मासिक कथावाचन चौबीसौं शृङ्खला सम्पन्न

समाचार

२८ कात्तिक २०८२ , काठमाडौं

नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौंमा आयोजन गरिँदै आएको कथावाचन कार्यक्रमको चौबीसौं श्रृङ्खला सम्पन्न भएको छ ।
कथा विधाप्रति आम पाठकको रुचि जगाउन र यसको कालखण्डगत विकासबारे चिन्तन, छलफल, अनुसन्धान जस्ता कार्यहरूका माध्यमबाट समग्रमा नेपाली कथा विधाको विकासमा सघाउ पु-याउने बृहत उद्देश्य लिई यो पुनर्जागरण अभियान २०८० साउनदेखि साहित्यकारद्वय पुष्कर लोहनी र चन्द्रप्रसाद भट्टराईको परिकल्पनामा शुरु गरिेएको हो ।
हरेक महिना कुनै दिवंगत स्रष्टाको एउटा कथा वाचन गरेर कार्यक्रम शुरु गर्ने गरिए अनुसार यस पटक स्रष्टा विश्वेश्वरप्रसाद कोइराला र सुशीला कोइरालाको संयुक्त लेखनको कथा ‘द्वन्द्वप्रेम’ वाचन गरिएको थियो ।
कथाकार इस्मालीले ‘घर, कथाकार धीरकुमार श्रेष्ठले ‘मर्ने एउटा कोठा’, कथाकार गंगा कर्माचार्य पौडेलले ‘छोराको कमाइ’, कथाकार बिन्दु अधिकारी ढकालले ‘बुहार्तन’कथा वाचन गरेका थिए ।
वाचन गरिएका कथाहरुबारे समीक्षकहरू मोहन चापागाईं र ज्ञाननिष्ठ ज्ञवालीले टिप्पणी गरेका थिए ।
अन्त्यमा, सो अभियानका परिकल्पनाकार पुष्कर लोहनीले आफूहरूले शुरु गरेको यस कार्यक्रममा कथासाहित्यमा रुचि हुने लेखक, पाठक, पत्रकार र समालोचकहरूको सहभागिता बढ्दै गएकोमा खुशी व्यक्त गरे । उनले चौबीसौं श्रृङ्खलासम्म आइपुग्दा कार्यक्रममा अनेकौं सुधार हुँदै गएकोमा सन्तोष व्यक्त गरे ।
उपन्यासकार शुकदेव उपाध्यायले रोचक ढंगबाट कार्यक्रम सञ्चालन गरेका थिए ।
०००