नवीन पौड्याल
नेपाली साहित्यमा खुद्राखुद्री काम धेरै भइरहेका छन्। कविता, कथा, नाटक निबन्ध समालोचना आदिका पुस्तक प्रकाशित भइरहेका छन्। यद्यपि केही ठोस काम पनि भइरहेका छन्। दुई चार वर्षदेखि यता यस्ता केही ठोस कामहरूमा जगदम्बा वृहत नेपाली साहित्येतिहास, नेपाली जाति, रत्न नेपाली बृहत समालोचना, नेपाली नाट्यविमर्श, संक्षिप्त नेपाली नाट्यकोश, लेखकहरूको रचना समग्र आदि प्रमुख हुन्। केही प्रकाशन गृहहरूले कुनै कवि-लेखकहरूको सम्पूर्ण कृति प्रकाशन गर्दै आइरहेको छ। अब हामीले झिना-मसिना प्रकाशनभन्दा यस्ता केही ठोस काम गर्नुपर्ने आवश्यकता छ।
केही समालोचकहरू नेपाली नाट्यविधाको विकासमा निर्लिप्त रूपमा लागिपरेका छन्। केही व्यक्ति नाट्य अध्ययन, समीक्षण, लेखन, प्रदर्शन आदिमा संल्गन छन्। नेपालमा धेरै रङ्गमञ्च टोली, नाट्य थिएटर र नाट्य प्रतिष्ठानहरू खोलिएका छन्। त्यस्ता थिएटर र प्रतिष्ठानहरूबाट दिनहुँ काम भइरहेका छन्। भारतमा पनि केही नेपाली नाट्य टोली सक्रिय रूपमा नाटकको विकासमा रहेका छन्।
कमल सुवेदीले साहित्यमा आफ्नो नाम नीलकमल भनेर छोट्याएका छन्। उनको जन्म २०२८ मा अमरपुर पाँचथरमा भएको हो। उनका मातापिताको नाम श्रीमती इन्दिरा सुवेदी र राजेन्द्र सुवेदी हो। उनका पिताजी एक प्रख्यात प्रध्यापक साहित्यकार समालोचक हुनाले सानैदेखि उनले घरमा साहित्यिक परिवेश पाएका हुन्। उनले पिताजीको दिशानिर्देशन र सहयोगमा काठमाडौंमा पाठ्यसामग्री पसल चलाएर बसेका हुन्। त्यस पसलमा धेरै नेपाली साहित्यकार भेला हुने, पुस्तक चर्चा गर्ने, पुस्तक किन्न आउँथे। त्यसमा अझ पिताजीका विद्यार्थी चेला, साहित्यिक बन्धु आदिका सम्पर्कले उनीभित्रको पनि लेखकस्व ब्युँझिएको हो। हालसम्म उनका प्रकाशित पुस्तकहरूमा सुरसङ्गीतका केही साधक (२०७९), पाँच रमाइला बालकथा (२०८०), सङ्क्षिप्त नेपाली नाट्यकोश (२०८१) र संक्षिप्त नेपाली चलचित्रकोश (प्रकाशोन्मुख) पाइन्छ। उनका गीतसङ्गीत चलचित्र र साहित्य विषयक धेरै फूटकर लेखहरू प्रकाशित पाइन्छन्। उनी साहित्यको गहन अध्ययन गरी लेखनमा संलग्न हुन्छन्। उनको यो गुण आफ्नै पिताजीबाट पाएको हुनुपर्छ।
नेपाली साहित्यमा धेरै किसिमका कोशहरू प्रकासित भएका छन्। शब्दकोशबाहेक विधापरक, विषयपरक र भाषापरक कोशहरू प्रकाशित छन्। उदाहरणका निम्ति कुमारप्रसाद कोइरालाको प्रज्ञा नेपाली समालोचक कोश, मिथक कोश, अङ्ककोश, अनुवादकोश, नेत्र एटमको संक्षिप्त नेपाली साहित्य कोश आदि। यसै क्रममा नीलकमलको सङ्क्षिप्त नेपाली नाट्यकोश पनि प्रकाशित भएको छ। उनले धेरै वर्षको निरन्तर प्रयास र अनुसन्धानबाट संक्षिप्त नेपाली नाट्यकोश तयार पारेका