साबिती बयान (कथा)

कथा

डा. गोबिन्दसिंह रावत

प्रहरी कार्यालयबाट कुनै रक्षा पन्त र गंगा ज्ञवाली पन्तको फोन आएपछि म आफ्नो सहयोगी कृष्ण वर्मालाई फोन गरेर त्यहीं पुग्नु भनी वडा प्रहरी कार्यालय पुगेको थिएँ । त्यहाँ प्रहरी निरिक्षक प्रद्युम्न रिजालको कोठामा हामीबीच परिचय भएपछि कुराकानी शुरु भएको थियो । एउटा वकिलको नाताले फेमिली लयरका रुपमा मैले यो शहरमा परीचय पाउँदै गएको थिएँ । त्यही परीचयले मलाई यस प्रहरी कार्यालयमा रक्षा पन्त र गंगा ज्ञवाली पन्तको पैरवी गर्नका लागि प्रारम्भदेखि नै कुनै कुराले प्रभाव नपारोस भनेर रक्षा र गंगाले मेरो कानूनी परामर्शदेखि पैरवीसम्म जेजस्तो खर्च र शुल्क लाग्ने सबै तिर्ने सर्तमा मलाई प्रहरी कार्यालयमा नै बोलाएका थिएँ ।

रक्षा र गंगासँगको यो मेरो पहिलो भेट थियो । साँझको ६ बज्दै थियो । मलाई उनीहरुले दिउँसैदेखि सम्पर्क गर्ने प्रयास गरेका थिए तर तीनवटा मुद्दाको पैरवी र अन्य कामले गर्दा भ्याएको थिइन । मेरो ल फार्मको काम गर्ने कृष्ण वर्माले मलाई दिउँसैदेखि सम्पर्क गर्न खोजेको थियो । मैले टार्न पनि खोजें तर अत्यन्त जरुरी र आजै सम्पर्क गर्नु पर्ने र लागेको शुल्क तिर्ने भनेपछि म प्रहरी कार्यालय पुगेको थिएँ ।

मैले आफ्नो परिचय दिएपछि रक्षा पन्त र गंगा ज्ञवाली पन्तले पनि आआफ्नो परिचय दिनु भयो । मैले प्रहरीको स्वीकृति लिएर वहाँहरुसँग एकान्तमा कुरा गर्न हामी अर्को कोठामा गयौं ।  गंगा ज्ञवाली र रक्षाका बीच देवरानी भाउजुको नाता रहेछ । प्रहरीले वहाँहरुको उजुरीका आधारमा रक्षाको दाइ र गंगाको श्रीमान वसन्त पन्तलाई थुनेका रहेछन् । यो घटना गत राती घटेता पनि प्रहरीले गत राती वसन्त पन्तलाई रक्षा र गंगाको उजुरीमा समातेर थुनेको थिए । अनि फेरि वसन्तसँग लिईएको बयानमा वसन्तले गंगा र रक्षामाथि चारीत्रिक र अपराधिक आरोप लगाएपछि प्रहरीले आज बिहान सबेरै रक्षा र गंगालाई प्रहरी कार्यालयमा बोलाएका रहेछन् । वसन्तले प्रहरी कार्यालयमा दिएको जानकारी थाहा पाएपछि  मैले उनीहरुको तर्फबाट पैरवी गर्न तथा उनीहरुलाई जमानतमा रिहा गर्न रक्षा र गंगाको लिखित बयानका लागि वेग्ला वेग्लै मुचुल्का तयार गर्ने कार्यमा लागें ।

रक्षा पन्तको वयान –

म, श्री रमाकान्त पन्त र उर्मीला पन्तको काञ्छी छोरी, नेपाली नागरिकता नं. ००६५ भएको वर्ष २१ को  रक्षा पन्त हुँ । मेरो जन्म भोजपुर जिल्ला, पिपले गा.वि.स., वडा नं. २० नेपालमा भएको हो । म गत दुई वर्षदेखि काठमाडौं जिल्ला, ठमेल वडा नं. १४, काठमाडौंमा बस्दै आएको छु ।

मेरा दुईजना दाइहरुमा ठुलो दाइ वसन्त पन्त र माइलो दाइ हेमन्त पन्तमा वसन्त दाइ लोकसेवा पास गरेपछि जागिरे भएर काठमाडौंमा काम गर्दै आउनु भएको छ । तीन वर्षअघि ठुलो दाइ वसन्तको काठमाडौं महाराजगञ्ज निवासी कुलचन्द ज्ञवालीको माईली छोरी गंगा ज्ञवालीसँग माँगी बिहे भएको थियो ।

