विष्णुप्रसाद शर्मा पराजुली
म कति पटक जलूँ ?
म आमा हुँ ।
म तिम्रो लागि बारम्बार जलिरहेकी छु,
विक्रमको बिसौँ शताब्दीको अन्तमा
मेरो लाम्टो चुस्दाचुस्दै
थुप्रै दशरथ, गंगालाल, धर्मभक्त मारिए,
विक्रमको बाइसौँ शताब्दीको प्रारम्भ हुनै लाग्दा
(२०१७, २०३६, २०४६, २०५२, २०६२,२०८२)
मैले मेरा थुप्रै लालाबालाको रगत छताछुल्ल पोखिएको सहेँ
त्यही आलो रगतमा म लतपतिएँ
त्यही आलो रगतमा म डुबेँ
त्यही रगतको रापमा म आफैँमा जलेँ
त्यही रगतमा म आफैँभित्र जलिरहेँ
हिजो सिंहदरबार जले झैँ म घरिघरि जलिरहेँ
र सोचेँ,
म एक पटक जले पछि फेरि जल्नुपर्नेछैन
फेरि सोचेँ
पोखिएको मेरा सन्तानको रगतले
तिनका सन्तानको लागि नयाँ बिहान ल्याउनेछ
त्यसैले
म जलेँ
अनि बारम्बार विश्वासमा जलेँ
र मैले, मलाई जलाउने मेरै सन्तानलाई
म जलिरहेरै सोधेँ
म कति पटक जलिरहनुपर्ने हो ?
तर मलाई जलाउनेले
न म आगोमा पोलिनुको कारण भन्न सके
न म आगोमा जले पछि
पेरिसको नोत्रे दामको झैँ मेरो पुनर्निर्माण गर्ने कसम नै खाए
न त मेरो जलनलाई शान्त पार्ने खाका नै बनाए
बस् मलाई जलाए पछि
मेरै खरानी धस्न प्रतिस्पर्धा गरे
मेरै लालाबालाको रगतमा चोबलिएर
मेरै लालाबालालाई झुक्याएर
मेरै खरानी धसेर घीनलाग्दो इतिहास बनाए ।
आज फेरि जलें म
मेरो छातीमा दनदनी आगो ठोस्ने हे मेरा सन्तान
अब तिमी नै भन
तिम्रो लागि म अझ कति पटक जलूँ ?
विक्रमको बाइसौँ शताब्दीले ढोका उघार्दै गर्दा
मेसिन मानवले भविष्यको लाली लिएर आउँदै गर्दा
यमराजले तिमीलाई पत्राचार गरिरहेको बेला
क्रूर इतिहास दोहो-याउँदै
नयाँ राजा बन्ने धुनमा
मेरा कलिला लालाबालालाई
मेरो लाम्टो चुस्दै गरेका मेरा प्युसाहरूलाई
तोतेबोली बोल्दै गरेका मेरा रगतका आला डल्लाहरूलाई
तिमीले क्रूर शिकारीले
सुधो हरिणको पाठीलाई लुकेर मारे झैं मा-यौ
मलाई मर्माहत बनायौँ
अनि मलाई आगो लगायौ,
म रातभर जलिरहेँ,
म दिनभर जलिरहेँ,
गौँथलीका बचेरा मसँगै जलिरहे
ईदि अमिन बनेर तिमीले मलाई हेरिरह्यौँ
जूनेली रातले आँसु बर्साउँदै म जलेको हेरिरह्यो ।
हे मेरा जेन जी पुस्ता
अब मेरो तिमीलाई पनि प्रश्न छ,
तिमीले पनि मलाई हिजोका पुस्ताले झैँ
जलाउने मात्र हौ कि ?
के मेरो उपचार गर्ने मलम तिमीसँग छ ?
इतिहासको सम्मान गर्दै मेरो पुननिर्माण गर्ने नक्सा के तिमीसँग छ ?
मेरा लालाबालाको भविष्य सुखी बनाउने कार्यक्रम के तिमीसँग छ ?
होइन भने तिमी पनि दुध चुसाउँदै गरेकी
तिम्री आमालाई जलाउँने नयाँ पात्र हुनेछौ ।
मेरा लालाबाला आज तिम्रा बालसखाझैँ
मेरो लाम्टो चुस्दा चुस्दै मारिनेछन्
म सदियौँदेखि जले झैँ क्रान्तिको नाममा सिंहदरबार भई जल्नुपर्नेछ
त्यसैले भन न जेन जी तिम्रो नाममा
म फेरि कति पटक सिंहदरबार बनेर जलूँ ?
त्यसैले,
ए मेरा कलिला सन्तान
मलाई माया गर्न नक्सा बनाऊ
मलाई शृङ्गार गर्न चित्र बनाऊ
म पुनः गर्भिणी भएकी छु
मेरा सन्तान सुरक्षित र सम्पन्न हुने
नेपाल आमाको नक्सा बनाऊ
ताकि म फेरि सिंहदरबार बनेर जल्न नपरोस्
होइन भने भन त
म फेरि कति पटक जलूँ ?
भदौ २५ २०८२ (१० सेप्टेम्बर २०८२)
ओटावा, क्यानाडा
000
लेखक परिचयः विष्णुप्रसाद शर्मा पराजुली मूलतः नियात्राकार हुन् । पर्वतमा जन्मेका उनी हाल बूढानीलकण्ठमा बसोवास गर्छन् । उनका तीन नियात्रा कृतिहरू “तिब्बत यात्रा, (२०७२ ),” डोल्पोः विश्वको जीवित सङ्ग्रहालय” (२०७४), श्वेत पर्वत, (२०७८) तथा “आधा बाँचेको मान्छे”(२०८२) कविता सङ्ग्रह प्रकाशित छन् । उनको एक कृति अङ्ग्रेजी भाषामा समेत प्रकाशित छ । प्रस्तुत कविता उनी अमेरिका तथा क्यानाडाको भ्रमणको वेला लेखेका हुन् ।
