२ अगस्त २०२५, वाशिङ्टन डिसी
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको आयोजना , अनेसास केन्द्र तथा अनेसास परिवारको संयुक्त प्रयत्नमा लालगोपाल सुवेदीद्वारा लिखित “चेतन-प्रवाहमा सारेगमप” ( लामो कविता ) माथि विमर्श गरियो ।
कार्यक्रममा समालोचक प्रा. डा. खगेन्द्रप्रसाद लुइटेल तथा अनेसास सल्लाहकार लीला लुइंटेलले कवि सुवेदीले छन्द कविता , फुटकर कविता, गीत, काव्य आदिमा गुणात्मकता थप्दै र लेखनलाई निरन्तरता पनि दिंदै काव्यलाई लामो कवितासम्मको गति दिएको तथ्य औल्याए ।
होमनाथ सुवेदीले लालगोपालका कृतिमाथि बाक्लै रूपमा समीक्षा छापिनुले कृति महत्त्वपूर्ण भएको बुझिन्छ भन्ने विचार व्यक्त गरे ।
अनेसास केन्द्रका अध्यक्ष सर्वज्ञ वाग्लेले अनेसासका कारण डायस्पोरिक साहित्यमा गुणात्मकता बढ्दै गएको भाव प्रस्तुत गरे ।
समालोचक प्रा. डा. रमेश भट्टराईले ‘ चेतन- प्रवाहमा सारेगमप’ कृतिले खस जाति, खस भाषा , नेपाली साहित्य, संस्कृति , कला , भूगोलको कुरा मात्र नगरी समय-सापेक्ष राष्ट्रियता,पर्यावरण,प्रकृति र जैविक दोहन , सीमान्तीयता , लैङ्गिकता, विविध जातीय उत्पीडनजस्ता अहिले उभारमा आइरहेका जल्दाबल्दा बिषयलाई बहसमा ल्याएको तथ्य औंल्याए ।
अनेसास बीओटीका सभापति पदम विश्वकर्मा, ,बीओटी सल्लाहकार गीता खत्री,पूर्व अध्यक्ष पुरु सुवेदी, पूर्व सल्लाहकार रोहिणी शर्मा ,अनेसास उपाध्यक्ष डिल्ली अम्माई,प्रशान्त उप्रेती( फ्रान्स ) , राजेश
सापकोटा ( नर्वे ), दीपक सुवेदी ( अस्ट्रेलिया )लगायत वक्ताहरूले कृतिकारको व्यक्तित्व र अनेसासमा बढ्दै गएको गुणात्मकता बारे चर्चा गरे ।
नियात्राकार प्रतीक ढकालले चेतन-प्रवाहमा असीमित विषयवस्तुहरूको प्रयोग र निरविच्छिन्न एवम् अटुट लय प्रवाहका कारण नेपाली लामो कविताको इतिहासमै यो कृति मास्टरपिस बनेको धारणा व्यक्त गरे ।
कवि तथा समालोचक महेशपौड्यालले चेतन-प्रवाह शैलीबारे स्पष्ट पार्दै चेतन प्रवाहमा सारेगमप कृतिले वर्तमानभन्दा बढी अतीत गाथा र नेपाली जन र मनको विरह गाथालाई श्रङ्खलाबद्ध प्रस्तुति दिएको धारणा अभिव्यक्त गरे ।उनलेचेतन- प्रवाह शैलीमा जति पनि स- साना आख्यान , परिघटना , विषयवस्तु अटाउन सकिने र मनको यथार्थजस्तै कृतिको पनि अक्रमबद्ध अरैखिक शैलीमा पनि नदीजस्तो सारेगमपको लयात्मक तानले अटुट प्रवाहमा अविच्छिन्नताको कला भर्नु नेपाली काव्य परम्परामा नौल्याइँ र नयाँ उपलब्धि भएको आशय प्रकट गरी भावी लेखन क्षेत्रका बाटाहरू समेत मार्ग प्रस्तुत गरे ।
साहित्यकार नारायण अधिकारीले कृतिभित्रका विषय र प्रवृतिगत वैविध्य औंल्याउँदै यस कृतिले भूगोल, इतिहास, संस्कृति, कला,साहित्य, जनजीवनका लयविहीनतामा लयमधुरताको खोजी गरेको निष्कर्षात्मक धारणा
प्रस्तुत गरे ।
लेखकीय मन्तव्यका क्रममा कवि लालगोपालले आँखा चिम्लँदा पनि कुराहरू देखिन्छन् , आँखा खोल्दा पनि कुराहरू देखिन्छन् भन्दै ती भौतिक र अभौतिक कुरा दुबैलाई कवितामा अटाउनका लागि ‘ चेतन- प्रवाहमा
सारेगमप ‘शीर्षक चयन गरेको र विगतदेखि आजसम्मको नेपालका यावत कुराहरूको सम्पूर्णतालाई( विविध विषय) यो सानो कृतिमा एकत्वसाथ पोख्ने प्रयास गरेको तथ्य औंल्याए ।
अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के. सी. को सभापतित्वमा सम्पन्न सो कार्यक्रमको सुरुमा अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष निर्मलरमण पराजुलीबाट स्वागत मन्तव्य ब्यक्त भएको थियो भने कार्यक्रम सञ्चालन कवि गीता कार्कीले गरेकी थिइन् ।
०००
