सीता अर्याल, म्याडिसन
जिन्दगी पनि अचम्मको गणित रहेछ
जहाँ हरेक दिन
नयाँ प्रश्नपत्र बोकेर आउँछ समय
हामी अनुभवका कलमले
आफ्नो उत्तर लेखिरहन्छौँ।
कहिले खुसीका अङ्कहरू जोडिन्छन्
कहिले पीडाका रेखाहरू घट्छन्
कहिले सपनाहरूको गुणन हुन्छ
कहिले आफ्नै चाहनाहरू
भाग लागेर टुक्रिन्छन्।
बालुवामा कोरिएको चित्रजस्तै
कतिपय सम्बन्धहरू
समयको छालले मेटिदिन्छ
तर केही आत्मीय मनहरू भने
ढुङ्गामा कुँदिएको अक्षरझैँ
युगौँसम्म बाँचिरहन्छन्।
समय जीवनको महान् गणितज्ञ रहेछ
उसले कसैलाई धनको हिसाब दिन्छ
कसैलाई अनुभवको खजाना तर अन्तिम क्षणमा सबैको हातमा एउटै प्रश्न राख्छ
“तिमीले कति प्रेम बाँड्यौ?”
सुख त बिहानीको शीतजस्तो रहेछ
छुन खोज्दा हराउँछ तर अनुभूतिको फूलमा
सुगन्ध बनेर बसिरहन्छ।
दुःख भने अँध्यारो रातजस्तो
तर त्यही रातको गर्भबाट
नयाँ बिहान जन्मिन्छ।
उसको चरित्र?
त्यो त जीवनको स्थिराङ्क हो
जसले उसको वास्तविक मूल्य बताउँछ।
अहंकारले जीवनको हिसाब बिगार्छ
विनम्रताले जटिल समीकरण सजिलो बनाउँछ।
धनका अंकहरू एक दिन मेटिन्छन्
तर प्रेमका अक्षरहरू
समयको शिलामा लेखिन्छन्।
जब जीवनको अन्तिम परीक्षा आउँछ
त्यहाँ न पदको मूल्य हुन्छ
न प्रसिद्धिको तौल
त्यहाँ केवल यति हेरिन्छ
कतिको आँसु पुछ्यौ?
कतिको मन जित्यौ?
कति अँध्यारा बाटाहरूमा
आशाको दीप बाल्यौ?
गणित जस्तो यो जिन्दगीमा
सबैभन्दा ठूलो सूत्र यही रहेछ
“प्रेम जोड्दै जानु
घृणा घटाउँदै लैजानु
सद्भाव गुणनले बढाउनु
मानवतालाई कहिल्यै भाग नलगाउनु”।
किनकि अन्तिम हिसाबमा
मानिसको सबैभन्दा ठूलो उपलब्धि भनेको
उसले कमाएको धन होइन
उसले छोडेको
प्रेमको चिनो रहेछ।
०००
