दुईसय वर्षअघिका भानुभक्तको अहिले पानीखेदो

व्यक्ति बृत्त

नवीन पौड्याल

भानुसाहित्य अध्ययन गर्ने परम्परा पनि लगभग दुई सय वर्ष पुग्न लागेको छ। मोतीराम भट्टको विक्रम संवत १९४८ मा प्रकाशित नेपाली भाषाका आदिकवि भानुभक्तको जीवनचरित्रदेखि लिएर अहिलेसम्म  पनि भानुभक्तका विविध पक्ष, सन्दर्भ र समयसापेक्षित विचारहरूका नयाँ नयाँ कुरा अघि आइरहेका छन्। आजभन्दा दुई सय वर्षअघि नै भानुभक्तले धेरै लेखेर गएका छन्। उनी आजभन्दा २११ वर्ष अघि जन्मेर लगभग पचास वर्ष मात्र बाँचेर कृति छाडेर गए।

भानुभक्तले आफ्नो समयमा लेखे। भानुभक्तका प्रशंसक र आलोचकहरू दुवै थरीका छन्। दुई सय वर्षअघिको समय र परिस्थिति बुझेर सबैका कुरा आत्मसात गरेर उनलाई प्रशंसा गर्नेहरू नै बढी छन्। आम पाठकका निम्ति भानुभक्तको रामायण एउटा महत्त्वपूर्ण ग्रन्थ हो भन्ने बुझेका हुन्छन्। भानुभक्तको बधूशिक्षाका आधारमा उनको आलोचना गर्ने पनि धेरै छन्। उनको आदिकवित्वमाथि प्रश्न उठाउने, उनको बधूशिक्षामाथि धेरै आलोचना नगरेका होइनन्। समालोचक रामकृष्ण शर्माले त गजाधर सोतीकी घरबूढीको पक्ष लिएर भानुभक्तको आलोचना गरेका छन्। भानुभक्तको कविताका सकारात्मक पक्ष नै बढी छन् । यद्यपि उनको कवित्वको नकारात्मक पक्ष केलाउनु अनुचित होइन। यद्यपि उनलाई मार्क्सवादी, माओवादी आदि सिद्धान्तका आधारमा उनलाई व्याख्या गरेर तिनलाई नकारात्मक दृष्टिकोण राख्नु भने उचित होइन।

यद्यपि विशेषगरी केही थोरै प्रगतिवादी समालोचकहरूका निम्ति भानुभक्त बुर्जुवा यथास्थितिवादी र सङ्कीर्ण कवि देख्छन्। उनीहरू भानुभक्तलाई आदिकवित्वको पनि विरोध गर्छन्। अहिले आएर कतिपय मार्क्सवादीहरूले उनको लेखनमा के के खोज्छन्। भानुभक्तले क्रान्तिकारी कविता लेखेनन्, अन्याय अत्याचारको बिद्रोहको स्वर भएको कविता लेखेनन् भनेर टिप्पणी गर्छन्। एक खाँटी प्रगतिवादी लेखक दिल साहनीका निम्ति भानुभक्त बिझाएका छन्। उनी लेख्छन्-

“विगतमा सामन्तवादी वा बुर्जुवा चिन्तकहरूले जस्तै प्रगतिवादीहरूले भानुभक्त आचार्यको जन्म जयन्ती मनाउँदैनथे । बरु उनीहरूले मुख्यतः गोकुल जोशी, लू स्युन वा म्याक्सि गोर्की आदि जस्ता प्रगतिवादी साहित्यकारहरूको जन्म जयन्ती मनाएको चाल पाइन्थ्यो । प्रगतिवादी साहित्यकारहरू भानुभक्त आचार्यको जन्म जयन्तीमा उपस्थित भए पनि प्रायः उनीहरूले नै  त्यसको आयोजना गर्दैनथे । भानभक्त आचार्यको बारेमा बोल्न परे पनि  बुर्जुवा बुध्दिजीवीहरूले जस्तै  उनको एकोहोरो प्रशंसा गर्नुभन्दा पनि आलोचना गर्दथे । तर अहिले आएर आफूलाई प्रगतिवादी भएको दाबी गर्ने केही चर्चित साहित्यकारहरूले पनि गोकुल जोशी, पारिजात, युद्धप्रसाद मिश्र आदि जस्ता प्रगतिवादी कविहरूको जन्म जयन्ती मनाउनुको सट्टा भानुभक्त आचार्यको जन्म जयन्ती मनाएर उनीहरूले आफ्नो प्रगतिवादी साहित्यकारप्रतिको कर्तव्य पूरा भएको ठान्दछन् । यसैले यो प्रगतिवादी साहित्यकारहरूबीचमा एउटा बहसको विषय बनेको छ । छलफलको विषय बनेको छ ।

