कवि कालीप्रसाद रिजाललाई “रेखा-पवन स्रष्टा सम्मान” प्रदान गरिने

मुख्य समाचार

६ फागुन २०८१, काठमाडौं

नेपाल स्रष्टा समाजले रु.१ लाख १सय ११ रुपैयाँ नगदराशि र सम्मानपत्र सहितको “रेखा -पवन स्रष्टा सम्मान” पहिलोपल्ट वरिष्ठ कवि तथा गीतकार कालीप्रसाद रिजाललाई अर्पण गर्ने भएको छ । समाजको केन्द्रिय कार्यसमितिले उक्त निर्णय गरेको हो । नेपाली साहित्यमा पाँच दशकभन्दा बढी समयदेखि कविता तथा गीति क्षेत्रमा रिजालले पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै उक्त सम्मान अर्पण गर्न लागिएको समाजले जनाएको छ ।
नेपाली साहित्यको श्रीबृद्धिमा लागिपरेका ६० वर्ष उमेर पुगेका र उत्कृष्ट रुपमा लेखनीलाई निरन्तरता दिइरहेका स्रष्टालाई प्रदान गरिने गरी गत साल स्थापित यो सम्मान बरिष्ठ साहित्यकार पवन आलोक तथा उहाँकी धर्मपत्नी रेखा कँडेलको नाममा उहाँका छोरीहरु बिमला कँडेल थापा,रिता कँडेल बस्नेत,अनिता कँडेल, छोरा सुनिल कँडेल,बुहारी माला कटुवाल कँडेल समेतले यो सम्मानको लागि अक्षयकोष व्यवस्था गरिदिएका हुन् ।
समाजले जनाए अनुसार रेखा -पवन स्रष्टा सम्मानको लागि बरिष्ठ साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरेको संयोजकत्वमा नाम सिफारिस समिति गठन गरि समितिले सिफारिस गरेको नामलाई नेपाल स्रष्टा समाजको केन्द्रिय कार्यसमिति बैठकले अनुमोदन गरेको अध्यक्ष ‘रोदन’द्धारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।
सम्मानित हुने कवि कालिप्रसाद रिजाल नेपाली कविता जगतका दरिला व्यक्तित्व हुन् । उनका अनेकन कालजी गीतहरु कर्णप्रिय र लोकप्रिय रहेका छन् । उनको कलम गद्य विधामा समेत उत्तिकै बलियो रहेको छ ।
स्मरणीय छ- नेपाली साहित्यका विविध विधामा दरो कलम चलाउने पवन आलोक स्रष्टा मात्र नभएर साहित्यिक अभियन्ता समेत हुन् र उनका परिवारले “पवन आलोक नियात्रा पुरस्कार” समेत यसअघि स्थापना गरी बर्षेनी प्रदान गरिंदै आएको छ । उनी नेपाल स्रष्टा समाजका संस्थापक अध्यक्ष हुन् ।
पुरस्कार प्रदान गर्ने संस्था नेपाल स्रष्टा समाज साहित्यिक संस्थाहरुमा बेग्लै स्वरुप लिएर गतिबिधि गर्दै आएरहेको छ र वर्तमान अध्यक्ष श्रीओम श्रेष्ठले यसको गतिबिधि र कार्यक्रमलाई थप उँचाई प्रदान गर्ने नेतृत्वदायी भूमिकामा देखिन्छन् । नेपाल स्रष्टा समाजका प्राज्ञिक गतिबिधि नेपाली साहित्य जगतमा उदाहरणीय बन्दै गएको छ ।
रेखा-पवन स्रष्टा सम्मान आगामी फागुन २४ गते काठमाडौंमा एक कार्यक्रम आयोजना गरि समर्पण गरिने बताइएको छ ।

(प्रदीप सापकोटाको सहयोगमा)

Leave a Reply