राजेन्द्र भण्डारी
अँध्यारो होटलमा एउटा क्रान्तिकारी नेता
ग्लासमा ग्लास ठोक्काउँदै
भन्दै थियो आफ्नो समूहसित—
‘दुहुना गाई हो मुद्दा भनेको
यसलाई बचाएर राख्नुपर्छ।’
हत्केलामा अनुहार बोकेर
कलेज धाइरहेका खुट्टाहरू कहाँ पुगे थाहा छैन।
एक हुल गाउँले
सेकेन्ड ह्यान्ड लुगा दोकानमा छान्दैछन्
नयाँजस्तै देखिने कोट, कमेज, ब्रा।
माया नपाएर
बाँझ्झिइरहेको जमीन
केमिकल फर्टिलाइजरलाई आँखा तर्छ।
केही उमार्दिनँ भन्छ।
कतै पुग्न अघि छेपारी गल्छ।
अधुरो कविता लेखेर कवि ढल्छ।
नारा,फेस्टुन,हावामा बट्टारिई उठ्ने मुट्ठी
बेमौसमी जिलिगान्टे अम्बक भइदिन्छ।
एक झर्को पानी पर्छ
अनि छिचिमिराहरू कमिला बनेर झर्छन्।
भोलिपल्ट
नयाँ हूल छिचिमिराहरू
मञ्चभरि ,सडकभरि ,गोरेटा-गल्छेँडाभरि भरिन्छन्।
‘शीघ्रपतन,गुप्तरोग,दाद,खुजली,बाँझो कोख,
पाठेघरको समस्याको लागि अचुक औषधि
किफायती दाममा सिर्फ तपाईँको लागि..’
पर्चा बाँड्दै,कराउँदै बेचिरहन्छ एकजना ठेलागाडीमा।
छक्क पर्छु
यहाँ कसलाई होला र शीघ्रपतनको समस्या?
क-कसलाई होला गुप्त रोग यस शहरमा?
तर उसलाई थाहा छ
शहरमा उसको दबाई हारालुछ बिक्छ।
०००
कवि परिचयः कवि राजेन्द्र भण्डारी भारतको कालेबुङ्मा जन्मेका हुन् र हाल उनको बसोवास सोही स्थानमा छ । सन् १९७५ मा मधुपर्कमा ‘पूर्व पश्चिम‘ शिर्षक कविता पहिलोपल्ट प्रकाशित भएको थियो । उनी मूलतः कवि नै हुन् र पनि समालोचना र खोज अनुसन्धानमा पनि समर्पित छन् । उनका हिउदे यी चिसा रातका पर्दाहरूमा (१९७९) यी शब्दहरू :यी हरफहरू (१९८६), क्षर/अक्षर (१९९८), शब्दहरूको पुनर्वास (२०१०), प्वाँखाहरू र आकाश (२०११), राजेन्द्र भण्डारीका प्रतिनिधि कविता ( २०२३) कविता सङ्ग्रहहरु तथा सिक्किमका नेपाली कथाको अध्ययन(२०२२)शोध-अनुसन्धान, सृजन सन्दर्भ (२०२४ लेख सँगालो) तथा प्रश्नहरूको घेरा (२०२४ अन्तर्वार्ताहरू) कृतिहरु प्रकाशित छन् ।

आहा ! अति उत्तम कविता ! गहिरो अर्थ र व्यङ्ग्य भरिएको मीठो कविता ।