दुईजना दाइहरुसँगै हुर्के बढेकोले होला मलाई केटा जस्तै भएर हिंड्न र लुगा लगाउन सानैदेखि मन पर्थ्यो । विद्यालयमा पनि मेरो केटा जस्तै हाउभाउ देखेर सबै मलाई रक्षा कुमार भनेर बोलाउने गर्थे ।  मैले भोजपुरबाट प्रवेशिका परीक्षा उर्तीण गरेपछि दाइले मलाई काठमाडौं बोलाउनु भयो । म भोजपुरबाट काठमाडौं पढ्न आएको थिएँ । यहाँ म काठमाडौं क्याम्सपमा पढ्दै छु । गंगा पन्त ज्ञवाली पनि मेरै क्याम्सपमा पढ्नु हुन्छ । वहाँ स्नातक तहको अन्तिम वर्षमा पढ्दै हुनु हुन्छ । हामी साईनोमा नन्द भाउजु भए पनि हामी साथी जस्तै भएर बस्दै आएका छौं । सँगै क्याम्पस जाने, सँगै फर्कने । सँगै बजार  जाने र डुल्न जाने हामी नन्द भाउनु भए पनि हाम्रो विचारहरु एकदमै मिल्ने गर्छ । घरमा म सधैं भाउँजुकै पक्षमा उभिन्थें । दाइलाई एक्लै पारेर हामी जेमा पनि जित्ने गर्थ्यौं । हामीबीच सम्बन्ध बढ्दै गयो । हामीबीच तँ तँ को सम्बोधन पनि चल्न थाल्यो । धेरैपटक दाइले थाहा पाएर हामीलाई गाली पनि गर्नु भयो । अनि हामी दाइ नहुँदा तँ तँ को सम्बोधन गरेर एकअर्काप्रति आस्था देखाउने गर्थ्यौं । हामीलाई जो कोही पनि यसरी नन्द भाउजु मिलेको त कहिल्यै देखेको छैन भनेर कुरा पनि गर्छन । तर हामी दुवैलाई एकअर्काको साथ मनपर्दै गएपछि आधारातसम्म गफ गर्ने र दाइले धेरै कराएपछि मात्र सुत्न जाने गर्थ्यौं । बिहानदेखि रातीसम्म सँगै बस्ने र सुत्ने बेलामा मात्र हामी छुट्टिने गर्थ्यौं ।

दाइले भाउजुलाई कहिलेकाहीँ डुल्न लिएर जान खोज्दा, सिनेमा लिएर जान खोज्दा अझ कतै कुनै कार्यक्रममा होस वा साथीभाइको घरमा खान बोलाउँदा पनि म र गंगा छुट्टिदैन्थ्यौं । आजभन्दा छ महिनाअघि हामी क्याम्पसबाट सुटुक्क सुनगाभा चलचित्र हेर्न गएका थियौं । दुईजना महिलाहरुको प्रणयगाथामा आधारित यस चलचित्रका बारेमा धेरै सुनेकोले हामी क्याम्सप छोडेर गएका थियौं । यस बारे दाइलाई पनि थाहा दिएका थिएनौं । चलचित्र हेर्दाहेर्दै थाहा नै नपाई हामीले एकअर्काको हात समातेर आआफ्नो प्रेमाभाष एकअर्काप्रति व्यक्त गर्न थाल्यौं । चलचित्रले हामीलाई हामीबीच सुसुप्त अवस्थामा रहेको माया विष्फोट गराइदियो । हामी एकअर्काको मायामा उम्लिएर पोखिन आतुर भएका थियौं । हामीलाई चलचित्र हेर्नुभन्दा बढी हामी आफुहरुले आफैलाई नियालेर धित मर्नेगरी मायालु आँखाले हेर्न मन लागेको थियो । त्यसैले चलचित्र हलभित्र पनि हामी आआफ्नो हत्केलाको स्पर्शले एकअर्कालाई माया गर्दै आभास दिईरहेका थियौं । हामीलाई त्यसबेला हेर्नुभन्दा बढी आफ्नै आत्मियता पोख्न आतुर भएका थियौं ।