 

प्रष्ट कुरा के हो भने सामन्तवादी वा बुर्जुवा बिचार बोकेका बुद्धिजीवी वा साहित्यकारहरूले आफ्ना बिचार मूल्य र मान्यतालाई बलियो बनाउन भानुभक्त आचार्यलाई अघि सार्दछन् । उनको महिमागान गर्दछन् । यसो गर्नु उनीहरूको धर्म नै हो । उनीहरूको आवश्यकता नै हो । प्रगतिवादी साहित्यकार वा बुद्धिजीवीहरूले आफ्ना विचार मूल्य र मान्यतालाई बलियो बनाउन भानुभक्त आचार्यको भन्दा पनि गोकुल जोशी, पारिजात, युद्धप्रसाद मिश्र, कृष्णसेन इन्छुक, केवलपुरे किसान आदिका जन्म जयन्ती मनाउनु धेरै राम्रो हुन्छ । यतातिर प्रगतिवादी साहित्यकारहरूको प्रयाप्त ध्यान गएको पाइन्न ।“

(दिल साहनी, नेपाली साहित्य घर, भानुभक्तलाई देवत्वकरण गर्नुपर्ने आवश्यकता छैन। (नेपाली साहित्य घर, असार २९ , २०७८ मंगलवार)।

यसरी दिल साहनी भानुभक्तको जन्मजयन्ती मनाउन भन्दजा लु सुन, म्याक्सिम गोर्की, गोकुल जोशी भन्दा बढी महत्त्व देख्छन्। उनले भानुभक्त एक विश्वसाहित्यको आइकोन भएका विश्वभरीका गोर्खालीले मान्ने आदिकविको कुरा देखेनन्।

अर्का झन कट्टर मार्क्सवादी समालोचक डा कृष्णदेव अधिकारी त झन दुई पाइला अघि बढेर ‘बहुविवाह र सतीप्रथाका समर्थक भानुभक्त’ शीर्षक नै दिएर उहिलेको कुरालाई अहिलेको चश्मा लाएर समीक्षा गर्छन्। उनी लेख्छन्- “नेपालको तत्कालीन अनुदार शासन व्यवस्था र नेपाली जनताको चेतनाको स्तर हेर्दा भानुभक्त वा अन्य कुनै पनि कविले तत्कालीन व्यवस्थाको विरुद्धमा बोल्न वा लेख्न सक्ने स्थिति थिएन । शासक वा शासन व्यवस्थाको विरुद्ध कुनै आवाज निकाल्नु नै मृत्युको मुखमा पर्नु हुन्थो । यसैले भानुभक्त वा अन्य कुनै पनि कविबाट तत्कालीन अवस्थामा क्रान्ति र विद्रोहका स्वर भरिएका कृतिको अपेक्षा गर्न सकिदैनथ्यो । तर, समाज र राष्ट्रप्रति जिम्मेवार एउटा चेतनशील लेखकले तत्कालीन संपूर्ण परिस्थितिप्रति आँखा चिम्लेर जनविरोधी र समाजविरोधी गतिविधिप्रति समर्थन गरिरहन पनि सक्तैन । शासक र शासन व्यवस्थाको विरोध नगरेरै पनि उसले समाजमा विद्यमान कुप्रथा, रुढि, विकृति र विसङ्गतिलाई आफ्ना काव्य–कवितामा चित्रण गर्न सक्तछ । राजनीतिक यथार्थको चित्रण गर्न नसकिए पनि सामाजिक यथार्थको चित्रण गर्न उसलाई कुनै बाधा हुदैन ।“

उनी बधूशिक्षाका कवि भानुभक्तप्रति यो भाव राख्दछन्- ‘भानुभक्तको नारीप्रतिको यस्तो निरङ्कुश दृष्टिकोण र सामन्ती चिन्तन थाहा पाउँदा पाउँदै पनि हाम्रा कतिपय समालोचकहरुले भानुभक्तप्रति अन्धभक्ति–भाव राख्दै उनलाई महान् कवि, अद्वितीय कवि, जातीय कवि, कवि सम्राट, आदिकवि, लोककवि आदि संज्ञा दिँदै अतिशय प्रशंसा गर्ने गरेको पाइन्छ । नारी विभेद र उत्पीडनको पृष्ठपोषक रहेको यस्तो रचनालाई पनि कतिपय महिलाहरुले नै सुन्दर रचना भन्दै भानुभक्तको प्रशंसा गर्नु उदेक र आश्चर्यको कुरा हो। भानुभक्तका अन्य रचना झैं ‘बधूशिक्षा’ पनि सरल नेपाली भाषा–श्लोकमा लेखिएकाले नै यसले अशिक्षित नेपाली समुदायमा प्रभाव पार्न सकेको हो । सरल र मीठो भाषा अनि सुन्दर शैलीमा लेखिएर पनि ‘वधूशिक्षा’ को भाव र सन्देश भने कुरुप देखिन्छ’ ।

