उषा शेरचन “ईश्वरमान स्मृति सिर्जनशील पुरस्कार”द्वारा पुरस्कृत

मुख्य समाचार

२० पुस २०८२, काठमाडौं

नेवारी भाषाका साहित्यकार तथा पत्रकार ईश्वरमान रञ्जितज्यूको स्मृतिमा उहाँका सुपुत्र निरज रञ्जितकारद्वारा स्थापित रू एघार हजार एक सय एघार राशीको ‘ईश्वरमान स्मृति सिर्जनशील पुरस्कार’ द्वारा साहित्यकार उषा शेरचन पुरस्कृत भएकी छिन् ।
आर्थिक सञ्जाल मिडिया प्रा.लि. द्वारा सञ्चालित ‘आर्थिक सञ्जाल डटकम’ अनलाइन पत्रिकाको सातौँ वार्षिकोत्सवका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा आयोजित समारोहमा कुलपति राइले सो पुरस्कार उनलाई हस्तान्तरण गरे ।
ईश्वरमान रञ्जितकार विशेषत नेवारी साहित्यमा बढी समर्पित थिए । उनको पहिलो रचना “थौं हे ख” कविता धर्मोदय मासिक पत्रिकामा बि.सं. २००९ सालमा प्रकाशित भएको थियो ।
उनले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको अनुवाद ग्रन्थसूचि (२०५९)का सहसम्पादक थिए ।
उनले नवकुञ्ज, वसुधा, प्रगति, आभा, लालित्य, बैशाख लगायतका पत्रिकाको समेत सम्पादन गरेका थिए ।
पुरस्कृत उषा शेरचनका कविता, मुक्तक, उपन्यास तथा कथा विधाका पुस्तकहरू प्रकाशित छन् ।

०००