चलचित्र हलबाट निस्किएर हामी ट्याक्सी लिएर घरतिर लाग्यौं । हामीबीचको मायाको धैर्यताको बाँध भत्कीसकेको थियो । ट्याक्सीमा बस्नासाथ पहिलोपटक हामीले एकजना अपरिचित चालककै अगाडि निर्धक्कसँग हात समातेर अङ्कमाल गर्दै एकअर्कामा माया खोज्न थाल्यौं ।  यसअघि हामीबीच आत्मियतामात्र थियो । एकअर्काप्रतिको लगाव मात्र थियो । एकप्रकारको अघोषित मायामात्र थियो । एकअर्काको सामिप्यताको चाहनामात्र थियो । तर धेरै समयदेखि हामीबीच एकअर्काप्रति गुजुल्टिएको माया फुक्लन थाल्यो । सुनगाभा चलचित्र हेरेपछि हामीबीच बढ्दै गएको आकर्षणको वास्तविकताको बाँध फुटेर मायामा छताछुल्ल भयो । हामीलाई थाहानै भएन कतिबेला हामी हाम्रो गन्तब्यमा पुग्यौं र बाटोमा ट्राफिक जाममा पर्दा कतिजना अपरिचितहरुले हाम्रो मायाको प्रत्यक्ष प्रशारण हेर्ने मौका पाए । त्यो त ट्याक्सी चालकले हामीलाई यही होईन तपाईले भनेको ठाँउ भनेर घरनिरको चोकमा रोकेर सोधेपछि मात्र हामी संयमित भएर एकअर्काबाट अलग्गिएर आफुलाई नियन्त्रित पार्न थाल्यौं । त्यो दिन घर पुग्दा दाइ घरमा आईसक्नु भएको थियो । हामीले हाम्रो ढिलो हुनुको कारण क्याम्सपमा कार्यक्रम भएकोले ढिलो भएको बतायौं ।

मलाई बयान दिंदै गर्दा रक्षाका आँखाहरु मसँग ठोक्किदा उनी लाज माने झैं गरेर नजर निहुराएर आफ्नो भनाईलाई निरन्तता दिंदै जान थलिन् ।  बोल्दाबोल्दै उनले एक गिलास पानी मागिन् र एकजना प्रहरीले ल्याएको पानी घुटुक्क पिएर फेरी वयानलाई निरन्तरता दिन थालिन् ।

मलाई सम्झना छ । त्यस दिन बुधबार थियो । दिउँसो चलचित्र हेरेर बाटोभरी माया बाँड्दै आएता पनि मन अतृप्त नै थियो । हामी अझै एकअर्कालाई नअघाउञ्जेल माया गर्न खोज्दै थियौं । दुवैको मन अतृप्त थियो । यही अतृप्ततासँगै मनभित्रबाट तृष्णा जाग्दै आईरहेको थियो । रातीको खाना खाईवरी सधैं झै हामी टिभी हेर्न थाल्यौं । दाइ पनि हामीसँगै हुनु हुन्थ्यो । त्यस दिन दाई सुत्नजादा भाउजु पनि सँगै जानु भयो । त्यो रात मेरो लागि श्रापको रात जस्तै भएको थियो । आँखामा निन्द्रा नै थिएन । रातभरी दाइ भाउजुको कोठा चहार्दै बिताएँ । अनि कतिबेला निदाएछु थाहा नै भएन । बिहान अबेरसम्म म नउठेपछि भाउजु उठाउन आउनु भयो तर मैले सञ्चो नभएको भनेर अटेर गरी सुतिरहें । दाइ हेर्न आउँदा पनि मैले त्यही भनेर ओच्छ्यानबाट उठ्दै उठिन । अनि दाइले भाउजुलाई पनि क्याम्पस नगएर मेरो हेरविचारमा खटाई दिएर आफु कार्यालय जानु भयो ।

त्यसबेलासम्म दाइ उपसचिव भईसक्नु भएकोले बिहान ठिक ९.३० बजे गाडी घरमा लिन आउने गर्थ्यो । दाइको गाडी आएर गएको आवाज सुनेपछि म उठेर भान्सातिर लागें । भाउजु मेरो लागि चिया बनाएर ल्याउने तर्खर गर्दै हुनु हुन्थ्यो । मलाई भान्सामा आएको देखेपछि बिरामी मान्छे किन आएको भनेर भाउजु आत्तिनु भयो । मैले आफुलाई केही भएको छैन भनेपछि भाउजुले मेरो हात समातेर आफ्नो गालामा जोड्नु भयो । गाला सुमसुमाउँदै गर्दा भाउजुले मलाई आलिङ्गन गरेर मलाई चुम्बन गर्दै जानु भयो । हामी एकअर्कालाई माया गर्दै गयौं । हामी चुम्बन गर्दै एक अर्कामा हराउँदै गई रह्यौं अनि हामीमा एकअर्काका बीच रहेको यो आकर्षण, यो आत्मियता, यो मित्रता र यो सन्निकटताकाको कारण एकअर्कामा हराएर बुझ्दै जान थाल्यौं ।

