प्रमोद प्रधान
(लेखक जयदेव गौतमको नवप्रकाशित पुस्तक समीक्षा कृति हालै काठमाडौंमा विमोचन भएको छ र देश विदेश विभिन्न स्थानमा यस कृतिको चर्चा परिचर्चा कार्यक्रम भइरहेका छन् । सो कृतिमा कवि तथा विद्वान् लेखक प्रमोद प्रधानको गहन भूमिका रहेको छ । सो भूमिका पुस्तक पढ्न चाहनेहरूका लागि तथा कृतिको वारेमा पूर्व जानकारी चाहनेहरूका लागि उपयोगी हुने ठानेर लेखकको अनुमतिमा साभार प्रकाशन गरिएको छ ।-सम्पादक)
पुस्तकको संसार बेग्लै हुन्छ । हुन त आज भौतिक रूपमा पुस्तक पढ्ने प्रवृृत्ति घटिरहेको देखिन्छ । यथार्थतः आजका मानिस ‘डिजिटल’ संसारमा रमाउन थालेका छन् । डिजिटल संसारबाट मानिस फेरि पुस्तकमा फर्किन्छन् या फर्किंदैनन्, यसै भन्न सकिने स्थिति छैन । तथापि, डिजिटल संसारमा लामो समयसम्म अलमलिँदा हुने हानिबारे चिकित्सक र मनोचिकित्सकहरू, समाजशास्त्रीहरू र शिक्षाविद्हरू भने खुलेरै बोल्न थालेका छन् । तर अभैm पनि कतिपय यस्ता मानिस पनि छन् जो पुस्तक पढ्नमै आनन्द मान्छन्, अनि पुस्तक पढ्दा आह्लादित हुने गर्छन् । यस्तो आह्लाद कुनै पदयात्रीले पदयात्राबाट प्राप्त गर्ने आह्लाद जत्तिकै आनन्ददायक हुन्छ, यस्तो आह्लाद कुनै वैज्ञानिकले प्रयोगशालामा बसेर कुनै अनुसन्धान गरिरहे जत्तिकै विस्मयकारी हुन्छ अनि यस्तो आह्लाद कुनै सङ्गीत–साधकले कुनै नयाँ धून तयार गरिसकेपछिको सुस्केरा जत्तिकै मनमुग्धकारी हुन्छ ।
पुस्तकको पठनबाट आनन्द लिने यस्तै मानिसहरूको पातलो उपस्थितिमा म अहिले जयदेव गौतमलाई देखिरहेछु, भेटिरहेछु । जयदेव गौतमको प्रस्तुत कृति उनको ‘पठनप्रियता’को साक्षी हो भन्ने मलाई लाग्छ । उनले यो कृतिलाई जेसुकै नाम दिए पनि मैले भने यसको नामकरण गरेको छु, ‘अनेक विधा: अनेक कृति’ ।
मैले यसो भन्नुको पनि कारण छ । यस कृतिका आधारमा भन्न सकिन्छ, गौतम कुनै एक विशेष विधाका पुस्तकहरू मात्र पढ्न रुचि राख्ने पाठक होइनन् । उनी विधा छुट्याउँदैनन्, उनी लेखकप्रति आग्रह राख्दैनन्, उनी भूगोल हेर्दैनन् । बस्, उनी लेखनलाई माया गर्छन्, पुस्तकलाई मायाले सुम्सुम्याउँछन् र पुस्तकमा भएका विषय, भाव, शैली, सम्पे्रषणीयता र भाषाका आधारमा आफ्ना धारणाहरू, असहमतिहरू र प्रशंसाका शब्दहरूलाई लिपिबद्ध गर्छन् । यस कृतिमा चर्चा गरिएका अधिसङ्ख्यक साहित्यिक कृतिहरू भए पनि केही साहित्येतर कृति समेत नभएका भने होइनन् । यसले पनि जयदेव गौतमको साहित्यप्रतिको लगाव, सर्वविधाप्रियता र पठन अभिरुचि देखाउँछ ।
प्रस्तुत कृतिमा जयदेव गौतमले साहित्यका विभिन्न विधाहरू आख्यान अन्तर्गतका कथा र उपन्यास, निबन्ध अन्तर्गतका आत्मपरक निबन्ध, संस्मरण, यात्रा–संस्मरण, जीवनी, आत्मकथा, पत्र–साहित्य र स्मृति–ग्रन्थ, कविता र अनुवाद कृतिहरूको पठनपछिका आफ्ना अभिव्यक्तिहरूलाई लिपिबद्ध गरेका छन् । यसमा सर्वाधिक सङ्ख्यामा दश उपन्यास छन् ः गोविन्द गिरी पे्ररणाको ‘लिभिङ टुगेदर’, चन्द्रकान्त आचार्यको ‘हरित भूमि’, नीलम कार्की ‘निहारिका’का ‘द्रौपदी अवशेष’ र ‘योगमाया’, ठाकुरप्रसाद बरालको ‘अहल्या’, बुद्धिसागरको ‘एक्लो’, विश्व कुइँकेलको ‘गोपीचा’, शङ्करप्रसाद गैरेको ‘कृष्ण’, शारदा शर्माको ‘कम्प’ र डा. हरिराज भट्टराईको ‘याङ्सिला’ ।
