भारी

कविता

सुषमा अंशु

 

टोलाइरहेको छ मस्तिष्क

एकतमास,

बिथोलिदिन्छ फोनको घण्टीले

चकमन्न वातावरण झस्कन्छ

उदण्ड मच्चिन्छ

हृदयको बैठकमा चल्दछ

सोचका ज्वाराभाटा

 

उकुसमुकुस भावनाको

पोको खोल्ने आँट

बिश्वासले दिलाएन

निरन्तर कुनै गुनासो बिना

हरेक पल आफू हुनु

जग हुनुको प्रमाण दिन्छ घडी

ट्वाक ट्वाक बजिरहेको छ

एकनास भित्तामा

 

आवाजले समयलाई झस्काउँछ

चिर निन्द्राबाट बिउँझिएर

रातलाई बिदा गर्दै

बिहानिको उर्जावान

घामका किरणहरुमा पनि

ओइलाएको छ जाँगर

मुन्टो घुमाएर आँखाले

विश्राम लिन्छ

मोबाइलको स्क्रिनमा

नम्बर परिचित

हात पटक्कै जागर देखाउँदैन

औंला सलबलाउँदैनन्

शब्दकोष रित्तिएको छ

मस्तिष्क खाली

 

बोलेर नथाक्ने मुख

सुनेर नथाक्ने कान

आज शून्यताको मैदानमा

बिना प्रतिस्पर्धा एक्लै

दौडिरहेको छ

हृदयको रणभुमिमा

 

सम्बन्ध र आत्मियताको

द्वन्दको निर्णायक

अन्योल छ आफैं

लाग्छ उर्जा अर्ध निन्द्रामा

चेतन त छ,

तर सचेत जस्तो मात्रै

दायित्वको भारी बोक्दा बोक्दै

थाकेका काँधले स्मरण गराउँदछ

जिम्मेवारीको बोझ

बिसाउन खोज्छु

केही समय

तिम्रो आडमा

झल्याँस्स बिउँझिन्छु

बल्ल ज्ञात भयो

यहाँ त सबै भरिया

बनाउन पोख्त रहेछन् ।

 

कवि परिचयः सुषमा आचार्य अंशु साहित्यको क्षेत्रमा सुषमा अंशुको नामले कलम चलाउँछिन् । उनका तीन विधा कविता, गीत र गजल कृति प्रकाशित छन्, संयुक्त रुपमा । उनको संलग्नता अनेसास, नेपाल श्रष्टा समाज, राष्ट्रिका साहित्य प्रतिष्ठआनसँग छ । ललितपुरमा जन्मेकी उनी हाल भक्तपुरको वासिन्दा हुन् । भर्खरै उनको एकल कृति “अक्षरको आयतन” प्रकाशित भएको छ ।

 

Leave a Reply