म रक्षाको बयान लिंदै थिए । प्रहरी निरिक्षकले समयाभावको संकेत दिदै मलाई भोली निरन्तरता दिने सुझाव दिनु भयो । तर बयान लिएर भोली बिहानै अदालतमा उपस्थित भएर दर्ता गरिने र चाँडै तारिख लिएर सक्दो चाँडो फैसला गराउने भनेर मसँग रक्षा र गंगाले अनुरोध गरेकोले आफुले जिम्मा लिएको काम समयमा नै पुरा गर्ने बाचा समेत गरेकोले मैले प्रहरी निरिक्षकलाई एक घण्टाको समयका लागि अनुरोध गरेर पुनः बयान लिने तिर लागें । मलाई आजै दुवैजनाको वयान लिनु पर्ने भएकोले रक्षालाई छोटकरीमा बयान गर्न भनेपछि उनले वास्तविकतामाथि प्रकाश पार्दै भन्न थालीः

गंगा र मबीच नजिकता बढ्दै गईहरको थियो । हामीले एकअर्कालाई सधैं माया गर्ने प्रण नै गरीसकेका थियौं । तर यो वैवाहिक मायाजालबाट उम्कने उपाय पाईरहेका थिएनौं ।

स्नातक गरेपछि दाइकै सिफारिसमा गंगाले एउटा विदेशी कम्पनीमा  काम पाईन् । काम गर्न थालेपछि हामीमा चाँडै एक हुने सपना पलाउँदै जान थाल्यो । मैले पनि आफ्नो पढाई सँगसंगै विद्यालयकमा पढाउने विचार गर्दा दाइले स्वीकृति दिनु भएन । यसरी महिलाको ईच्छामा पुरुषको हैकम चल्ने परम्परा मेरा हजुरआमादेखि आमा र अहिले म र गंगाले पनि त्यही नियति भोग्नु परीरहेको आभाष भयो ।

मैले फेरी प्रहरी थानामा आउनु पर्ने कारणमाथि मात्र प्रकास पार्नु भनेर रक्षालाई अवगत गराएपछि उनले वयानलाई निरन्तरता दिदै भनिन्ः

सदाझैं घटनाको रात पनि खाना खाएपछि हामी टिभी हेर्न थाल्यौं । रातको १० बजेपछि दाइले हामीलाई शुभरात्री भनेर जानु भयो ।  दाइ गएको केही क्षणपछि हामी आलिङ्नमा बाँधिएर आफैमा हराउँदै जान थाल्यौं । हामीलाई टिभी चलीरहेको, कोठाको बत्ती बलिरहेको र अचानक दाइ आउनु भएको समेत पत्तै भएन । अचानक गंगाको चित्कार सुनेर म आत्तिए । त्यो चित्कार नाङ्गो जिउँमा दाइको हत्केलाको जोरदार पिटाईको थियो । गंगालाई दाईले लगातार पिट्न थालेपछि मैले पनि आफ्नो शरीरको वस्त्रलाई नियन्त्रण गर्दै दाइमाथिनै जाई लागे । हामी दुईजना महिला भए पनि लोग्ने मान्छेको अगाडि गाह्रै पर्दो रहेछ । दाइले मलाई पनि हातपात गर्न थालेपछि म त्यहाँबाट भागेर अर्को कोठातिर लागें । दाइले फोहोर शब्दहरु  प्रयोग गर्दै गंगामाथि हातपात गरीरहेको असह्य भएपछि मैले प्रहरीलाई फोन गरें अनि फेरी गंगालाई जोगाउन कोठाबाट निस्केर दाइलाई रोक्ने प्रयास गर्दै गएँ । दाई रिसले हामी माथि खनिनै रहनु भएको थियो । उनको भनाईमा समाज, लोकलाज, परिवार, मर्यादा, व्यवहार, साथीसंगी, आमाबुवा, पढाई आदि सबै कुराहरु एकपछि अर्को गर्दै आइरहेको थियो ।

रक्षाले बयान दिंदादिंदै टेबलमा राखेको पानीको गिलास एकै सासमा पिएर आफ्नो भनाईलाई निरन्तरता दिन थालिन् ।