रमाइलो त के छ भने उल्लिखित उपन्यास–कृतिहरूमध्ये पाँचवटा चाहिँ पौराणिक विषय र पात्रहरूमा, अथवा, इतिहाससम्बद्ध पात्र र विषयमा केन्द्रित छन् । ‘अहल्या’ र ‘कृष्ण’ पौराणिक पात्र÷विषयकेन्द्रित र ‘योगमाया’, ‘गोपीचा’ र ‘याङ्सिला’ ऐतिहासिक पात्र र विषयकेन्द्रित उपन्यास हुन् । यसले एउटा स्पष्ट सङ्केत गर्दछ । त्यो के हो भने, नेपाली आख्यानकारहरूको रुचि अब पौरााणिक र ऐतिहासिक विषयतिर अलि बढी जान थालेको हो कि ? यसको अर्थ, यसअघि पौराणिक वा ऐतिहासिक पात्र र विषयमा उपन्यास लेखिएका थिएनन् वा छैनन् भन्ने होइन । हाम्रा ‘क्लासिक’ लेखकहरू मात्र होइन, पछिल्लो पुस्ताका आख्यानकारहरूको रुचि पनि त्यसतर्पm जानुलाई म अत्यन्त सकारात्मक ठान्छु ।
उल्लिखित उपन्यासहरूमध्ये ‘अहल्या’ र ‘कृष्ण’ का रचनाकार नेपाली उपन्यासमा त्यत्ति देखिएका व्यक्ति होइनन् । पौराणिक पात्र र विषयलाई औपन्यासिक संरचनामा ढाल्न त्यत्ति सजिलो पक्कै छैन । धेरै ग्रन्थहरूको अध्ययनपछि कथालाई उपन्यासमा ढाल्दा विषयान्तर हुने डर, पात्रहरूको गन्जागोल स्थिति, सन्दर्भहरूलाई शृङ्खलाबद्ध बनाउने समस्या र उपन्यासका माध्यमबाट आपूmले प्रस्तुत गर्न खोजेको भावमा तलमाथि हुने स्थितिबाट गुज्रनुपर्ने अवस्था आउँछ । सम्भवतः यिनै र यस्तै अन्य कारणले हुनसक्छ, जयदेव गौतमको ‘पाठक–मन’ यी दुई उपन्यासबाट त्यत्ति सन्तुष्ट देखिँदैन । उनले ‘अहल्या’ मा ‘औपन्यासिकताको अभाव’ भएको बताएका छन् भने ‘कृष्ण’ मा ‘भाषिक आभा भए पनि सपाट वर्णन’ भएको उल्लेख गरेका छन् ।
ऐतिहासिक पात्र योगमाया न्यौपानेबारे लेखिएको योगमाया उपन्यास २०७४ सालमा मदन पुरस्कार पाएको कृति हो । निकै सोधखोज र स्थलगत भ्रमणपछि लेखिएको यो उपन्यासबारे गौतमले त्यत्ति धेरै नकारात्मक टिप्पणी गरेका छैनन्, ‘पठनीय’ र ‘सङ्ग्रहणीय’ भएको बताएका छन् । तथापि गौतमले ‘उपन्यासकारको अनुसन्धानले योगमायाका विरोधीहरूलाई समेट्न नसकेको’ गुनासो भने गरेका छन् ।
इतिहासबाट न्याय नपाएको एक जना बाहुन युवक गोपी शर्मालाई न्याय दिने क्रममा लेखिएको ‘गोपीचा’ उपन्यासले राणाकालीन समयमा १९९७ सालमा जेलको सुरुङ निर्माण गर्ने व्यक्तिको कथालाई विषय बनाएको छ । उनी त्यस्ता पात्र हुन्, जसले अत्यधिक यातना सहेर पनि सुरुङबारे जेल प्रशासनलाई थाहा दिएनन्, बरु प्राण त्यागे । इतिहासमा यस्ता धेरै पात्र छन्, जसको योगदान ‘हुनेखाने मान्छे’का नाममा जोडिन पुगेका छन् । गौतमले ‘गोपीचा’ उपन्यासको एक मार्मिक वाक्य उल्लेख गरेका छन् ः
‘जेलमा गोपीसँगै हिँडिरहेको मोटो मान्छे (अर्को कैदी) ले उसलाई सोध्यो, “के गरेर आएका हौ तिमी ?”
