लैनसिंह बाङ्देल साहित्य-कला प्रतिष्ठानको सम्मानहरुको निर्णय

समाचार

१७ जुलाई २०२५, कलकत्ता

लैनसिंह बाङ्देल साहित्य-कला प्रतिष्ठान कलकत्ताले सधैँ झैं यसवर्ष पनि ३३औँ भाषा मान्यता दिवस भव्य रुपमा पालन गर्ने निधो गरेको छ।
भर्चुअल बैठकले निर्णय गरे अनुसार प्रतिष्ठानले भारतीय नेपाली साहित्यका प्रतिनिधि कवि, वरिष्ठ साहित्यकार डा राजेन्द्र भण्डारीलाई नेपाली भाषा र साहित्यको विकासमा पुर्याएको योगदानको कदर स्वरुप मातृभाषा सेवाश्री सम्मानले सम्मानित गरिने छ।
प्रतिवर्ष प्रदान गरिने वीर खड्ग बहादुर सिंह विष्ट समाज सेवा सम्मानले यसवर्ष रंगु सौरियालाई उनको निःस्वार्थ समाज सेवाको निम्ति सम्मानित गरिने समेत निर्णय गरेको छ।
बंगला साहित्यका वरिष्ठ आख्यानकार बिमल लामालाई उनको “नुनको चिया” उपन्यासको निम्ति प्रभात साहित्य सम्मानले सम्मानित गर्ने निर्णय गरेको छ।
यसबाहेक विद्यार्थीहरुमा आफ्नो दायित्व वोध गराउन, एआई (आर्टिफिसियल इन्टिलिजेन) को युगमा मातृभाषा चुनौती र अवसर अनि सरकारी कामकाजमा मातृभाषाको प्रयोग, शीर्षकको निबन्ध प्रतियोगिता राखिएको छ। यसमा उच्च विद्यालयका विद्यार्थीहरुले भाग लिन पाउने छन् ।
स्मरणीय छ, लैनसिंह बाङ्देल साहित्य-कला प्रतिष्ठान कलकत्ताले स्थापनाकालदेखि नै भाषा, साहित्य अनि कलाको क्षेत्रमा कामहरू गर्दै आइरहेको छ। प्रतिष्ठानले स्रष्टाहरुलाई सम्मान संगसंगै पुरस्कृत पनि गर्ने गरेको छ । अहिलेसम्म वरिष्ठ साहित्यकार राजनारायण प्रधान दार्जीलिङ, चित्रकार हेमु राई, दार्जीलिङ, कथाकार शमसेर अली, कालेबुङ, साहित्यकार झमक घिमिरे, धनकुटा नेपाल, मूर्तिकार अमीर सुन्दास, बाख्राकोट, जलपाईगढी डुवर्स आदि रहेका छन्।
प्रतिष्ठानकी सभापति देविका मोक्तानको सभापतित्वमा बसेको भर्चुअल सभामा प्रा डा किरण सुब्बा, प्रा अशेष लिम्बु, सन्तोषचन्द्र दर्नाल, खड्ग गुरुङ, संगीता शेर्पा, निमा निष्कर्ष, संजीव गुरुङ, निकेश लिम्बु, बबिता राई, बेदान्त तामाङ, अरुण राई, अजय थापा आदिको उपस्थिति रहेको थियो।
बैठकको सञ्चालन प्रतिष्ठानका मूलसचिव बिकास कार्कीले गरेका थिए ।