त्यसपछि प्रहरी आएर दाइलाई लिएर गयो । दाइलाई प्रहरीले लिएर गएपछि अङ्कमाल गरेर धेरैबेरसम्म हामी रोई रह्यौं । अनि मैले गंगाको शरीरभरी पिटाईका निलडामहरुमा मल्हम लगाउन थालें । दाइलाई लिएर गएको लगभग दुई घण्टापछि ईन्सपेक्टर फेरि घरमा आएर हामीलाई पनि लिएर जानु पर्ने जिकिर गर्न थाल्यो । हामीले भोली बिहान प्रहरी थानामा आउने अनुरोध गर्दा पनि ईन्सपेक्टर नमानेपछि हामी उनकै मोटरमा प्रहरी थानामा आएर प्रहरीले कोही वकिल छ भने बोलाउनु भनेकोले तपाईको विषयमा मेरो एकजना साथीले भनेपछि तपाईलाई यहाँ बोलाएको हो ।

दाइले थानामा आएर प्रहरीसमक्ष आफ्नो हातपात गर्ने कारण हामीहरुको चारित्रिक पतन र अनैतिक सम्बन्ध रहेकाबारे मनगढन्त उजुरी गरेकोले प्रहरीले हामीलाई पनि थाना बोलाउनु भएको रहेछ । हामीहरुका बीचको नैतिक सम्बन्धका बारेमा तपाई मार्फत प्रहरी र अदालतलाई जानकारी गराएर गंगालाई मुक्ती दिलाउन चाहेका छौ ।  तपाईंले दाइसँग गंगाको पारपाचुकेका लागि आवेदन गरी दिनु पर्यो ।

मैले लिएको मौखिक बयानलाई कृष्ण वर्माले टिपोट गर्दै थिए । बयानको  अन्त्यमा नियमानुसार लेखिने कुरा “मैले यो वयान वकिललाई बोलाएर आफ्नो ईच्छाले बिना कुनै डरत्रास र कसैको धम्की बिना दिएको छु । यसमा कुनै कुरा झुठो वा गलत ठहरिए म कानून बमोजिम सहुला बेहोरुँला भनि औंठा छापसहित सही गर्ने म रक्षा पन्त ” लेखिएपछि रक्षाले औंठा छाप दिएर सही गरिन् ।

रक्षाको वयान लिएपछि मैले गंगालाई कोठाभित्र बोलाएर रक्षालाई बाहिर पठाए । गंगाभित्र आएपछि मैले उनीहरुको सम्बन्धका बारेमा रक्षाबाट धेरै जानकारी पाईसकेकोले समयाभावतिर संकेत गर्दै छोटकरीमा आफ्नो बयानका लागि अनुरोध गरेपछि उनले रक्षाले छुटाएका नयाँ कुराहरु बयानमा लेखाईन् ।

गंगा ज्ञवाली पन्तको वयान –

म, श्री कुलचन्द ज्ञवाली र मालती देवी ज्ञवालीको माईली छोरी, नेपाली नगरिकता नं. ०१३५ भएको वर्ष २२ को  गंगा ज्ञवाली हुँ । मेरो जन्म काठमाडौं जिल्ला, महाराजगञ्ज वडा नं. २९ नेपालमा भएको हो । बिहे भएपछि म गत तीन वर्षदेखि काठमाडौं जिल्ला, ठमेल वडा नं. १४, काठमाडौंमा बस्दै आएको छु ।

मेरो र रक्षाको चिनापर्ची मेरो बिहे उनको दाइ वसन्त पन्तसँग भएपछि भएको थियो । दुई वर्षअघि उनी भोजपुरबाट काठमाडौं पढ्न आएपछि हामीबीचको सम्बन्धमा घनिष्टता बढ्दै गएपछि हामीले एकअर्कालाई माया गर्न थालेका थियौं । हामीबीचको सम्बन्धका बारेमा वसन्तलाई केही महिनाअघिदेखि शङ्का लागेको बारे निजले मलाई यसअघि शारीरिक यातना दिंदा भन्ने गरेका थिए । तर मैले यसबारे रक्षालाई केही पनि भनेको थिईंन । वसन्तले मलाई रक्षासँग सम्बन्ध बढाएमा मार्ने समेत धम्की दिएको थियो । तर म र रक्षा एक अर्कालाई माया गर्दै धेरैअगाडि बढी सकेका थियौं । हामी बीचको सम्बन्धलाई निरन्तरता दिनैका लागि वसन्तको चाहना विपरित मैले जागिर खान थालेकी थिएँ । हामी चाँडैनै वसन्तको घर छोडेर बेग्लै बस्ने र उसँग पारपाचुके गर्ने मनस्थिति बनाई सकेका थियौं । पारिवारिक कानूनका सफल वकिलका रुपमा तपाईंको नाम धेरै सुनेकोले कानूनी सल्लाहका लागि तपाईको कार्यालयमा आउने विचार समेत हामीले गरी सकेका थियौं ।