गोपीले सानो स्वरमा जवाफ दियो, “माया गरेर ।” ।’
गौतमले उपन्यासकारका शब्द–शब्द पढेर आफ्ना विचारहरूलाई अत्यन्त सुझबुझका साथ प्रस्तुत गरेका छन् भन्ने तथ्य माथिका पङ्क्तिहरूले दिन्छन् । यस्तै, गौतमले नेपाल–तिब्बत–चीन सम्बन्धमा केन्द्रित ‘याङ्सिला’ उपन्यासलाई फरक विषयको भए पनि ऐतिहासिक तथ्य कम र अत्यन्त क्लिष्ट शब्दहरूको प्रयोग भएको उपन्यासको रूपमा व्याख्या गरेका छन् ।
पौराणिक र ऐतिहासिक विषयसम्बद्ध यी पाँच उपन्यासबाहेक गौतमको दृष्टिमा परेका अन्य उपन्यासहरू भने सामयिक विषयसँग सम्बन्धित छन् । ‘लिभिङ टुगेदर’, ‘हरित भूमि’, ‘एक्लो’, ‘द्रौपदी अवशेष’ र ‘कम्प’ यी पाँच उपन्यास नेपाली साहित्यमा स्थापित लेखकका कृति हुन् । ‘लिभिङ टुगेदर’ बारे गौतम अलि कडा रूपमा प्रस्तुत भएका छन् । यस उपन्यासलाई उनले ‘सुरा, सुन्दरी र सेक्सको त्रिवेणी’ भनेका छन् र ‘विषयवस्तुको उठानप्रति गम्भीर नदेखिएको’ टिप्पणी गरेका छन् । यति मात्र होइन, गौतमले स्पष्ट रूपमा भनेका छन्, “‘लिभिङ टुगेदर’ जस्तो उपन्यासले ..स्तर खस्काउने काम मात्र गर्दछ ।” ‘एक्लो’लाई एकपटक पढ्नुपर्ने कृति भने पनि उनले यसको खरो आलोचना गरेका छन् । तर सबै लेखकका सबै कृतिलाई एकै दृष्टिले हेर्न नहुने र सबै कृति समान स्तरको नहुने विचार राखेर उनी सन्तुष्ट भएका छन् ।
उपन्यास ‘द्रौपदी अवशेष’ बारे पनि गौतमको प्रतिक्रिया खरो छ । उनले उपन्यास ‘हुम्ला नपुगीकनै लेखिएको’ मात्र नभई ‘सन्देशविहीन’ र ‘सपाट’ भएको पनि उल्लेख गरेका छन् । ‘कम्प’ उपन्यासप्रति भने उनी नरम देखिन्छन् । भूकम्पपछिको समयलाई लिएर लेखिएको ‘कम्प’ मा ‘यथार्थ, कल्पना र अनुभूतिबीचको भेद र अभेद, अन्तद्र्वन्द्व र तादात्म्य उपन्यासमा एकसाथ प्रवाहित छ’ भनेर उनले भनेका छन् ।
परिवर्तन, सिर्जनशीलता र राष्ट्रपे्रमको भावभूमिमा रचिएको ‘हरित भूमि’ उपन्यासलाई गौतमले सफल उपन्यासको संज्ञा दिएका छन् । उनको स्पष्ट विचार छ, “रचनाकारहरूले यस्ता पात्र सिर्जना गर्नुपर्दछ, जसले समाज बदल्ने प्रक्रियामा देश र देशवासीलाई स्टिमुलेट गर्न सकून्, झक्झक्याउन सकून् ।”
यसरी जयदेव गौतमले दश वटै उपन्यासलाई मिहीन ढङ्गले अध्ययन गरेर कलम चलाएको देखिन्छ । उनका अनुसार उपन्यास हुनलाई विषय त चाहिन्छ नै, त्यसबाहेक कथाका रूपमा बुन्न सक्ने शीप, शृङ्खलाबद्ध प्रस्तुति, पात्रहरूलाई चरित्रमा ढाल्न सक्ने क्षमता, परिवेशको यथार्थ चित्र र भाषिक सुललितता पनि चाहिन्छ भन्ने तथ्यमा उनले जोड दिएका छन्, जुन यथार्थ पनि हो ।
निबन्ध विधाअन्तर्गतका विभिन्न उपविधाका कृतिहरूको अध्ययन पनि जयदेव गौतमको रुचिक्षेत्रभित्र पर्दछ भन्ने तथ्य उनले अध्ययन गरेका कृतिहरूबाट नै थाहा पाइन्छ । यसअन्तर्गत सर्वाधिक संस्मरण विधाका पाँच पुस्तक छन्, दुर्गा घिमिरेको ‘उनको सम्झना’, बसन्त श्रेष्ठको ‘अँगालोभरिको अनुभूति’, भारती गौतमको ‘विगत र बाडुली’, राधाकृष्ण मैनालीको ‘नलेखिएको इतिहास’ र राधा पौडेलको ‘खलंगामा हमला’ ।
संस्मरणमा तीन कुरा महत्त्वपूर्ण मानिन्छन्– पहिलो, तथ्यगत प्रस्तुति, दोस्रो, लेखकीय इमानदारी, र तेस्रो, सम्पे्रषण शिल्प । माथि उल्लिखित कृतिमध्ये ‘उनको सम्झना’लाई गौतमले पठनीय कृति भए पनि हुनुपर्ने जति प्रभावपूर्ण हुन नसकेको बताएका छन् । ‘अँगालोभरिको अनुभूति’ कृतिलाई भने ‘संस्मरण–कृति’ भन्नुभन्दा ‘आत्मकथा’ भन्नु उपयुक्त हुने उनको विचार देखिन्छ । ‘विगत र बाडुली’ किताबका लेखकको ‘अभिव्यक्ति–क्षमता’ उच्चस्तरीय रहेको उनको ठहर छ । ‘विगत र बाडुली’ पढिसकेको पाठकको हैसियतले जयदेव गौतमको भनाइमा म पनि ल्याप्चे लगाउँदै भन्छु, “उनी अत्यन्त सहज, सरल र प्रवाहपूर्ण ढङ्गले आपूmलाई व्यक्त गरिरहेकी हुन्छिन् ।”
