने थियो राम्रो बनाउन, मेरो आलोचनामा उहाँले खासै प्रतिक्रिया देखाउनु भएन तर वरिपरिका जोसधारीहरूले प्रतिकार गरे तर विजय दाइले आफ्ना समर्थकलाई सम्हालदै ‘विज्ञापन’ र ‘प्रायोजित’ जस्ता मेरा शब्दलाई अलि कडैसँग प्रतिवाद गर्दै सोध्नुभयो–‘यो त देशको कुरा हो नि, नभएको, असत्य लेखेँ मैले र?’
यतिकैमा फेरि कुनातिर दर्शक थपिएर र मलाई कठोरतापूर्व उत्तर दिन थाले । म पनि उनीसँग सोध्दै थिएँ – ‘विजय मल्लका नाटकहरू पढ्नु भएको छ ? ती नाटक र यो नाटकमा तुलना गर्न सक्ने भए बोल्नुस्, नभए तपाईहरूले सडक हेरेर दिएको प्रतिक्रियाको अर्थ छैन ।’
क्रमशः वातावरण गरमागरम भएपछि विजय दाइले नै वातावरण सहज बनाउनु भयो । उहाँलाई नमस्कार गर्दै, म एक्लै कमलादीबाट कालधारा डेरा फर्केँ । भोलि पल्टदेखि मेरो काम भयो – ‘हामी बाँच्न सक्छौँ’ पनि नाटक हो र ?त्यो पनि विजय मल्लले लेखेको भनेर आफन्त तथा साथीहरू भड्काउने ।
०००