आजको खुल्ला जीवन शैलीमा विश्वास राख्ने हामी जस्ता युवाहरुलाई सामाजिक बन्धनमा जबरजस्ती बाँध्न कसैले पनि सक्दैनन् भन्ने वास्तविकताबाट हामी परिचित भई सकेका थियौं । अमेरिका र क्यानाडाका महिलाहरु पुरुष सरह छाती देखाएर हिंड्न पाउने अधिकारका लागि पुरुषप्रधान कानूनको विरोधमा प्रदर्शन गर्दै कि त दुवैले छाती छोप्नु पर्ने नभए महिलाले पनि समान अधिकार पाउनु पर्ने जस्ता विचारहरु विश्वमा देखा पर्न थालेको अवस्थामा हामीबीचको सम्बन्धलाई अनैतिक भनेर मेरो तथाकथित श्रीमान वसन्तले ममाथि शारीरिक र मानसिक यातना दिनका साथै हाम्रो चरीत्र हत्या गर्ने काम गर्नु भएको छ ।

उनले मलाई गत राती मार्ने उद्देश्यका साथ हातपात गरेका थिए । मेरो शरीर भरी अहिले पनि पिटाईका दागहरु छन् ।

(गंगाले आफ्नो पच्छ्यौरो हटाएर शरीरको दाग देखाउने प्रयास गर्दा मैले अहिले आवश्यकता नभएको र कुनै अस्पतालमा गएर डाक्टरको रिपोर्ट ल्याउनु भनेर बयानलाई निरन्तरता दिन भनें)

बयान दिंदै गंगाले भनिन्ः       मेरो सम्बन्ध रक्षासँग रहेको बारे वसन्तलाई धेरै अगाडिदेखि शङ्का लागेपछि रक्षालाई फिर्ता भोजपुर पठाउन बुवालाई भोजपुरबाट बोलाएर बन्दोबस्त समेत गरेको थियो । तर आफुले वसन्तको बुवासँग हारगुहार गरेर रक्षाको पढाई र भविष्यको वास्ता दिएर रक्षालाई आफैसँग राखेपछि वसन्त हरदम मेरो र रक्षाको चियोचर्चो गर्न थाल्यो । यही शङ्कामा उसले ममाथि धेरैपटक हातपात गर्ने र जबरजस्ती अप्राकृतिक यौन सम्पर्क गर्न थाल्यो । म अब यस्तो पशु प्रवृति भएको मानिससँग एकपल पनि बस्न सक्दिन भन्ने मनस्थिति बनाउन थालेकी थिएँ । त्यसैले मलाई र रक्षालाई यो नारकीय जीवनबाट मुक्ति दिलाउन पारपाचुके गराई दिने वकिलको खोजिमा तपाईको नाम पाएता पनि सम्पर्क गर्न सकिरहेका थिएनौं । मलाई अब कुनै पनि हालतमा वसन्तसँग बस्नु छैन । आफ्नो अधिकारको लागि म जे जस्तो मुद्दा लड्न पनि तयार छु । हामी दुईलाई कसैले अलग्याउने प्रयास नगरुन् । हामी एकअर्काका लागि बनेका हौं र एक अर्काबिना बाँच्न पनि सक्दैनौं ।  म र रक्षाका बीच रहेको सम्बन्धमाथि कसैले आघात पु-याउन खोजेको खण्डमा हामी दुवैले आत्महत्या गर्ने छौं भनेपछि लामो सास फेर्न थालिन ।

मैले यो वयान वकिलको उपस्थितिमा आफ्नो ईच्छाले बिना कुनै डरत्रास र कसैको धम्की बिना दिएको छु । यसमा कुनै कुरा झुठो वा गलत ठहरिए म कानून बमोजिम सहुला बेहरौला भनि औंठा छापसहित सही गर्ने म गंगा ज्ञवाली, पन्त लेखिएपछि गँगाले औंठा छाप दिएर सही गरिन् ।

उनीहरुको वयान लिईसकेपछि मैले न्यायधिश महोदयको जानकारीका लागि समलिङ्गीका बारेमा छोटो टिप्पणी यसरी प्रस्तुत गरेको थिएँः