गौतमले ‘नलेखिएको इतिहास’लाई “नेपाली राजनीतिक इतिहासको लामै कालखण्डको आँखीझ्याल” बताएका छन्, तर यसो भन्दाभन्दै पनि उनले लेखकले प्रस्तुत गरेका विचारहरूसँग भने सहमत हुने नहुने सार्वभौम अधिकार भने पाठकमै रहेकोे पनि उल्लेख गर्न बिर्सेका छैनन् । अर्कोतिर, ‘खलंगामा हमला’ को भने उनले खुलेरै प्रशंसा गरेका छन् ।
उनको पठन सूचीमा रहेको अर्को पुस्तक हो, विन्दा पाण्डेको ‘भुइँमान्छे’ । एकल संस्मरण–ग्रन्थका रूपमा लेखिएको नभए पनि यो पुस्तक राजनीति, अझ विशेष गरी एउटा राजनीतिक दल (नेकपा एमाले) केन्द्रित, भए पनि अरूभन्दा फरक ढङ्गले प्रस्तुत छ । राजनीतिक घटना विकासको वर्णन गर्ने क्रममा ती घटनाजन्य समयसँग एक वा अर्को किसिमले जोडिएका धेरै मान्छेले सम्झेका संस्मरणहरू यस पुस्तकमा छन् ।
अब कुनै पनि इतिहास संस्थापन पक्षको आँखाले हेरेर मात्र पूर्ण हुँदैन, भुइँमान्छेहरूको दृष्टिबाट पनि हेरिनुपर्छ भन्ने स्पष्ट विचार यस कृतिले दिने गम्भीर सन्देश हो । यसमा एउटा राजनीतिक दल निर्माण गर्न भुइँमान्छेहरूले गरेको समर्पण, लगानी र सुरक्षालाई सत्तामा पुगेपछि नेताहरूले कसरी लत्याइदिए भन्ने तथ्यहरूलाई भुइँमान्छेहरूकै बोलीमा स्पष्टसँग राखिएको छ । उनीहरूले स्पष्ट भनेका छन्, गरीखानेको भन्दा ठगीखानेको वर्चस्व भयो । समीक्षाका क्रममा गौतमले भनेको एउटा कुरा अत्यन्त गम्भीर र विचारणीय छ, “छ जना कम्युनिस्ट प्रधानमन्त्री भैसक्दा पनि गर्व गर्न लायक उपलब्धि के दियो भन्ने सवाल सोच्न झकझकाउँछ यस कृतिले ।”
यात्रा–निबन्ध अहिले धेरै लेखिन थालेका छन् । तर ती सबै यात्रा–निबन्ध हुन सकेका छन् या छैनन् भन्ने कुरा चाहिँ महत्त्वपूर्ण छ । ‘घुमेजति सबै लेखिहाल्नुपर्ने हाम्रा लेखकहरूको रहर हो या बाध्यता ?’ यो प्रश्न भने पाठकका रूपमा हाम्रा अघिल्तिर घरिघरि उठिरहन्छ । खैर, विषयवस्तुमै जाऔँ ! यस पुस्तकमा चर्चा गरिएका कृतिमध्ये यात्रा–संस्मरणका कृति चार वटा छन्, कृष्ण बजगाईंको ‘युङफ्राउ’, प्रतीक ढकालको ‘त्यो उज्यालो कर्णाली’, बबिता बस्नेतको ‘समय साक्षी’ र भीष्म उपे्रतीको ‘एकपटक टोकियो’ ।
‘युङफ्राउ’ का लेखकलाई उनी “वर्तमानमा टेकेर इतिहासलाई हल्का खोतलेर शब्दहरूमा पस्किन रुचि” राख्ने लेखकका रूपमा लिन्छन् र पुस्तकमा “इतिहासको सतही सूचना र घरबाट निस्केपछिको निश्चित बिदा अवधिमा धेरैभन्दा धेरै ठाउँमा पुग्ने हस्याङफस्याङ मात्र” भएको निष्कर्ष निकाल्छन् । ‘त्यो उज्यालो कर्णाली’ यात्राकेन्द्रित कृति भए पनि यस कृतिमा विभिन्न अठार सन्दर्भ–सामग्री समेतको प्रयोगले यो यात्रामै सीमित भएको भन्न नमिल्ने उनको भनाइ छ ।
यस्तै, गौतमले ‘समय साक्षी’लाई भ्रमण–वृत्तान्तको सम्पूर्ण रसास्वादन प्राप्त नहुने कृतिको रूपमा विवेचना गरेका छन् । ‘एकपटक टोकियो’लाई उनले यात्रा–निबन्धभन्दा ‘पेन इन्टरनेशनल कङ्गे्रस’मा सहभागी भएको संस्मरण बढी भएको कृति भनेका छन् । यात्रा–संस्मरणात्मक कृति भनेको विषयवस्तु र घुमाइको वर्णन मात्र होइन, यसलाई अनुभूतिगत तीक्ष्णता, प्रस्तुतिगत शिल्प र सुललित एवम् प्राञ्जल भाषाले मीठो बनाउँछ । यात्रा–निबन्धमा यस्ता विशेषताहरूको कमी भएको तथ्यप्रति समीक्षक गौतमले स्पष्ट रूपमा औंल्याएका छन् ।
