६ चैत २०८२, काठमाडौं
नेपाली वाङ्गमयको श्रीबृद्धिमा विगत २७ वर्षदेखि कृयाशिल संस्था एपेक नेपालले ४० वर्ष मुनिका युवा सर्जकलाई प्रदान गर्ने गरी स्थापना गरेको ‘विश्व–ज्योति युवा पाण्डुलिपि पुरस्कार’ यस वर्ष कर्णाली प्रदेश, सुर्खेतकि सर्जक हिमा रोका “प्रतिज्ञा”को लघुकथा पाण्डुलिपिलाई प्रदान गर्ने निर्णय गरेको छ ।
एपेक नेपालले जनाए अनुसार देश-देशावरबाट प्राप्त पाण्डुलिपि मध्यबाट छनौट भएको एक उत्कृष्ठ पाण्डुलिपिलाई पुस्तकका रूपमा प्रकाशित गरिने प्रावधान रहेको छ । यस वर्ष पुरस्कृत हिमा रोकाको पाण्डुलिपि, पुस्तकका रूपमा प्रकाशित गरी यही चैत २५ गते काठमाडौं मा सम्पन्न हुने एपेक नेपालको २७औ वार्षिकोत्सव समारोहमा लोकार्पण गरिने कुरा संस्थाले जनाएको छ।
सर्जक हिमा रोका प्रतिज्ञा पिता चन्द्रबहादुर रोका र माता निमकला रोकाकी सुपुत्रीका रुपमा घुमखहरे सुर्खेतमा जन्मिएकी हुन् र हाल गुर्भाकोट नगरपालिका, मेहेलकुना सुर्खेतमा बस्दै आएकी छिन् । उनी लघुकथासहित गजल, मुक्तक, टुक्का कविता र झिल्का आदि लेखन गर्ने गर्छिन् ।
कवि विश्वविमोहन श्रेष्ठकी धर्मपत्नी ज्योति श्रेष्ठको निधनपछि उनी तथा कवि विश्वविमोहन श्रेष्ठको नाममा स्थापित “विश्व ज्योति पाण्डुलिपि पुरस्कार” गत वर्षदेखि प्रदान गर्न सुरु गरिएको हो । गत वर्ष ‘विश्व–ज्योति युवा पाण्डुलिपि पुरस्कार’ युवा कवि हेमन्त शिशिरको कविताकृति ‘बन्द घरको झ्याल’लाई प्रदान गरिएको थियो ।
०००