श्रीमान

नेपालमा समलिङ्गीको अवस्था एकदमै नाजुक छ । हाम्रो समाज उदार नभईदिएकोले र त्यसमाथि कानूनी मान्यता नभएकोले उनीहरु गुम्सिएर बस्नु परेको छ  भने मानसिक रुपमा तनावमा बस्नु परेको छ । यसका लागि सर्वप्रथम राज्यले समलिङ्गीहरुलाई पहिचान खुलाएर बाँच्न सक्ने  वातावरण बनाउन जरुरी भएको छ । आफ्नो सन्तानको चाहना नबुझेर परिवारले पनि जबरजस्ती बिहे गराईदिने पारिपाटीको अन्त्य गराउनु जरुरी भएको छ । कोही पनि व्यक्ति आफुले चाहेर समलिङ्गी बन्दैन । यो प्राकृतिक देन हो । मानवीय चाहना हो । यसलाई सबैले स्वीकार्नु पर्छ । स्वतन्त्र रुपमा बाँच्न पाउने र बिहे गर्न पाउने कनूनी व्यवस्था  हुनु जरुरी भईसकेको छ । समाजमा समलिङ्गीहरु पनि हुन्छन् भन्ने चेतना  सबैमा हुनु जरुरी भएको छ । परिवारले पनि आफ्नो सन्तान समलिङ्गी छ भने उनीहरुको समलिङ्गी मानसिकता बुझिदिनु पर्छ । सरकारले पनि उनीहरुलाई समान लिङ्गीसँग कानूनी रुपमा सँगै बस्ने र आफ्नो जीवन बिताउन पाउने अवसर प्रदान गरिनु पर्छ ।

श्रीमान,

नेपालमा समलिङ्गी विवाहलाई कानूनी मान्यता दिने कि नदिने भन्ने विषयमा अध्ययन गर्न सर्वोच्च अदालतले २०६४ पुष ६ गते एउटा समिति पनि गठन गरीसकेको छ भने केही समयअघि सर्वोच्चले जो सुकै दुईजना सँगै बस्न पाउने लिभिङ्ग टुकेदरको कानूनी व्यवस्था पनि गरी दिएको छ । यस्तो अवस्थामा समलिङ्गी अधिकारका विषयमा सरकार सकारात्मक हुनु पर्छ । कानूनी व्यवस्था नभएको कारणले गर्दा समलिङ्गीहरु मात्र होईन तेस्रोलिङ्गी, अन्तरलिङ्गी, तथा दुईलिङ्गी समुदायका सदस्यहरुले गम्भिर संकट ब्यहोरी रहेका छन् । अझ कतिपय युवाहरु व्यक्तिगत स्वतन्त्रताको खोजीमा विदेशिनु परेका छन् भने कतिपयले समाजको अवहेलना सहन नसकी आत्महत्यासम्म गर्न पुगेको देखिन्छ । तर त्यसको ठिक विपरित विदेशी नागरिक नेपालमा आएर विधिपूर्वक समलिङ्गी विवाह गरेर सरकारलाई चुनौती दिईरहेका छन् । हामी आफ्नै देशका नागरिकहरु यसबाट बञ्चित गराउँदै आएका छौं । नेपाल लोकतान्त्रिक व्यवस्था भएको देश भएकोले चाँडैनै समलिङ्गी कानून बन्ने सम्भावना रहेकोले यस तर्फ सकारात्मक बन्दै जाने परिपाटीको विकास हुनु जरुरी भएको छ श्रीमान ।

श्रीमान,

भनिन्छ एकआपसमा नजिकता बढ्दै गएपछि लगाव हुन थाल्छ । अनि लगाव बढ्दै जान थालेपछि प्रेम बस्न थाल्छ । प्रेमलाई अन्धो पनि मानिन्छ । यो अन्धो प्रेमले उमेर हेर्दैन, सम्बन्ध हेर्दैन, रङ्ग हेर्दैन, गरिब–धनी हेर्दैन, जाति हेर्दैन, धर्म हेर्दैन भनेझै प्रेमले लिङ्ग पनि हेर्दैन श्रीमान । यो दुई मानवबीचको प्राकृतिक आकर्षण हो । इतिहास पल्टाएर हेर्ने हो भने राजा नरभूपालको मृत्युपछि रानीहरुलाई सति पठाउने निर्णय भएपछि गोरे नाम गरेको एकजना कमारोले भर्खर राजा बनेका पृथ्वीनारायणलाई लाई राजाको मृत्युपछि रानीहरु सरह आफु पनि सति जाने ईच्छा जाहेर गर्दै डाँको छोडेर रुदै दिवङ्गत राजाको आफु प्रेम सेवक भएकोले उनीसँगै सधैं वनमा रमाउने गरेको र राजाले आफ्नो मृत्युपछि सँगै लाने भनेको स्मरण गर्दै आफुलाई सति जान नपाएमा भीरबाट हाम्फालेर आत्महत्या गर्ने भनेपछि गोरे कमारोलाई पनि सति बनाइएको  इतिहासबाट हाम्रा राजा–महाराजाहरुमा पनि समलिङ्गी प्रवृति रहेको प्रमाणित हुन्छ श्रीमान । (जगदिश घिमिरेको सकस उपन्यासबाट प्राप्त जानकारी) ।