गौतमको आँखामा परेका निबन्ध–कृतिहरूमा अशोकनाथ तिवारीको ‘मैले नचिनेको म’, जीवन सुवेदीको ‘अन्तरविरोध’, लक्ष्मीप्रसाद देवकोटाको ‘लक्ष्मी निबन्धसङ्ग्रह’ र श्रीओम श्रेष्ठ ‘रोदन’को ‘एक्लो परिचय’ गरी चार वटा छन् । ‘मैले नचिनेको म’ शीर्षकबाटै दार्शनिक निबन्ध–कृति हो भन्ने लाग्छ । यस कृतिमा ‘अध्यात्म चिन्तन’ पाइने भए पनि औपदेशिक भएको गौतमको धारणा छ । यस्तै, उनी ‘अन्तरविरोध’ मा रहेका निबन्धहरू आकारले छोटा हास्यरसले युक्त भएको बताउँछन् भने ‘एक्लो परिचय’ लाई उनले “हतारमा लेखिएको निबन्ध–कृति” भनेका छन् ।
यहाँ ‘लक्ष्मी निबन्धसङ्ग्रह’ बारे उनको एक आलेख छ, ‘लक्ष्मी निबन्धसङ्ग्रहको पुनर्पठन अनुभव’ । यस शीर्षकमा भएको एउटा शब्द ‘पुनर्पठन’ले धेरै कुराको सङ्केत गर्दछ । ‘पुनर्पठन’ त्यस्ता कृतिको मात्र हुन्छ, जुन कृति शाश्वत हुन्छ, सार्वकालिक हुन्छ । ‘लक्ष्मी निबन्धसङ्ग्रह’ त्यस्तै सार्वकालिक कृति हो भन्ने उनको विचार देखिन्छ, जुन सत्य पनि हो । उनले कृतिको प्रशंसामा लेखेका यी पङ्तिmहरूलाई त्यसको उदाहरणका रूपमा प्रस्तुत गर्न सकिन्छ, “निःसन्देह भन्न सकिन्छ, देवकोटाको ‘लक्ष्मी निबन्धसङ्ग्रह’ जस्तो निबन्ध–कृति न पहिले लेखियो, न त्यसपछि नै कसैले लेख्न सक्यो । र, सम्भवतः लेख्न पनि सक्दैन । किन पनि भने लक्ष्मीप्रसाद देवकोटा एक जुगमा एक चोटि मात्र जन्मन्छन् ।… ‘लक्ष्मी निबन्धसङ्ग्रह’ जस्ता किताबहरू कहिल्यै, कुनै युगमा पनि, पुराना हुँदैनन् । यी किताबको महत्ता कहिल्यै कम हुँदैन, हुन सक्दैन ।” ‘क्लासिक’ साहित्यप्रतिको उनको रुचिको प्रमाण पनि हो यो आलेख ।
यस्तै, पुस्तकमा चर्चा गरिएका जीवनी–कृतिको सङ्ख्या पनि चार वटै छन्, उज्ज्वल प्रसाईंको ‘एक बागी ः खगेन्द्र संग्रौलाको साधना र सङ्घर्ष’, गोविन्द गिरी पे्ररणाको ‘सुश्री पारिजात’, मञ्जु थापाको ‘जीवन सङ्घर्षका पलहरू’ र शैलजा श्रेष्ठको ‘तम्घासका हाम्रा अजाअजी’ ।
कुनै पनि मानिसका जीवनमा उज्याला र अँध्यारा दुवै पक्ष हुन्छन् । तर हामीकहाँ जीवनी लेखनमा प्रशंसा मात्रै गर्ने र अँध्यारा पक्षलाई लुकाउने कार्य हुने गरेको छ । ‘एक बागी ः खगेन्द्र संग्रौलाको साधना र सङ्घर्ष’ पठनीय भए पनि यो आरोपबाट भने मुक्त छैन । यो तथ्यलाई गौतमले नलुकाइकन भनेका छन् । पुस्तकको शीर्षकमा भएको ‘बागी’ शब्दको प्रयोगप्रति नै उनको असहमति देखिन्छ, जुन सही पनि हो । ‘बागी’ शब्दले बोक्ने गहुँगोपनलाई उनको जीवनशैलीले थेग्न सक्छ या सक्दैन ? भन्ने प्रश्न पाठकका मनमा उब्जनु स्वाभाविक देखिन्छ, यही सत्यलाई गौतमले स्पष्ट रूपमा भनिदिएका छन् ।
अर्को आलेख बनेर आएको ‘सुश्री पारिजात’ धेरै लामो समयको सोधखोज र सन्दर्भ–सामग्रीको प्रयोग गरी लेखिएको जीवनी–कृति हो । यो पुस्तक प्रकाशित हुनासाथ यसको शीर्षकमा प्रयुक्त ‘सुश्री’ शब्दलाई लिएर केही प्रश्नहरू पनि उठे, उठाइए । तर जसले जे भने पनि पारिजातका जीवनका सबै पाटाहरूबारे थाहा पाउन र बुझ्न यो कृति ‘आधिकारिक कृति’ बन्न पुगेको छ । गौतमले भने यस कृतिमा मौलिक कुराभन्दा विभिन्न व्यक्तिहरूको भनाइ अलि बढ्तै राखिएको उल्लेख गरेका छन्, तथापि उनको स्वीकारोक्ति पनि छ, “यो किताब जीवनी–साहित्यको महत्त्वपूर्ण उपलब्धि भने हो नै ।”
