लक्ष्मी उप्रेती गोपाल पाँडे असीम पुरस्कारबाट पुरस्कृत

मुख्य समाचार

३१ साउन २०८२, काठमाडौं

नेपाली शिक्षा परिषद्ले २०८२ सालको ‘गोपाल पाँडे असीम पुरस्कार’ कृति लेखन तथा विभिन्न रचनात्मक क्रियाकलापद्वारा नेपाली भाषाको श्रीवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याए बापत साहित्यकार लक्ष्मी उप्रेतीलाई प्रदान गरेको छ ।
पुरस्कारका साथ नगद राशि ५० हजार रुपैयाँ रहेको छ ।
‎प्रमुख आमन्त्रित मन्त्री परिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले सो पुरस्कार प्रदान गरेका थिए ।
पुरस्कृत लक्ष्मी उप्रेतीको परिचय कुमारप्रसाद कोइरालाले दिएपछि इन्दिरा शर्माले लक्ष्मी उप्रेतीको सम्मानपत्र वाचन गरेकी थिइन् ।
कार्यक्रममा नेपाली सङ्गीत परिषद्का निर्देशक सन्तोष शर्मा तथा गङ्गाप्रसाद उप्रेतीले शुभकामना दिएका थिए । साथै कमलमणि दीक्षितकी छोरी,अङ्गूरबाबा जोशीकी बुहारी रूपा जोशीले बधाइ तथा शुभकामना मन्तव्य दिएकी थिइन् ।
सो अवसरमा डा.बमबहादुर थापाले कविता प्रस्तुत गरेपछि ‎शङ्करप्रसाद पाण्डेले गोपाल पाण्डे असीमबारे परिचयात्मक मन्तव्य दिएका थिए भने कवि प्रह्लाद पोखरेलले असीमबारे “कर्मवादी असीम” कविता प्रस्तुत गरेका थिए ।
पुरस्कृत स्रष्टा लक्ष्मी उप्रेतीले गोपाल पाण्डे असीमको भाषा उन्नयनको अथक प्रयास बारे बोल्दै नेपाली शिक्षा परिषद्को स्थापना, योगदानबारे चर्चा गर्दै पुरस्कृत गरेकोमा आभार प्रकट गरिन् ।
समारोह परिषद्की अध्यक्ष रमा शर्माको सभापतित्वमा सम्पन्न भएको थियो ।
स्मरणीय छ, नेपाल शिक्षा परिषदको यो ७५औं बार्षिकोत्सव अर्थात् अमृत महोत्सव बर्ष हो ।

०००