१० श्रावण २०८२, काठमाडौं
चन्द्राागिरि नगरपालिका वडा नम्बर १५ तीनथानास्थित मुनाल क्लवमा मुनाल पुस्तकालयद्धारा आयोजित चन्द्रागिरी साहित्य सरोवरको ४५औँ शृङ्खला भानुभक्त आचार्य स्मृति विशेष विमर्श र रचना वाचन गरी सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि डा.रमेश शुभेच्छुले नेपाली भाषा र साहित्यका क्षेत्रमा आदिकवि भानुभक्तको योगदान विशिष्ट रहेको उल्लेख गर्दै भानुभक्तलाई संसारभर नेपाली महाजति पुगेका ठाउँमा बुद्धपछि सवैभन्दा बढी चर्चाको पात्रको रुपमा सम्मान गरिने बताए । उनले आफू साहित्यको विद्यार्थीका नाताले भानुभक्तलाई सांस्कृतिक चेतना र आदर्शका संवाहकका रुपमा बुझ्ने गरेकोे बताए । उनले भानुभक्तको रामायणका विभिन्न संस्करणमध्ये आफूहरुले सूर्यविक्रम ज्ञवालीको सम्पादनको रामायणलाई आधिकारिक मान्ने गरेको र यो रामायण भानुभक्तको अनुदित कृति नभएर रामकथामा आधारित मौलिक महाकाव्य भएको दावि गरे । उनले जयराज आचार्यले अनुवाद गरेको अंग्रेजी रामायणलाई आधिकारीका मान्ने दावी पनि गरे । उनले भानुभक्त आलोचना चेत पनि भएका कवि थिए भन्ने कुरा बालीको बधका बेला बादी र रामको संवादबाट खुल्ने बताउँदै उनले तत्काल भक्तमाला र प्रश्नोत्रीका माध्यमबाट ततलीन समाजलाई आवश्यक नीति र आदर्श शिक्षा कविताका माध्यमबाट बाँडेको बताए। वधुशिक्षा तत्कालीन समयको बालिका शिक्षाका रुपमा तयार पारिएको कृति हो र यसका केही पङ्क्तिलाई लिएर आज गणतन्त्र नेपालको समीक्षकले यही आँखाले दुई सय वर्ष अगाडिको कृति हेर्नुनहुने बताए । करिब एक सय वर्षसम्म सतीप्रथाले गाँजेको समाजमा दुई सय वर्ष अघिको कृतिमा भएका केही पंक्तिलार्ई लिएर आलोचना गर्नुको अर्थ नरहने बताए ।
उक्त अवसरमा संक्षिप्त विचार व्यक्त गर्दै कवि तथा साहित्यकार एवं फित्कौलीका सम्पादक नरनाथ लुइँटेलले हास्यव्यङ्ग्य क्षेत्रमा भानुभक्तका न्यून रचना भए पनि आदि हास्यव्यङ्ग्यका मौलिक र आदि पंक्तिकारका रुपमा उनलाई बुझ्न सकिने विचार व्यक्त गरे ।
साहित्यकार एवं भानुभक्तका बंशज विधान आचार्यले श्रीकृष्ण आचार्यका ६ भाईछोराहरु धनञ्जय, काशीनाथ,पद्मनाभ, तुलसीराम गङ्गादत्त र इन्द्रविलास आचार्यका नालीबेली बताए । उनले भानुभक्ती य रामायण सिर्जना गर्ने क्रममा भानुले आदि रामायणको कथानक मात्र लिएर मौलिक सिर्जना प्रस्तुत गरेको बताए ।
उनले भानुभक्तिय रामायण बाहुनहरुका माझ मात्र नभई लालबहादुर गुरुङ जस्ता हजारौँ हजार जनजातिले राम्रोसंग गाथा गाउन सक्ने भएकाले यो सवै जातजातिको साझा धरोहरको रुपमा रहेको समेत बताए । सूर्य विक्रम ज्ञवालीलगायत कतिपय विद्वानहरुले लेखेका रामायणमा फरक प्रसंगहरु पाइएकोले प्रभा भट्टराई र आफूले समेत भानुभक्तिय रामायणलाई संयुक्त रुपमा जस्ताको तस्तै पुनर्सम्पादन गरेको समेत बताए ।
कार्यक्रमका विशेष अतिथि डम्बर घिमिरेले समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका अध्यक्ष गोपीचन्द्र कार्कीले स्थानीय स्तरका साना देखि पाका उमेरका स्रष्टाहरुका सिर्जनालाई साहित्य सरोवरका माध्यमबाट उजागर गर्नु नै मुख्य उद्देश्य रहेको बताए ।
सो कार्यक्रममा सुभद्रा महत,काशीराज सुवेदी,कृष्ण आचार्य,हरीशरण आचार्य,उत्तम विचार भेटवाल, कृष्णहरि बस्नेत, बालकवि सम्पन्न पौडेल,सौगात खनाल,सरिता पराजुली, श्रीकृष्ण भारती,रुबि सत्याल,मालता बेलबासे,नानीबाबा अधिकारी, सीताराम नेपाल, सुदन लुइँटेल, अखण्ड केसी,साम्भवी आचार्य, साम्राज्ञी आचार्य, दर्पण कार्की,तथा जयराम बिडारी लगायतले रचना वाचन गरेका थिए ।
रामशरण थापाद्वारा सहजीकरण गरिएको सो कार्यक्रमपछि अतिथिहरुले मुनाल पुस्तकालयको अवलोकन गरी केही पुस्तक उपहार प्रदान गरेका थिए ।
०००