‘जीवन सङ्घर्षका पलहरू’ पुस्तक लेखक मन्जु थापाकी आमा ईश्वरादेवीको सङ्घर्षको कथा हो । आमाको जीवनलाई यस कृतिमार्पmत सार्वजनिक गरिदिएर छोरीले अत्यन्त गुनिलो काम गरेकी छन् । यस कृतिबारे गौतमको निष्कर्ष छ, “तत्कालीन नेपाली समाज चिन्नलाई मात्र नभई महिला आन्दोलनको उचारचढाव र विकासलाई बुझ्न चाहने सबैलाई समेत पुस्तक उपयोगी” छ ।
यस्तै, ‘तम्घासका हाम्रा अजाअजी’ आफ्नो जीवनका चालीस वर्ष पनि ननाघेकी नातिनीले लेखेको हजुरबा–हजुरआमाको कथा हो । किताब आफैँमा महत्त्वपूर्ण भए पनि कसले लेखेको भन्ने समीक्षकको प्रश्न छ । आजकल घोस्ट राइटिङका माध्यमबाट लेखिएका कृतिको विषय लेखकको भए पनि त्यसको शिल्प र भाषा अरूको भएपछि त्यो कसको कृति भन्ने प्रश्न उठ्नु स्वाभाविकै हो । यस पुस्तकको हकमा पनि समीक्षकको यही प्रश्न छ । अङ्गे्रजी माध्यमबाट पढेकी र संस्कृत नपढेकी एउटी युवतीको पुस्तकको प्रत्येक अध्यायको आरम्भ संस्कृतका श्लोकबाट हुनु कति उपयुक्त छ, गौतम प्रश्न गर्छन् । यो समस्या पछिल्लो समयमा घोस्ट राइटिङमार्पmत लेखिएका अन्य पुस्तकहरूका सन्दर्भमा पनि देखिन्छ । सःशुल्क सेवाप्रदायक संस्थाको दायित्व पुस्तकको लेखनलाई राम्रो, शुद्ध र पठनीय बनाउनुपर्ने भए पनि त्यस्तो नभएको जयदेवको भनाइ छ ।
यस कृतिमा गौतमले चर्चा गरेका पुस्तकहरूमा आत्मकथाका दुई कृति छन्, मीना आचार्यको ‘स्वतन्त्रता र समानताको निरन्तर यात्रा’ र शान्ता मानवीको ‘पर्दाभित्रका कथा’ । पहिलो पुस्तक ‘स्वतन्त्रता र समानताको निरन्तर यात्रा’ विषय र लेखनका दृष्टिले गहन भए पनि साहित्यिक प्राञ्जलता नभएको गौतमको ठहर छ । यस्तै, गौतमका अनुसार, ‘पर्दाभित्रको कथा’ लाई आत्मकथा भनिए पनि विभिन्न पत्र–पत्रिकामा प्रकाशित फुटकर लेखहरूको सङ्ग्रह मात्र हो ।
गैरआख्यान भनिएको निबन्ध–कृतिभित्रै पर्ने नवराज केसीको ‘शून्यको मूल्य’ कृतिको प्रशंसामा उनले निकै शब्द खर्च गरेका छन् । यस कृतिबारे टिप्पणी गर्ने क्रममा गौतमले एउटा नयाँ शब्द बनाएका छन्, ‘जीवनवारिधि’ । औपचारिक शिक्षाअन्तर्गत दिइने ‘विद्यावारिधि’ उपाधिभैmँ जीवनका अनुभवबाट प्राप्त हुने ज्ञानलाई उनले ‘जीवनवारिधि’ भनेका छन्, जुन सुन्दा आकर्षक र सही पनि लाग्छ । निबन्धअन्तर्गत पर्ने पत्र–साहित्यकृति ‘भावलिपि’ को समीक्षालाई पनि उनले आफ्नो यस पुस्तकमा समावेश गरेका छन् । डिजिटल युगले पत्राचारको युगलाई पछाडि धकेलिदिएको सन्दर्भमा यस्ता पत्रहरूको महत्ताबारे भनिरहनुपर्छ जस्तो लाग्दैन ।
माथि उल्लिखित पुस्तकहरूबाहेक यस कृतिमा जयदेव गौतमले चर्चा गरेका पुस्तकहरूमा कविताका तीन पुस्तक छन्, कमला न्यौपानेको ‘जङ्गलको यात्रा’, शरद निरौलाको ‘लजाएका परेलीहरू’ र शोभा सुनुवारको ‘उरूर’ । यी कृतिमध्ये कोइँच अर्थात् सुनुवार भाषामा लेखिएको कृति ‘उरूर’को समीक्षा गरेर उनले महत्त्वपूर्ण कार्य गरेका छन् । सङ्ग्रहमा भएका कविताहरूमा पाइने ‘पहिचानवादी स्वर’मा उनको समीक्षा केन्द्रित छ ।
गौतमको प्रस्तुत कृतिमा एउटा कथाकृतिबारे मात्र चर्चा छ, अर्चना थापाको ‘कठपुतला’ । ‘कठपुतला’लाई गौतमले ‘नारीवादी’ र ‘प्रयोगात्मक’ भनेका छन् । स्मृति–ग्रन्थका रूपमा प्रकाशित दुई कृति ‘जीवराज आश्रित स्मृति–ग्रन्थ’ र ‘शोभाकर भुसाल स्मृति–ग्रन्थ’को पनि पुस्तकमा विस्तृत चर्चा गरिएको छ । उनले सुप्रसिद्ध भारतीय उपन्यासकार भगवतीचरण वर्माको सन् १९३३ मा प्रकाशित भएर सन् १९६३ मा नेपालीमा अनुदित ‘चित्रलेखा’ उपन्यासबारे पनि पुस्तकमा चर्चा–परिचर्चा गरेका छन् । त्यसक्रममा उपन्यासको चर्चासँगै उनले अनुवादक तारिणीप्रसाद कोइरालाको साहित्यिक योगदानबारे पनि प्रशस्त उल्लेख गरेको पाइन्छ ।
