गोविन्द पौडेल, काठमाडौं
हजारौँ पाइलाहरूको
अनन्त यात्राभित्र
कहिल्यै नपुगिने गन्तव्य सम्झेर
बास बसेका चरीको मस्त निद्रा बिथोल्ने
कुनै रहर थिएन !
छिर्बिरे पुतलीको पखेटा भाँच्ने
इरादा समेत थिएन !
उसकै चिसो मुटुबाट उसैलाई
चोरी लाने अठोट पनि थिएन !
घामपानीमा देखिएको
सप्तरङ्गी इन्द्रेनीको
एउटै रङ अपहरण गर्नै पर्थेन
सजल आँखाको इशारा
नबुझ्ने लुच्चो पनि थिएन
मौनतामा चिच्याउने आँसुको
प्रत्येक थोपामा
विजयको माला पहिरिने
एकादशीको खुर्पे जूनको
एक धर्को उज्यालो
छेकिदिने पत्थर पनि थिएन
के को सजाय हो यो ?
मुस्कुराउनुको सुक्खा चीत्कार
झेल्न नसकेको एउटा
बाटो भुलेको परदेशी
कस्को दैलो खोजिरहन्छ ?
खिइएका एक जोर जुत्तामुनि
युगौँ पुरानो अधुरो कथा
लेखिहिन्ने सुकेको पातका
नसा , धमनी र धडकन नसुन्ने
नशा , प्यास र आशाको तडपन नसुन्ने
ए कुहिरोको काग
कहाँ छ त्यो प्रेमको मन्दिर ?
जहाँ कुनै अपरिचित देउता
पिरतीको बाँसुरी बजाइहिन्थ्यो !
ऊ पनि उस्तै रहेछ
गन्तव्यबिनाको यात्रा मन पराउने
झुटको पर्खाइमा बाँसुरी बजाउने !
बिग्रेको घडी
अन्त्यहीन पीडा
मीठो दुखाइ
कुहिरोले ढाकेको सहर
परिचित किन्तु
मुखुन्डोले छोपेका अनुहार !
कसैको अभ्यस्त गन्ध आउने रात
धुवाँको साम्राज्यले ढाकेको
चिसो चुलोमाथिको
एक ढक्की
अमिलो सुन्तलाको चिसै बास्ना
प्रत्येक रात
जूनले चिहाउने त्यही उदाङ्गो झ्याल
जुगौँ अघिको अतीत सम्झेर
मध्यरातमा अकेलै
हिनिरहेको गन्तव्यहीन यात्री सम्झेर
एक धर्को उज्यालो छरेकै छ !
बिर्सिएका हजारौँ रातको सन्नाटा चिर्दै
जूनको मैनबत्ती
आज पनि
मन डढेको खास्टो ओढेर
झ्यालबाहिर कुरिरहेछ !