अहिलेका समयको चश्मा लाएर हेर्दा कुनै सिद्धान्त पनि सफल हुँदैन। मार्क्सवाद पनि अब काम नलाग्ने भुत्ते भैसकेको छ। अब सीमित र थोरै देशमा मात्र मार्स्वादी सिद्धान्तको सरकार छ। त्यही सिद्धान्तका आधारमा देशमा शासन गर्नेहरू पनि क्रुर तानाशाह, अत्याचारी, घोर भ्रष्टाचारी व्यवस्था पनि भोगेका छन्। त्यो प्रगतिवादी सैद्धान्तिक विचार पनि अब क्रमशः घट्दो छ। मान्छेलाई भेंडा बाख्रासरह एउटै विचारको थैलीभित्र हाल्ने फर्मुलाबद्ध विचारमा मान्छे बसिरहन सक्दैनन्। नयाँ हुँदा एक समयमा त्यसको आवश्यकता ठानियो र धेरैले समर्थन र समपर्ण गरे तर अब त्यो काम लाग्दैन। यसको साध्य र साधन दुवै त्रुटीपूर्ण छ। नेपालमा त झन मार्क्सवाद लेनिनवाद माओवादका नाममा आफ्नो मौलिक सांस्कृतिक परम्परामाथि हमला बोल्ने, मास्ने, छास्ने काम भएको छ। अनि त्यो दृष्टिकोणले हेर्दा भानुभक्तलाई यथास्थितिवादी, अगतिवादी, बुर्जुवावादी, सामन्तवादी देख्छन्। भानुभक्तको भन्दा कार्ल मार्क्सको जयन्ती मनाउन आवश्यकता देख्छन्। उनीहरूका लागि गोकुल जोशी आदिकवि हुन्। दिल साहनी त सोझै भानुभक्तको भन्दा बरू गोकुल जोशी, पारिजात, युद्धप्रसाद मिश्र, कृष्णसेन इन्छुक, केवलपुरे किसान आदिका जन्म जयन्ती मनाउनु धेरै राम्रो हुन्छन भन्ने देख्छन्।

भानुभक्तको योगदान अर्कै किसिमको छ। भाषिक र सांस्कृतिक योगदान छ। आजभन्दा लगभग दुई सय वर्ष अघि नेपाली समाजमा बसेर उनले रामायणको नेपाली भावानुवाद गरेका छन् जुन ठिक समयमा उपयुक्त काम भएको छ। भारतमा पनि त्यतिबेला भक्ति आन्दोलनकाल थियो। मीराबाई तुसलीदास, सुरदास, सन्त कबीर, आदिका विभिन्न भक्ति जागरण र सुधारका समयमा भानुभक्तले पनि सही समयमा रामायण अनुवाद गरेका हुन्। भानुभक्तको रामायणको अनुवाद गर्नुका उद्देश्य आध्यात्मिक उत्थानका लागि थियो। क्रान्तिका निम्ति उक्साउने, जनता उत्तेजित पार्ने, समाजको आमुल परिवर्तन थिएन। त्यतिबेला न मार्क्सवाद थियो न पुँजीवाद थियो। उनलाई लागेको समयसापेक्षतामा जे जे चेतना थियो, त्यहीलाई कलमले लेखे।

भानुभक्तको कुनै कविता तत्कालीन सामाजिक स्थिति र प्रशासनिक थितिको सङ्केत गरेका छन्, केही  ठुङ पनि हानेका छन्। उनको एउटा कविता विन्ती डिट्ठा कति गरूँ… क्यान गर्छन् यी भोलि भोलि मा पाइन्छ। यस कवितामा सत्ता व्यवस्थापन पक्षमा विद्यामान रहेको ढिला सुस्ती प्रणालीलाई उनले व्यङ्ग्य वाण हानेकै छन्।  राजा, शासन र जनता कस्तो हुनुपर्ने भन्ने बोध रामायणले देखाएको छ। त्यस समयमा नैतिकता, भातृत्व, राजको कर्तव्यचेतना, निष्ठा प्रजापरायण व्यवस्था भएको रामायणको अनुवाद गरी समाजमा फैलाउनुलाई पनि समयानुकूल क्रान्ति मान्न सकिन्छ। यति लेख्नु पनि ठूलो विद्रोह हो। बधूशिक्षामा व्यक्त विचार त्यस बेलाको चारित्रिक मानदण्ड थियो। अहिलेको आँखामा विकसित चस्माले आजभन्दा प्रायः दुईवर्ष अघिको मूल्याङ्कन गर्नु उचित होइन।