हुन्। यसमा जम्मा ४६० पृष्ठ रहेका छन् जसमा मुख्य गरी नेपाली नाट्यकोश नाटक र रङ्गमञ्चका पारिभाषिक शब्दको परिचयात्मक विवरण पाइन्छ। यसपछि परिशिष्ट १ मा नाटक रङ्गमञ्चका क्षेत्रमा पृथक् पहिचान र मोड़ प्रदान गर्ने नाटक, नाट्यशास्त्र तथा नाट्यसमूहरूको सूचि पाइन्छ। परिशिष्ट २ मा उपलब्ध मौलिक नेपाली नाटक, गीतिनाटक, रेडियो नाटक तथा एकाङ्कीहरू रहेका छन्। परिशिष्ट ३ मा नेपालमा बोलिने विभिन्न भाषिकामा प्रकाशित नाटकहरू, परिशिष्ट ४ मा हालसम्म प्राप्त बालनाटक तथा बालएकाङ्कीका पुस्तक सूचि पाइन्छ। परिशिष्ट ५ मा अन्य विभिन्न भाषाबाट नेपाली भाषामा अनुदित नाटक तथा एकाङ्कीहरू परिशिष्ट ६ मा चर्चित केही नाट्यसमूह तथा नाट्यघरहरू जसमा नेपालबाहिरका नाट्यमण्डलीहरू, परिशिष्ट ७ मा राजा महेन्द्रले वि. सं. २०१७ साल कार्तिक २८ गते काठमाडौंको जमलमा रहेको सांस्कृतिक संस्थानको राष्ट्रिय नाचघर उद्घाटन गर्दाको उद्घाटन मन्तव्य मुख्य गरी रहेका छन्। अझै परिशिष्ट ८ मा सन्दर्भ ग्रन्थहरू र परिशिष्ट ९ मा स्रोत व्यक्तिहरूको सूची दिइएको छ।
यसमा रहेको मूल अध्यायमा अकारादि क्रममा नाटकका अङ्ग उपाङ्ग, शब्दावली, नेपाली नाट्यतेहास, नेपाली नाटक परम्परा र प्रवृत्ति, प्रमुख नाट्य प्रकार, नायक-नायिका प्रकार, नाट्यतत्वहरू, नेपालीलगायत विश्वका प्रमुख नाटक र नाटककार आदिको अध्ययन गरिएको छ। यस ग्रन्थभित्रका पाठ्यवस्तुलाई समग्रमा मूलतः चार प्रकारले अध्ययन गर्न सकिन्छ- नाट्य अङ्गहरूको परिचयन, साहित्येतिहास, नाट्यकलाकार परिचय र रङ्गमञ्चीय प्रविधि परिचय। यसैगरी परिशिष्ट १ मा नाटक रह्गमञ्चका क्षेत्रमा पृथक् पहिचान र मोड प्रदान गर्ने नाटक, नाट्यशास्त्र तथा नाट्यसमूहहरू। यसमा अटलबहादुरदेखि लिएर हेनरिक इब्सेनसम्मको परिचय दिइएको छ। परिशिष्ट २ मा उपलब्ध मौलिक नेपाली नाटक गीचिनाटक रेडियो नाटक तथा एकाङ्कीहरू भनेर ५९८ वटाको सूचि दिइएको छ। परिशिष्ट ३ नेपालमा बोलिन विभिन्न भाषामा प्रकाशित नाटकहरू मा ५२ वटाको वटा सूचि दिइएको छ। परिशिष्ट ४ मा हालसम्म प्रकाशित प्राप्त बालनाटक तथा बालएकाङ्कीका पुस्तक भनेर ५० वटा नाटकको नामसूचि छ। परिशिष्ट ५ मा विभिन्न भाषाबाट नेपाली भाषामा अनूदित नाटक तथा एकाङ्की भनेर ७४ वटाको एउटा सूचि छ। परिशिष्ट त्र मा केही चर्चित नाट्यसमूहको सुचि छ जसमा १०२ वटाको एउटा सूची छ।
नीलकमलको यो ग्रन्थ नाट्यकर्मी, नाटकको अध्ययन गर्ने र आम पाठकका निम्ति निकै उपयोगी छ। यसमा रहेका अध्याय र परिशिष्टहरूले यसलाई महत्त्व प्रदान गरिएको छ। यसमा बहुविध जानकारी, समीक्षण, साहित्येतिहास लेखन, नाटककार र नाट्यकर्मी, नाटक पुस्तक चर्चा, विश्व नाट्य परिप्रेक्ष्य, नाट्य प्रणाली पद्धति आदिका बारेमा राम्रो अध्ययन गरिएको छ। मूलतः यसका चार महत्त्व छन्- यो पुस्तक नाट्यकर्मीका निम्ति, नाट्य क्षेत्रमा उच्च अध्ययनका निम्ति, नाट्येतिहासकारका निम्ति र आम पाठकका निम्ति।