मेरो मुवक्किल गँगाको जीवन विवाहपूर्व एउटा वेग्लै धारमा चलीरहेको थियो भने रक्षालाई पनि काठमाडौं आउनअघि आफ्नो जीवनले नयाँ मोड लिनेछ भन्ने अनुमान समेत गरेकी थिईनन् । साईनोमा यी दुई नन्द भाउजु हुन तर नजिकता र सम्बन्धले दुवैबीच घनिष्ठता बढ्दै गएपछि यी दुईले एकअर्कामा आफ्नो भविष्य देख्न थाले । एकअर्कामा आत्मीयता देख्न थाले । एकअर्काबाट मानवीय सन्तुष्टी पाउन थाले । त्यही सन्तुष्टीमा तगारो बन्दै गएका विवाहपश्चात् पति बनेका वसन्त पन्तबाट गँगा ज्ञवालीले छुटकारा पाउन चाहेकी छन् । तसर्थ गँगा ज्ञवाली र वसन्त पन्तबीचको वैवाहिक सम्बन्ध विच्छेद गरी गँगा र रक्षालाई स्वतन्त्र रुपमा बस्न पाउने व्यवस्थाका लागि श्रीमान समक्ष अनुरोध गर्दछु ।”

दुवैको वयान र समलिङ्गीका बारेमा टिप्पणी लेखी सिध्याउँदा रातको साँढे दस बजिसकेको थियो । मैल उनीहरुको वयानमा सहीछाप गरेर प्रहरी निरिक्षकलाई त्यसको प्रतिलिपिका लागि अनुरोध गरेर एकप्रति त्यही छाडें । अनि आफ्नो जिम्मेवारीमा आजको रात दुवैलाई साबिकको घरमा बस्न दिने अनुरोध सहीतको जमानतपत्र बनाएर बुझाएँ । त्यसपछि म गँगा र रक्षासँगै प्रहरी थानाबाट निस्कँदा आधारात भई सकेको थियो । भोलि बिहान जिल्ला अदालतमा १० बजे उपस्थित हुनु भन्दै मैले पहिला आफ्नो सहायक कृष्ण वर्मा र त्यसपछि गँगा र रक्षालाई उनीहरुको घरमा छोडेर आफ्नो घरतिर लागें ।

यो घटना घटेको लगभग दुई वर्षपछि आज अचानक मैले  रक्षा र गँगालाई देखेपछि एकपटक कुरा गरुँ जस्तो लागे तापनि म कुरा गर्न अगाडि बढ्न सकिन । ट्वीन टावर मलमा दुवैजना रमाई–रमाई किनमेल गर्दै थिए । उनीहरुलाई देखेर अतीतलाई सम्झँदै म आफ्नो कार्यालय पुगेपछि कम्प्युटरबाट उनीहरुको पारपाचुकेको मुद्दाको फायल नम्बर हेरेर दराजबाट पुरानो फायलहरु खोज्दै फायल नं. ३७६ झिकेर पढ्न थाले ।

 

०००

कथाकार परिचयः गोविन्द सिं रावत भारतको शिलाङमा जन्मेका हुन् र लामो समय नेपाल बसाई पछि हाल टोरण्टो क्यानाडावासी भएका छन् । विसं २०३७ मा “लामखुट्टे उपीया एण्ड रेट”, व्यग्ँय जुनकिरी साप्ताहिकमा प्रकाशनका साथ नेपाली साहित्य जगतमा उदाएका उनी कविता, कथा, नाटक, समालोचना, निबन्ध, अनसन्धानात्मक लेख, नियात्रा आदि विधामा कलम चलाउँछन् । उनका “पूर्वाञ्चल भारतको नेपाली कविताः एक सर्वेक्षण” (अनुसन्धान कृति)१९८६, सडक नाटक संग्रह (सडक नाटक) २०५७, विश्वरङ्गमञ्चमा सडक नाटक परम्परा (अनुसन्धान कृति) २०७०, नेता (नाटक संग्रह) २०७०, गङ्गा (कथा संग्रह) २०७१, आप्रवास साहित्य विचरण (समीक्षा संग्रह) २०७६ कृतिहरु प्रकाशित छन् ।