अहिलेका प्रगतिवादीहरू रुसी क्रान्तिजस्तो असफल क्रान्तिको गीत गाउन छोड्दैनन्। चीनमा माओवाद नाम मात्र छ। माओको विचार चीनमै छैन,त्यहाँ बर्बर तानाशाही छ। नेपाली कथित प्रगतिवादीहरुमा विश्वपटलमा कस्तो आर्थिक रणनीती र समाजनीती हुनुपर्ने हो त्यसको खाका छैन, चिन्तन छैन, खाली मक्किएर ढलिसकेको लेनिनवाद माओवादको सुगारटाइ छ। इतिहासको उत्खनन र अनुसन्धानका नाममा स्रष्टाको मूल्याङ्कनको सट्टा अवमूल्यन गर्नु उचित होइन।

हामी भारतमा बस्नेहरुको सन्दर्भमा भने भानुजयन्ती अत्यन्त महत्त्वपूर्ण कुरा हो। हाम्रा अघिल्ला पीँढीका सचेत बुद्धिजीविहरूले समयानुचित रूपमा भानुभक्तलाई उभ्याउँदा भारतमा पनि हाम्रो शीर उभिएको छ।  नेपालका लागि भानुभक्तलाई कुन रूपमा लिन्छन्, त्यो आफ्नै ठाउँमा छ तर हाम्रा लागि भने जातीय अस्मिता, भाषिक गोलबद्धता, सांस्कृतिक सचेतता, साहित्यिक जागरण, जातीय एकताका रूपमा देख्छौं। भारतीय मानसिकताले भानुभक्तलाई भारतीय देख्छ। हाम्रा आध्यात्मिक धरातललाई बलियो बनाउने काम गरेका छन्। भारतीय साहित्यका हाम्रा प्रतिनिधि भानुभक्त हुन्। रामकाव्य परम्परालाई अग्रणी रूपमा नेपाली समाज र जनमानसमा अघि बढाउने भानुभक्त हुन्। भानुभक्तले अनुवाद गरेको रामायण बाचन गरेको सुनेर यस्तै वाचन गर्न म पनि सकुँ भनेर अक्षर चिनेर पढ्न सिकेर भए पनि रामायण वाचन गर्न सक्ने भएका धेरै मानिस थिए।

निष्कर्षमा भन्नुपर्दा भानुभक्त आचार्य एक अध्यात्मवादी कवि थिए। उनले नेपाली कविता साहित्यको उत्थान र विकासका निम्ति ठुलो योगदान दिएका छन्। उनी आफ्नो समयअनुरूप कविता लेखे। उनका कवितामा नैतिकता, आध्यात्मिकता आदि विशेषता पाइन्छ। यद्यपि उनको काव्यिक विशेषताको मूल पक्ष उनको नेपाली भाषिक व्यवस्थाको प्रयोग हो। ठेट नेपाली भाषामा रामायण जस्तो  महाकाव्यमा उतार्नु ठुलो कुरा हो। अहिले आएर विभिन्न वाद, साहित्यिक सिद्धान्त आदिका आधारमा अध्ययन गर्दा उनका कवितामा सबै कुरा नपुग्लान् तर उनलाई आक्षेप लाउऩु उचित होइन। अझ मार्क्सवादी लेनिनवादी सिद्धान्तका आधारमा भानुभक्तका कविताको व्याख्या र विश्लेषण गर्दै तिनको नकारात्मक पक्षको मात्र खोतल्नु, अवमूल्यन गर्नु उचित होइन। उनको योगदान त नेपालबाहिर बढी रहेको छ। भारतबाट भानुभक्तलाई त्यसै व्यर्थैमा मानेको होइन, त्यसका विभिन्न ऐतिहासिक सामाजिक, भाषिक, आस्तित्विक कारण छन्। जे होस्, उनी स्तुत्य छन्  अमर छन्।

000

लेखक परिचयः नविन पौड्याल भारतको कालिम्पोङमा जन्मिएका हुन् । सन् १९८३ मा स्कूलको वार्षिक पत्रिका “सुमाइट” मा कविता प्रकाशन गरी साहित्यिक जगतमा प्रवेश गरेका हुन् । उनको लेखनको मूल विधा समालोचना हो । उनका आख्यान अनुशीलन(ईसं २०११), साहित्य अुशीलन (ईसं २०१४), साहित्य सन्धान (ईसं २०१८), कृति सन्धान (२०२१)  भारतीय नेपाली समालोचक सन्दर्भिका (ईसं २०२२), नेपाली गीतको सेरोफेरो( ईसं २०२३), चिन्तन समीक्षण (२०२४) लगायतका कृतिहरु प्रकाशित छन् । उनी तल्लो बम बस्ती, कालिम्पोङ,   भारतमा बसोवास गर्छन् ।