गौतमको छनोटमा परेर चर्चा गरिएका अधिकांश कृतिका लेखकहरू चालू विक्रम संवत्को तीसको दशकपछि देखिएका लेखकहरू हुन् । तर ‘क्लासिक’प्रतिको मोहका कारणले हुनसक्छ, उनले ‘महाकविको लक्ष्मी निबन्धसङ्ग्रहको पुनर्पठन’ र ‘महाकविको भूमिकालेखक छवि उजिल्याउने सङ्ग्रह’ शीर्षकमा देवकोटाको गद्यलेखनबारे आफ्ना विचारहरू प्रस्तुत गरेका छन् । यस अतिरिक्त ‘आफ्नो जमानाका बेस्टसेलर लेखक कृष्णप्रसाद पराजुली’ र ‘जुँगामुठे स्टालिन र सोल्झेनित्सिन साहित्य’ शीर्षकमा अन्य दुई रचना पनि यसमा समावेश गरेका छन् । यो छनोट लेखकको अधिकारको कुरा हो । तर एउटा कालखण्डमा लेखिएका रचनाहरू मात्र राखेको भए हुन्थ्यो भन्ने लागिरहन्छ । तथापि यो कुनै ठूलो कुरा होइन ।
गौतमले यस कृतिमा समीक्षाका लागि छानेका पुस्तकहरूले पुस्तक चयनमा उनको पृथक्पन देखाउँछ । यो पृथक्पनका कारण अरूले लेखेका समीक्षा वा समालोचनाभन्दा उनी स्पष्ट रूपमै फरक देखिन्छन् । नेपाली साहित्यका मूल प्रवाहमा रहेका साहित्यकारभन्दा फरक लेखक र तिनका कृतिको छनोटले यसको पुष्टि गर्दछ । राजनीतिक अगुवा राधाकृष्ण मैनाली, अर्थशास्त्री मीना आचार्य, मानवअधिकारवादी दुर्गा घिमिरे, राजनीतिक व्यक्तित्वहरू शान्ता मानवी र विन्दा पाण्डे, चिकित्सक नवराज केसी, प्राध्यापक शङ्करप्रसाद गैरे केही यस्ता नाम हुन् ।
गौतम समीक्षामा कृतिको कथावस्तु वा विषयवस्तुलाई सङ्क्षेपमा प्रस्तुत गर्छन् । समीक्षामा यो आवश्यक हुँदैन, तर उनको अधिकांश समीक्षामा यस्तो पाउँदा यो उनको ‘समीक्षाशैली’ जस्तै बन्न पुगेको छ । अर्को कुरा, उनी कतिपय लेखकका कृतिको समीक्षाका क्रममा लेखकको परिचय दिन पनि रुचाउँछन् । तर यस्तो सबै कृतिको समीक्षाका क्रममा भने भेटिँदैन । कतिपय समीक्षामा पुस्तकका लामा उद्धरणहरू पनि प्रस्तुत गरिएका छन् । यसबाट समीक्षक गौतमले आफ्ना समीक्षात्मक रचनाका माध्यमबाट लेखकको व्यक्तित्व र कृतित्वबारे पाठकले सारभूत रूपमा जानकारी पाऊन् भन्ने उद्देश्य राखेको स्पष्ट हुन्छ । तथापि, उद्धरणहरू अलि कम भए हुन्थ्यो जस्तो लागिरहन्छ ।
यी सबै पक्षहरूभन्दा पनि गौतमको समीक्षाको मूलभूत विशेषता भनेको उनको सूक्ष्म दृष्टिचेत र आलोचनात्मक विश्लेषण हो भन्ने मलाई लाग्छ । उनी कृतिको अध्ययनका क्रममा देखिएका विषयवस्तुमा रहेका अन्तरविरोेध, तथ्यगत त्रुटि, सपाट शैली, शब्दहरूको अनावश्यक र अनुचित प्रयोग, वाक्य संरचनामा देखिएका कमजोरी र पुस्तकले दिने सन्देशका विषयमा पनि केलाउँछन्, टिप्पणी गर्छन् र आफ्ना विचारहरू अत्यन्त स्पष्टसँग राख्छन् । मलाई लाग्छ, जयदेव गौतमको लेखकीय विशेषता नै यही हो । यो उनको पहिचान पनि हो । तथापि, भाषाबारे खरो टिप्पणी गर्ने गौतमका रचनामा बेहतर, पैमाना जस्ता शब्दको प्रयोग भने अलि खट्किन्छ ।
गौतमले समीक्ष्य पुस्तकमाथि मात्र नभई त्यसमा लेखिएका भूमिकामाथि पनि सूक्ष्म दृष्टि दिएको देखिन्छ । ‘द्रौपदी अवशेष’ मा तत्कालीन सांसद छक्कबहादुर लामाले लेखेका केही कुरामा उनले आपत्ति दर्शाएका छन्, जुन स्वाभाविक पनि हो । लामाले भूमिकामा लेखेका छन्, ‘यस (बहुपति प्रथा) लाई आधुनिक बजार अर्थतन्त्रको उत्पादन स्वरूप एक महत्त्वपूर्ण उत्पादन र पर्यटन विकासका निम्ति एक अमूर्त सम्पदाका रूपमा लिन जरुरी देखिन्छ ।’ यसको अर्थ द्रौपदी विवाह पद्धतिलाई अभैm जीवित राख्नुपर्ने हो ?