यस ग्रन्थको अध्ययन गर्दा नाटकबारे लेखकको गहन अध्ययन र अनुशीलन पाइन्छन्। यसमा नाट्यसिद्धान्त, नाट्यचर्चा, विश्वनाट्य परम्परा, नेपाली नाट्यपरम्परा, नाट्य संस्था, नाटककार सबै सबैको विश्लेषण र समीक्षण पाइन्छ। यसमा अकारादि क्रममा नाट्यचर्चा पाइन्छ। नेपाली नाट्यकोश भनेर अ देखि ह सम्मको प्रविष्टि पाइन्छ। अंकास्य, अखड़ा नाटक, अग्रगामी नाट्यप्रवृत्ति अङक, अङ्कमुख, अङ्कावतार, अङ्ग, अङ्गज, अङ्गरचना, अङ्गराज, अङ्गी, हुँदै अङ्ग्रेजी नाटक आइपुग्दा अङ्ग्रेजी नाटकको संक्षिप्त इतिहाससमेत प्रस्तुत गरिएको छ। त्यस्तै गरी जम्मै वर्णका आधारमा रहेका नाटकसम्बन्धित शब्द र शब्दावलीको अर्थ, परिभाषा, भेद आदिबारे संक्षिप्तमा भए पनि लेखिएको छ। यसलाई नाट्यशास्त्रको पारिभाषिक कोश पनि मान्न सकिन्छ
यस ग्रन्थमा प्रविष्टिमा रहेका नाट्यसम्बन्धित अधिकांश शब्द-शब्दावलीमा नेपालीका साथै त्यसको अङ्ग्रेजी पर्यायवाची शब्द पनि दिइएको छ जसले गर्दा पाठकलाई अङ्ग्रेजी शब्द-शब्दावलीको पनि ज्ञान हुन्छ। यसमा नेपाली, हिन्दी र अङ्ग्रेजी नाट्यप्रतिभाहरूको चर्चा गरिएको पनि पाइन्छ।
नेपाली नाट्य साहित्यको अध्ययन परम्परामा केही उल्लेखनीय काम भएका छन्। केशवप्रसाद उपाध्याय, रामचन्द्र पोखरेल, ठाकुरप्रसाद पराजुली, राजु प्रधान हिमांशु, देवीप्रसाद सुवेदी, अशोक थापा हुँदै अब नीलकमलको नाम उल्लेखनीय छ। नीलकमलको नेपाली नाट्यकोश नेपाली नाट्य अध्ययन परम्परामा एउटा गहिकिलो ग्रन्थ बनेर हाम्रो सामु आएको छ। यसभित्र नेपाली नाट्येतिहास, विश्वनाट्येतिहास, नाट्य प्राविधिक शब्द र शब्दावलीको अर्थ, परिचय, परिचर्चा गरिएको छ भने नेपाली नाटककार र विश्वनाटककारहरूको परिचय र योगदानको समीक्षात्मक मूल्याङ्कन गरिएको छ।
000
लेखक परिचयः नविन पौड्याल भारतको कालिम्पोङमा जन्मिएका हुन् । सन् १९८३ मा स्कूलको वार्षिक पत्रिका “सुमाइट” मा कविता प्रकाशन गरी साहित्यिक जगतमा प्रवेश गरेका हुन् । उनको लेखनको मूल विधा समालोचना हो । उनका आख्यान अनुशीलन(ईसं २०११), साहित्य अुशीलन (ईसं २०१४), साहित्य सन्धान (ईसं २०१८), कृति सन्धान (२०२१) भारतीय नेपाली समालोचक सन्दर्भिका (ईसं २०२२), नेपाली गीतको सेरोफेरो( ईसं २०२३), चिन्तन समीक्षण (२०२४) लगायतका कृतिहरु प्रकाशित छन् । उनी तल्लो बम बस्ती, कालिम्पोङ, भारतमा बसोवास गर्छन् ।

विश्वपरिक्रमालाई धेरै धेरै धन्यवाद..