यस्तै, ‘विगत र बाडुली’ मा लीला लुइँटेलले पुस्तकको विषयबाहिर गएर गरेको टिप्पणी, ‘एक्लो परिचय’ मा डा.लक्ष्मणप्रसाद गौतमले प्रयोग गरेको क्लिष्ट भाषा र ‘एक बागी ः खगेन्द्र संग्रौलाको साधना र सङ्घर्ष’ मा लेखक स्वयंले मेरी डेशेनले उल्लेख गरेको सन्दर्भको प्रामाणिकतामाथि खरो टिप्पणी गरेका छन् । आफ्नो विचारलाई निर्धक्कसँग भन्ने उनको यो छविले उनको व्यक्तित्वलाई निकै माथि उठाएको छ । उनको समीक्षामा ‘लोलोपोतो’ देखिँदैन, बरु देखिन्छ उनको खरो स्वभाव !
समीक्षाका क्रममा उनका विचारहरू पनि पढ्न पाइन्छ । गौतमले समीक्षाका क्रममा कतिपय लेखकबारे आफ्ना विचार प्रकट गर्न पनि भ्याएका छन् । ‘सुश्री पारिजात’ पुस्तकको समीक्षाका क्रममा उनले पारिजातबारे भनेका छन्, “उनको जीवन दुःख, कष्ट, पीडा, कुण्ठा, सुस्केरा, तनाव, आजीवन आर्थिक सङ्कट, एकान्तिकता, साहित्यकारहरूसितको महफिल र कलमको अजस्र खेती आदि पक्षहरूले भरिएको छ । शारीरिक कष्ट र आर्थिक अभावबीच पनि आपूmलाई हराउन नदिएर निरन्तरको साहित्य–साधनामा दत्तचित्त रहन सकेकी उनको जीवन वास्तवमा एउटा ‘कमिक–ट्र्याजिडी’ हो ।”
जयदेव गौतम (२०२४) को मूल विधा निबन्ध हो, र यस विधामा उनका ‘लक्ष्मणरेखाका दासहरू’ (२०६७) र ‘ती निला आँखा’ (२०८०) शीर्षकका कृतिहरू प्रकाशित भइसकेका छन् । जीवनको लामो कालखण्ड पत्रकारिता क्षेत्रमा बिताएका हुनाले सम्पादन–कर्म पनि उनको जीवनयात्राको महत्त्वपूर्ण पाटो भएको तथ्य छर्लङ्ग नै छ । यही कर्मकै निरन्तरतामा उनले ‘जीवनका आठ दशक’, ‘सम्झनामा ईश्वरादेवी’, ‘स्नेहलता ः जीवनकथाका पानाहरू’ र ‘छोरीले जन्माएका आमाहरू’ जस्ता कृतिको सम्पादनसमेत गरेका छन् । खेलकुद पत्रकारितातर्पmको रुचिको फलस्वरूप उनले ‘विश्वकप फुटबल ः कथा एक गाथा’ अनेक (२०५९) शीर्षकको कृति पनि लेखेका छन् । माथिका तथ्यहरूले उनको लेखनप्रतिको मोह र विधागत अभिरुचिलाई स्पष्ट पार्छ भन्ने मलाई लाग्छ ।
तर अहिले उनी ती सबैभन्दा फरक भूमिकामा देखापरेका छन् र यसले उनको प्रतिभा र क्षमताको अर्को पाटोलाई पाठकसमक्ष राखिदिएको छ । यो पाटो पनि उत्तिकै बलशाली छ, उत्तिकै प्रभावशाली छ ।
प्रस्तुत पुस्तकमा कतिपय कमजोरी नरहेका होइनन् । ‘शून्यको मूल्य’ पुस्तकको चर्चाका क्रममा अनावश्यक रूपले विमोचनका प्रसङ्ग समेटिएका छन् । यस्तै समीक्षित पुस्तकको कथा वा विषयवस्तु प्रस्तुत गर्नु र लामा–लामा उद्धरण समावेश गर्नु जस्ता कमजोरी पनि नभएका भने होइनन् । यिनलाई सामान्य मान्न सकिन्छ । करीब साढे तीन दशकअघि चिनापर्ची भएका जयदेव गौतमको समालोचकीय भूमिका अझ प्रभावशाली हुँदै जाने निश्चित छ । लेखिरहूँ, लेखिरहूँ ..!
०००
